+
+

विराटनगरको साख फर्काउन चाहन्छु : नागेश कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १९:४७

१७ वैशाख, विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, डिला संग्रौला र भीम पराजुलीलाई पछाडि पार्दै नागेश कोइराला विराटनगर महानगरपालिकामा मेयरको उम्मेदवार बने ।

डा. शेखर कोइराला निकट भएकै कारण ४८ वर्षीय कोइरालाले टिकट पाएको धेरैको दाबी छ । त्यसमा असहमत कोइराला भन्छन्, ‘मैले पार्टी र समाजमा गरेको योगदानका आधारमा अहिले टिकट पाएको हुँ ।’

मासिक ३० युनिटसम्म खपत गर्ने परिवारलाई निःशुल्क विद्युत उपलब्ध गराउने, कर दर घटाउने जस्ता योजना अघि सारेका उनी पारिश्रमिक नलिने ‘ढोंग’ नगर्ने बताउँछन् । भन्छन्, ‘भ्रष्टाचार गर्दिनँ, तर आफूले पाउने पारिश्रमिक लिन्छु । पारिश्रमिक लिन्न भनेर ढोंग गर्दिनँ ।’

प्रस्तुत छ, मेयरका उम्मेदवार कोइरालासँग अनलाइनखबरकर्मी हरि अधिकारी ले गरेको कुराकानीको सम्पादित अंश:

मेयरको टिकटका लागि केन्द्रीय नेताहरु नै आकांक्षी थिए । डा. शेखर कोइराला निकट भएकै कारण तपाईंले टिकट पाउनुभयो भनिन्छ, हो ?

यो कुरामा अलिक बढी चर्चा भइरहेको रहेछ । नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो, यहाँ सबैले आ–आफ्नो कुरा राख्न पाउनुहुन्छ ।

तर मैले पार्टीमा काम गरेको २६ वर्षभन्दा बढी भयो । सुरुको दुई वर्ष नेपाल तरुण दल, मोरङको सचिव र १३ वर्ष अध्यक्ष भएर काम गरेँ । त्यसपछि पाँच वर्ष कांग्रेसको मोरङ कोषाध्यक्ष र अर्को कार्याकाल सचिव भएर काम गरे । १४ औं महाधिवेशनबाट कार्यकर्ताले मलाई जिल्ला उपसभापति बनाएर काम गर्न पठाए ।

पार्टी र समाजमा गरेको योगदानका आधारमा अहिले टिकट पाएँ, कोइराला परिवारको भएका कारण टिकट पाएको होइन । लामो संघर्ष र यात्रापछि पार्टीले टिकट दिएको हो, सम्बन्धका आधारमा होइन ।

तपाईँले उछिनेर टिकट पाउँदा नपाउने नेताहरुको असन्तुष्टि होला, त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

शीर्ष नेतालाई उछिनेर होइन, पार्टीले निर्णय गरेर विराटनगरको मेयरमा मलाई उम्मेदवार बनाएको हो ।

मुल्यांकनका आधारमा केन्द्रले टिकट दिएको हो । यही कारण अग्रजहरुसँग कुनै मनमुटाव छैन । पार्टीले निर्णय नगर्दासम्म सबैले आश गर्ने हो । तर टिकट एक जनाले पाउने हो, त्यो एक जना म भएँ । अब सबै एकजुट भएर अघि बढ्छौं ।

त्यसो भए चुनावको तयारी कसरी अघि बढेको छ त ?

विराटनगरमा गठबन्धन बनेको छ । त्यसैले योजना बनाएरै घरदैलो अभियान गरिरहेका छौं ।

उपमेयरको उम्मेदवार अमरेन्द्र यादवले एउटा क्षेत्रमा फोकस हुनु भएको छ, मैले अर्काे क्षेत्रमा घरदैलो गरेँ ।

हामी दुई जनाले एकले अर्कालाई भोट मागिरहेका छौं । गठबन्धनका उम्मेदवारहरु संयुक्त रुपमा घरदैलोमा पनि जाने छौं ।

विराटनगरमा गठबन्धन गर्न नेतृत्वको मन मिल्यो, तर कार्यकर्ताको मन अझै मिलेको छैन भनिन्छ नि ?

हामी पार्टीका सच्चा कार्यकर्ता हौं । मैले नेपाली कांग्रेसको निर्देशनभन्दा एक इन्च पनि बाहिर गएर काम गर्दिन ।

अन्य पार्टीका कार्यकर्ता पनि पार्टी र नेतृत्वको निर्देशनप्रति प्रतिवद्ध हुनुहुन्छ । केन्द्रको निर्णयलाई लतारेर अघि बढ्नुहुन्न भन्ने साझा समझदारी छ र एक भएर निर्वाचनमा होमिएका छौं ।

सत्ता गठबन्धनमा आवद्ध दलका कार्यकर्ताले त भोट हाल्लान्, अरुले चाहिँ तपाईंलाई किन मत दिने ?

म इमान्दार छु, बोली बचनमा प्रतिवद्ध छु । भ्रष्टाचार आफू गर्दिन, अरुलाई पनि गर्न दिन्न् । म किसान पनि हुँ । किसानको समस्या मैले पनि भोगेको छु । सुकुम्बासीको समस्या देखेको छु ।

सामुदायिक विद्यालयको व्यवस्थापन समितिमा १३ वर्ष बस्दा शिक्षा क्षेत्रको समस्या र अवसर देखेको छु । विद्यार्थीको चाहना, अभिभावकको भावना बुझेको छु । मैले गरेको कामको मूल्यांकन गरेर विराटनगरको समग्र विकासका लागि मलाई आम मतदाताले भोट हाल्नु हुन्छ भन्ने विश्वास छ ।

तपाईंका प्रमुख प्राथमिकता केके हुन् ?

मेरो मूल प्राथमिकता कर हो । अहिले करको जुन दर छ, त्यो कर व्यावहारिक छैन । त्यसलाई घटाउछौं । करको दायरा चाहिँ बढाउँछौं । जो करको दायरामा आउनु भएको छैन, उहाँलाई करको दायरामा ल्याउने हो ।

अर्काे प्राथमिकता स्वास्थ्य, शिक्षा, खानेपानी र सरसफाइ हो । विराटनगरमा खानेपानीको ठूलो समस्या छ, त्यो अन्त्य गर्छाैं । स्वास्थ्य क्षेत्रलाई सुधार गर्छाैं । विराटनगरको छुट्टै मेट्रो अस्पताल बनाउछौं । सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्छाैं । विराटनगरको सरसफाइको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्छाैं ।

लामो समयसम्म स्थानीय सरकार नेतृत्व विहिन हुँदा विराटनगर पछाडि पर्‍यो । औद्योगिक शहरको शाख गिर्दै गयो । त्यसलाई शाख फर्काउन चाहन्छौं । औद्योगिक र पर्यटकीय क्षेत्रको विकास गर्ने, विराटनगरको सीमाना भएर बग्ने दुई खोला केसलिया र सिंघिया खोलामा ग्रिनबेल्टको रुपमा पार्क बनाउने योजना छ । यसले विराटनगरको शाखलाई माथि उठाउन मद्दत गर्नेछ ।

विराटनगर हुँदै बग्ने सुनसरी मोरङ सिंचाइ आयोजनाको नहरलाई साइक्लिङ जोनको रुपमा विकास गर्ने योजना छ । सिंचाइ आयोजनाको किनारलाई व्यूटिफिकेशन गर्न सके विकास निर्माण गर्न सहज हुनेछ । सुकुम्बासी समस्या सामधानका लागि योजनावद्ध रुपमा काम गर्नेछौं ।

विराटनगर महानगरको आम्दानी अहिले पनि न्यून छ, करको दर घटाउँदा झन घट्ला नि ?

सुधारिएको कर प्रणाली लागू गरेर करको दर घटाएर दायरालाई बढाउछौं । करको दायरा बढाउँदा महानगरको आम्दानी बढ्छ । करको व्यवस्थापन वैज्ञानिक रुपमा गर्छाैं, जनतालाई छुट पनि दिन मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?