+
+

१३ वर्षपछि ‘अवतार’ पुन: प्रदर्शन हुँदै, नेपालमा पनि दशैंअघि

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते ११:३२

काठमाडौं । विश्वमा सबैभन्दा धेरै कमाइ गरेको हलिउड फिल्म ‘अवतार’ आगामी दशैं छेकोमा नेपालसहित विश्व बजारमा पुनः प्रदर्शन हुने भएको छ । डिज्ने स्टुडियोले असोज ७ गते (२३ सेप्टेम्बर) फिल्मलाई रि-रिलिज गर्न लागेको हो ।

अहिलेसम्म विश्वभर २.८४७ बिलियन अमेरिकी डलर कमाइ गरेको साइन्स-फिक्सन फिल्म सन् २००९ मा नेपालमा पनि रिलिज भएको थियो । डिज्नेको अफिसियल नेपाल वितरक एप्पल इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले फिल्मलाई नेपालमा रि-रिलिज गर्ने पुष्टि गरे ।

भारतसहितका मुलुकमा पनि सोही मितिमा ‘अवतार’ पुनः प्रदर्शन तयारी छ । पुस १ गते दोस्रो सिक्वेल रिलिज हुने भएसँगै दर्शकलाई पहिलो भाग देखाउने उद्देश्यले पुनः प्रदर्शन गर्न लागिएको हो । अहिलेसम्म ओटीटीमा समेत रिलिज नभएकाले १३ वर्षयताको पुस्ताले ‘अवतार’ हेर्न पाएको छैन ।

‘नहेरेका दर्शकले हेर्न पाउँछन् र हेरिसकेकालाई याद सम्झाउने अवसर हुनेछ,’ उद्दिनले अनलाइनखबरसँग भने । ‘अवतार’ रिलिज भएसँगै नेपालमा थ्रीडी प्रविधि पनि भित्रिएको थियो । अवतार नेपालमा पहिलो पटक थ्रीडी प्रविधिमा रिलिज हुने फिल्म समेत हो ।

जेम्स क्यामरुन निर्देशित ब्लकबस्टर फिल्म ‘टाइटानिक’ पनि नेपालमा थ्रीडी प्रविधिमा पुनः प्रदर्शन भएको थियो । ‘टाइटानिक’ पुनः रिलिज हुँदा पनि यसले राम्रो कमाइ गरेको थियो ।

रञ्जना फिल्म हलका व्यवस्थापक विनोद पौडेलले अवतार पुनः रिलिज हुँदा यसले एक सातासम्म अन्य फिल्मलाई समेत प्रभावित तुल्याउन सक्ने बताए । अवतार रि-रिलिजको दुई सातामा नेपालमा ‘छक्का पञ्जा’को नयाँ सिरिज रिलिजको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?