+
+

चुनाव आयो, तर मैले बिर्सेको छैन

राजीवकुमार पटेल राजीवकुमार पटेल
२०७९ वैशाख १९ गते १२:३१

फेरि एकपटक चुनाव आएको छ। जताततै नारा, भाषण र गीतहरू घन्किन थालेका छन्। हो, फेरि चुनाव आएको छ, नयाँ चुनाव। तर, तिमीले गरेको पुरानो बाचा मैले भुलेको छैन। तिमीले अहिलेसम्म गरेका काम मैले बिर्सेको छैन।

अहिले एक प्याक रक्सी बाँड्दैछौ, तर मलाई परेको बेला एउटा अक्सिजनको सिलिन्डरसम्म बाँडेनौ जसले मेरो आफन्तको जीवन बचाउन सक्थ्यो। मैले बिर्सेको छैन।
तिमी अहिले मेरो घर दिनमा दुईपटक धाउँदैछौ ‘घर दैलो कार्यक्रम’ को नाममा। तर म जीवन र मृत्युसँग लडिरहँदा एकपटक पनि घर–दैलो कार्यकम गरेनौ। त्यो मैले बिर्सेको छैन। तिमीले सम्झनुपर्ने बेला बिर्सेको म कसरी बिर्सन सक्छु ?

अहिले मासु र पैसा बाँड्दैछौ तर, कोरोना महाव्याधिमा एक किलो चामल पनि बाँडेनौ। म ती कष्टप्रद दिनहरूलाई कसरी भुल्न सक्छु ?

चुनावको पाँच दिन अगाडि मेरो आफन्त बनेर राम्रो अभिनय गर्दैछौ, तर मैले भोगेको पीडा बिर्सेको छैन।

भूकम्प र हावाहुरीमा भत्केको मेरो घर बनाउन केही सहजीकरण गरेनौ तर तिमीले हाम्रै चुहिने छापाहरूलाई छोपिने गरी भ्यूटावर ठड्यायौ। त्यो ठडिएको भ्यूटावरले हाम्रो स्वाभिमानमा कति सेप लाग्यो होला ? मैले यी सबै दुर्घटना बिर्सिएको छैन।

गाउँमा नोट लिएर भोट किन्न आइरहेका छौ। के मेरो स्वाभिमान पैसामा किन्न सकिन्छ ? सकिन्छ भनेर सोच्ने तिमी अनैतिक छौ। भ्रष्टाचारी हौ र राष्ट्रघाती पनि। पैसामा जे पनि कारोबार हुन्छ भन्ने तिम्रो सोचले भोलि मेरो देश बेच्न के बेर ? तिम्रो चित्र र चरित्र मैले बिर्सेको छैन।

तिम्रो लागि चुनाव अघि र पछिको अवस्था अर्कै रहेछ। चुनावभन्दा पहिला तिमी मेरो चरणमा, चुनावपछि म तिम्रो चरणमा। यसो हो र खास हुनुपर्ने ? मैले तिम्रो व्यवहार भुलेको छैन।

आन्दोलनमा हामी युवालाई पालो दियौ आन्दोलनपछि आएका सबै अवसर तिमीले लियौ। किनारामा बसेको तिम्रा चर्तिकला हेर्नु परेको म कसरी भुल्न सक्छु ?
तिम्रा सन्तान विदेश र सहरका ठूला शिक्षालयमा पढे तर मेरा छोराछोरीको शिक्षा अस्तव्यस्त भयो। तिमीले हालेको यो असमानताको जग म कसरी भुल्न सक्छु ? कसरी नजरअन्दाज गर्न सक्छु ?

अब पनि नागरिकले ५०० मा भोट बेचेर पाँच वर्ष दुःख झेल्लान् र ? मलाई विश्वास छैन। अहिले भेटेपिच्छे नमस्कार गर्छौ। पाँच वर्ष मैले भेटेपिच्छे गरेको नमस्कार फर्काउने फुर्सद र रुचि नजागेको तिमीलाई मैले बिर्सेको छैन।

मञ्चमा उभिएर आज नयाँ रुमानी सपना बाँडिरहँदा मैले तिम्रा पुराना प्रतिबद्धता भुलेको छैन। यो बीचमा तिमीले सोच बदल्यौ। आफ्नो आर्थिक हैसियत बदल्यौ तर हामी उस्ताका उस्तै रह्यौं। दुःख थपिए सुखले चियाएन। हामी उस्तै छौं तर तिमीले अर्कोपटक चुनाव जित्न पार्टी नै बदलिसकेछौ। आँखै अगाडि घटेका यी हेर्न नसकिने दृश्य म कसरी भुल्न सक्छु ?

तिमी भन्दैछौ- म अरुभन्दा फरक छु। तर तिम्रो त फरकपनाले हामी नागरिकलाई न आशा बाँड्न सक्यो न विश्वास। तिमी चिल्ला गाडीमा चढेर आएका छौ र भन्दैछौ- म देशलाई सिंगापुर बनाउँछु। हिलोमा चिप्लिएर मैलिएका हामीलाई तिम्रो सपनाको सिंगापुर के काम।

तिमीले स्वदेशमा रोजगारीको सपना बाँड्यौ। म साहुको ऋण बोक्दै सर्टिफिकेटलाई कन्तुरमा थन्क्याउँदै भर्खरै बिहे गरेकी श्रीमती र डाँडामाथिका जून बनेका बा–आमा छाडेर रुँदै परदेश पसेको दिन कसरी बिर्सन सक्छु ?

राजा हटाउन मैले यही सडकमा रगत बगाएँ। मेरो बिरामी शरीर बोकेर दौडिएको एम्बुलेन्स यही सडकमा जाममा पर्छ। तर तिम्रो सवारीमा सडक सुनसान हुने गरी खाली बनाइन्छ। तिम्रो राजकीय शैली मेरो गणतान्त्रिक चेतनाले कसरी बिर्सन सक्छ र ?

राजा हटाउन मैले यही सडकमा रगत बगाएँ। मेरो बिरामी शरीर बोकेर दौडिएको एम्बुलेन्स यही सडकमा जाममा पर्छ। तर तिम्रो सवारीमा सडक सुनसान हुने गरी खाली बनाइन्छ। तिम्रो राजकीय शैली मेरो गणतान्त्रिक चेतनाले कसरी बिर्सन सक्छ र ?

तिमी खोकी लाग्दा सिंगापुर र अमेरिका धाउँछौ। हामी प्राणघातक रोग लाग्दा उपचार गर्ने अस्पताल छैन। न खर्च छ। यो विशाल अन्तर मैले बिर्सेको छैन। तिमीले पढेका छैनौ तर देश हाँकिरहेका छौ। म सर्टिफिकेट थन्क्याएर खाडी पसेको छु। म र म जस्ता युवालाई प्रवासिन बाध्य बनाएर तिमी निर्वाचन गर्दैछौ।

हामीले रगत–पसिना बगाएर पठाएको रेमिट्यान्सले तिम्रो लुटको स्वर्ग चलिरहेको छ। तर मैले फगत मतदान गर्ने अधिकार र अवसर पनि गुमाएको छु। यो अन्याय र विभेद म कसरी बिर्सन सक्छु र ?

हामी कुनै बेला छिनेर गाँसेको हात्तीछाप चप्पल लगाएर हिंड्थ्यौं। तर तिमी त आफैं हात्ती जस्तै भयौ जनताको रगत पसिनासँग साटेको कर जति खाए पनि नअघाउने। हात्तीछाप चप्‍पल लगाइरहेको मैले हात्ती जस्तै बनेको तिमीलाई कत्ति पनि बिर्सेको छैन।

पाँच वर्षसम्म फुट्यौ। झगडा गर्‍यौ। सजातीय र विजातीय विचारको कुरा गर्‍यौ। अहिले गठबन्धन गरिरहेका छौ। अक्षर यताउता भएर ठगबन्धन बनेको हो कि जस्तो लाग्छ। चुनाव आउनेबित्तिकै सबै कुरा मिल्ने तिमीहरूको अवसरवादी चरित्र मैले बिर्सेको छैन।

गोली खान, प्रहरीको लाठी खान र आन्दोलनमा बलिदान दिने हामी नागरिक। चुनावमा टिकट पाउने तिम्रा सन्तान र नातेदार कि पैसाले पेल्ने ठेकेदार ? तिम्रो यो निकृष्ट स्वार्थी अवतार म कसरी भुल्न सक्छु ?

तिम्रा घोषणापत्रमा त्यही पुराना डेट एक्सपायर सपना कुहिएर गन्हाइरहेका रहेछन्। नयाँ पहिरनमा त्यही मृत सपना बोकेर आएको तिम्रो घोषणापत्रमा अभिव्यक्त तिम्रो झुटो अवतारलाई मैले बिर्सेको छैन।

नागरिकको भोट पाउनासाथ तिमीहरू त राजाजस्तै भइहाल्छौ। सामन्तको नयाँ संस्करण। अतृप्त तिम्रा चाहनाहरू तिमी अभिव्यक्त गर्न थाल्छौ। सायद गल्ती हाम्रै हो। हामी भोट दिने बेला पार्टी, जात, धर्म, नातेदार, मधेशी, पहाडी अनि लोभलालचका पोका हेरेर दिन्छौं। न त मान्छे हेर्छौं न त उसको व्यवहार नै।

यी कुरा विस्तारै बुझ्न थालेको छु। म आफूलाई चिन्दैछु तर तिमीलाई बिर्सेको छैन। अनि याद गर- म मतदाता हिजो तिमीले चिनेको मतदाता होइन। यसपटक पुरानो गल्ती नदोहोर्‍याऔं। एउटै सर्पलाई दुईपटक टोक्न नदिऔं। हाम्रोलाई होइन, राम्रालाई भोट हालौं। पुरानै गल्ती दोहोर्‍याएर नयाँ ठाउँमा पुग्न सक्दैनौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?