+
+

भर्चुअल मेकअप गुरु सृष्टिका, जो टिकटकबाटै कमाइ गर्छिन्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १३:३९

काठमाडौं । नेपालीमा एउटा उखान छ, ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड ।’ सामाजिक सञ्जाल खासगरी टिकटक प्रयोगको सन्दर्भमा यो उखान ठ्याक्कै मिल्छ । अहिले यस्ता तन्नेरी सायदै होलान्, जसको खल्तीमा मोबाइल छैन । अनि यस्ता तन्नेरी बिरलै होलान्, जसको टिकटक एकाउन्ट छैन ।

धेरैका लागि त पट्यारलाग्दो समय कटाउने मेलो बनेको छ यो । टिकटकमा भेटिने छिटोछरितो सामग्री हेरेर भरपुर मनोरञ्जन लिन सकिन्छ । कतिपयले यसलाई आफ्नो रचनात्मक क्षमता प्रदर्शन गर्ने प्लेटफर्म बनाएका छन् । नृत्य, अभिनय, यात्रा, पकवान, मेकअप आदिको माध्यमबाट उनीहरुले आफ्नो खास कला प्रस्तुत गरिरहेका छन् । जस्तो कि, सृष्टिका पोखरेल ।

उमेरले उनी किशोरवयमै छिन् । हेराल्ड कलेजमा बीबीए अध्ययनरत् । टिकटकमा उनको एकाउन्ट छ, ब्युटीब्लसम । यसैबाट उनी सौन्दर्य प्रसाधनबारे चाखलाग्दो जानकारी पेश गरिरहेकी हुन्छिन् । मेकअपको नयाँ तौरतारिका सिकाइरहेकी हुन्छिन् । सौन्दर्यसँग सम्बन्धित समस्याको समाधान खोजिरहेकी हुन्छिन् ।

सौन्दर्यबारे चासो राख्ने युवती अझ उनी जस्तै  किशोरीहरुले यसमा चासो दिइरहेका हुन्छन् । आफ्नो समस्या सुनाइरहेका हुन्छन् । सृष्टिकाले उनीहरुको समस्या के हो र त्यसको समाधान कसरी गर्ने भन्ने सुझाइरहेकी हुन्छिन् । कस्तो प्रकृतिको अनुहारको हेरचाह कसरी गर्ने, सुख्खा वा तैलिया छालामा कस्तो प्रसाधन लगाउने ? उनी बताइरहेकी हुन्छिन् । यसरी उनी भर्चुअल मेकअप गुरुको रुपमा चिनिंदैछिन् ।

निमेषभरको भिडियोमा उनी सौन्दर्य सम्बन्धी उपयोगी जानकारी दिने गर्छिन् । त्यो पनि प्रयोगात्मक शैलीमा । कुनै सौन्दर्य प्रसाधनसँगै उपस्थित हुन्छिन् । उक्त सौन्दर्य प्रसाधन कस्तो अवस्थामा प्रयोग गर्ने ? कसरी गर्ने ? उनी छरितो भाषामा बुझाउँछिन् । त्यसपछि आफूले त्यसको प्रयोग गर्छिन् र नतिजा पनि देखाइदिन्छन् ।

‘धेरैजसो म छालासम्बन्धी समस्या र त्यसको समाधानबारे भनिरहेकी हुन्छु,’ सृष्टिका भन्छिन्, ‘कसैले आफ्नो समस्या सोधेपछि म अरु माध्यमबाट त्यसको जवाफ खोजेर भनिदिने गर्छु ।’

अधिकांश युवतीका लागि अनिवार्य जस्तै हुन्छ, मेकअप । यद्यपि कस्तो सौन्दर्य प्रसाधन सही हो ? आफ्नो छालाको प्रकृति अनुसार कस्तो सौन्दर्य प्रसाधन लगाउने ? उनीहरु द्विविधामा हुन्छन् । सृष्टिका यस्तै द्विविधा मेट्ने यत्नमा हुन्छिन्, टिकटकमार्फत ।

जस्तो कि, प्रायः सबैले सन प्रोटेक्सन क्रिम लगाउँछन् । तर त्यसलाई कसरी लगाउँदा प्रभावकारी हुन्छ भन्ने थाहा हुँदैन । ‘सन प्रोटेक्सन क्रिम तीनवटा औंलामा राखेर लगाउनुपर्छ,’ सृष्टिका भन्छिन्, ‘त्यो पनि कति मात्रामा भन्ने थाहा हुनुपर्छ । साथै ठाउँ एवं हावापानी अनुरुप कति एसपीएफको लगाउने भन्ने कुरा जान्नुपर्छ ।’

सन प्रोटेक्सन क्रिममा त्यसको सन प्रोटेक्सन फ्याक्टर उल्लेख गरिएको हुन्छ । जस्तो ३०–५० । काठमाडौंको हावापानी अनुसार एसपीएफ ३० उपयुक्त हुन्छ ।

धेरैजसो किशोर उमेरकाहरुले उनीसँग सल्लाह माग्ने गरेका छन् । ‘टिनएजर्समा डन्डीफोर, डार्कस्पट, छिद्रहरु आउने समस्या बढी छ,’ सृष्टिका भन्छिन् । त्यसैगरी ३०-३५ वर्ष उमेरका महिलाहरुले पनि उनीसँग सुझाव लिने गर्छन् ।

@beautybloossom

Dm if you need ❤️#ultabeautycollection #ultabeauty #fybシ #dm #16 it includes 4 lipstick,4 lip gloss ,4 lip stain , 4 lip oil #fybシ #dm #deliveryallovernepal🇳🇵 #instagram #lipstick #lipgloss

♬ I WANNA RIDE – 💋

टिकटकबाटै आयआर्जन

टिकटकमा उनी मेकअपको तौरतरिका त सिकाउँछिन् नै, त्यही मार्फत सौन्दर्य प्रसाधन पनि बिक्री गर्छिन् ।

सुरुमा उनले अल्टा ब्युटी लिपिस्टिकबाट आफ्नो खाता खोलेकी हुन् । ‘अमेरिकाबाट दाइले सेलमा लागेको बेला एक सेट लिपिस्टिक पठाइदिएका थिए,’ उनी भन्छिन्, ‘त्यसमा जम्मा १६ वटा पिस हुन्छ ।’

लिपिस्टिक कसरी लगाउँदा बढी आकर्षक देखिन्छ भनेर उनले टिकटकमा भिडियो बनाइन् । यो भिडियो धेरैले रुचाए । यसअघि बनाएका भिडियोहरु खासै चलेको थिएन । ‘मेकअप प्रोडक्ट र त्यसको तरिकाबारे बताइएको भिडियो चाहिं रुचाइने रहेछ,’ उनले यही भेउ पाइन् ।

अन्ततः यस्तै सौन्दर्य प्रसाधन र त्यसको प्रयोग विधिबारे उनले टिकटक बनाउन थालिन् । धेरैले उनीसँग भएको सौन्दर्य प्रसाधन किन्न चाहे । इन्स्टाग्राममार्फत उनी आफ्ना ग्राहकसँग जोडिइन् । अनि  होम डेलिभरीको व्यवस्था गरिदिइन् । यसरी सृष्टिकाले टिकटकलाई आयआर्जनसँग पनि जोडिन् । सुरुवाती हप्तामा उनले ५० हजार रुपैयाँ आम्दानी गरिन् ।

लिपिस्टिकपछि उनले अनुहारका लागि उपयोगी अन्य सौन्दर्य प्रसाधन ल्याइन् र टिकटकमा त्यसको भिडियो बनाउँदै बिक्री गर्न थालिन् । आफ्नो ग्राहकलाई उनी त्यसको प्रयोग विधिबारे त बताउने गर्छिन् नै, बेलामौकामा गिफ्ट पनि दिने गर्छिन् । ‘यसरी कहिलेकाहीं गिफ्टहरु दिने गर्दा सम्बन्ध राम्रो बन्छ,’ सृष्टिका भन्छिन्, ‘यो राम्रो बिजनेस आइडिया रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?