+
+

बेल्कुल भाइरल भेलु बाजे : टेलिफिल्मदेखि गायनसम्म

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०७९ वैशाख २० गते ७:०८

२० वैशाख, काठमाडौं । सोसल मिडियाको प्रभाव कतिसम्म छ भने दूरदराजका एक गुमनाम व्यक्ति रातारात ‘भाइरल’ हुन्छन् । युट्युब, फेसबुक र टिकटकभरि उनलाई छताछुल्ल बनाइन्छ । मानिसहरु उनको बोल्ने शैली, भाषा र हाउभाउमा यसरी रमाउँछन् कि अब उनलाई आफ्नो ढंगले बाँच्ने फुर्सद नै मिल्दैन । टिकटक बनाउनेदेखि युट्युबमा भिडियो बनाउनेहरू उनलाई पछ्याउन थाल्छन् ।

आफ्नो बोलीचाली र हाउभाउमा मान्छे किन यसरी लम्पट भएका हुन् ? सम्भवतः उनले कुनै भेउ पाएका छैनन् । उनीसँग न मोबाइल छ, न इन्टरनेट, न टिकटक एकाउन्ट । जसैजसै मान्छेहरू उनको वरिपरि झुम्मिन्छन्, उनी बेपर्वाह बोलिदिन्छन् । त्यही बोली र हाउभाउ ‘मनोरञ्जनको खुराक’ बन्छ, सामाजिक सञ्जालमा रमाउनेहरूका लागि ।

जसरी उनी ‘भाइरल’ हुँदै जान्छन्, त्यसलाई ‘क्यास’ गर्ने हतारो उत्तिकै हुन्छ । अन्ततः कोही उनलाई काठमाडौं ल्याएर अभिनय गराउने सुरसार गर्छन्, कोही गीत रेकर्ड गराउने ।

ज्याला मजदुरी गर्ने भेलु बाजे

स्थायी बसोबास प्युठान । सामान्य पारिवारिक अवस्था । ६१ वर्षीय मेनबहादुर बुढा ‘भेलु बाजे’ ।

सामान्य ज्याला मजदुरी गरेर आफ्नो जीविकोपार्जन गरिरहेका भेलु बाजेलाई टिकटकले एकाएक भाइरल बनाइदियो ।

एक जना व्यक्तिले उनको हातमा मोबाइल थमाइदिन्छन् र -यापर साकारले रेकर्ड गरेको अडियोलाई अन गरेर तपाईंसँग बोल्ने रे बाजे भन्छन् । उनलाई त्यो फोन आएको होइन, रेकर्ड गरिएको अडियो भन्ने भेउ पनि छैन । उनी त्यो अडियो सुनेर अडियोमा बोल्ने मानिसलाई गाली गर्न थाल्छन् । उनले कुरा गरेको भिडियो टिकटकमा एकाएक भाइरल हुन्छ । उनको बोल्ने टोन, तोडिलो जवाफलाई धेरैले मन पराउँछन् । त्यसपछि टिकटकर र युट्युबरहरु उनको वरिपरि दौडिन थाल्छन् । युट्युबबाट टिकटक हुँदै फेसबुक र ट्विटर प्रयोगकर्ताले पनि उनको बोल्ने शैली र भाषालाई एकदमै रुचाए ।

बेल्कुल–बेल्कुल

उनी आफ्नो कुरा अभिव्यक्त गर्न अर्कै भाषा र टोन प्रयोग गर्छन् जसलाई मानिसहरूले एकदमै रुचाउँछन् । उनले बोल्दा प्रयोग गर्ने बेल्कुल, हत्तेरिका, एकदम च्वाँक र पख्नुस् त लगायतका शब्दमा टिकटकमा थुप्रैले अभिनय पनि गरेका छन् ।

टिकटक र युट्युबमा यति धेरै भाइरल भएका भेलु बाजेलार्ई टेलिफिल्म ‘ख्यालठट्टा’ले पनि अभिनय गरायो । मनकामना रोधीघरले पनि उनलाई राधिका हमालसँग लाइभ दोहोरीमा घम्साघम्सी गरायो । वरिष्ठ संगीतकार बीबी अनुरागीले पनि भेलु बाजेसँग मिलेर ‘काटे डाली कैन’ गीत समेत रेकर्ड गराएका छन् ।

मोबाइल छैन, तर मोबाइलभरि उनी छन्

भेलु बाजे मात्र होइन, टिकटकबाट भाइरल हुनेको संख्या अहिले बढ्दो छ । तर यस्तो दुर्गम ठाउँको व्यक्ति जसलाई न टिकटकको ज्ञान छ, न त अन्य सामाजिक सञ्जालको । उनको साथमा मोबाइल छैन र घरमा टीभी पनि छैन, तर त्यही टिकटक र सामाजिक सञ्जालबाट नै उनी भाइरल भए ।

न अभिनयको ज्ञान, न त गीत संगीतको ज्ञान, तर भाइरल भएकै कारण उनले अभिनय गर्ने र गीत गाउने अवसर पाए । टिकटक र युट्युबले त उनको जीवनशैली नै परिवर्तन गरिदियो ।

गाउँमा ज्याला मजदुरी गरेर जीवन बिताएका मेनबहादुरलाई भाइरल गराउने तेजेन्द्र परियार र गनबहादुर पेस्तोल हुन् । एउटा विवाह कार्यक्रममा उनले खाना खाँदै गरेको भिडियो उनीहरूले टिकटकमा हालेका थिए । जसलाई एक रातमा १० लाख भन्दा बढीले हेरेका थिए । त्यसपछि उनीहरूले भेलु बाजेको अन्तर्वार्ता लिएर गामबेसी अपडेट र लिस्ने मिडिया युट्युब च्यानलमा राखे, त्यसलाई पनि धेरैले मन पराए ।

…अनि टेलिफिल्ममा अफर आयो

मेनबहादुरको भिडियो टिकटक र युट्युबमा भाइरल भएसँगै उनलाई टेलिफिल्म ‘ख्यालठट्टा’मा अभिनय गराउन निर्देशक नेत्र राउतले अफर गरे ।

६१ वर्षको उमेर पुगिसक्दा एकपटक पनि काठमाडौं नआएका भेलु बाजेको यहाँ आउने रहर थियो । त्यसैले उनले त्यो अफरलाई स्वीकारे अनि ख्यालठट्टामा अभिनय गर्न १८ घण्टाको बस यात्रा गरेर उनी काठमाडौं आइपुगे । ‘ख्यालठट्टा’मा अभिनय गरेर केही अन्तर्वार्ता दिएर दुई दिनको काठमाडौं बसाइपछि उनी प्युठान नै फर्किए ।

अभिनयको ज्ञान नभएकाले भनेअनुसारको काम गर्न उनलाई गाह्रो भएको उनलाई काठमाडौंसम्म ल्याएका पुस्करले बताए । ‘निर्देशकले भनेअनुसार १०० मा १० प्रतिशत पनि राम्ररी काम गर्न सक्नुभएन,’ उनले भने ।

हवाईजहाज चढेर काठमाडौं

भेलु बाजेले आफ्नै शैलीमा अभिनय गरे । उनले अभिनय गरेको ‘ख्यालठट्टा’को त्यो भागले युट्युबमा धेरै भ्युज पायो । दोस्रो पटक फेरि टेलिफिल्म टिमले उनलाई बोलायो । तर यो पटक भने बसमा काठमाडौं नजाने भनेर भेलु बाजेले भनेपछि उनलाई तेजेन्द्र र बमबहादुर मिलेर मोटरसाइकलमा भैरहवासम्म ल्याए । अनि त्यहाँबाट हवाईजहाजमा काठमाडौं ल्याए । यो पटक भने उनले काठमाडौंमा एक हप्ता बिताए । टेलिफिल्म ‘ख्यालठट्टा’को तीनवटा भाग र अर्को टेलिफिल्म ‘माइलो’मा पनि एउटा भागमा अभिनय गरे दोस्रो पटक भने उनलाई अभिनय गर्न अलि सहज भएको पुस्कर सुनाउँछन् ।

भेलु बाजे एकदमै रमाइलो गर्न मन पराउने र आदरणीय व्यक्ति भएको ‘ख्यालठट्टा’का निर्देशक नेत्र राउत बताउँछन् । ‘ख्यालठट्टाको चारवटा एपिसोडमा उहाँले अभिनय गर्नु भएको छ,’ उनले भने, ‘उहाँको कारणले हाम्रो टेलिफिल्मको भ्युज पनि बढ्यो । उहाँको प्लेन चढेर काठमाडौं आउने रहर पनि हामीले पूरा गरिदियौं र केही सहयोग पनि गर्यौं ।’

गीत गाएर फर्किए गाउँ

टेलिफिल्ममा अभिनय मात्र होइन, दोस्रो पटक काठमाडौं आउँदा उनले गीत समेत गाउने अवसर पाए । संगीतकार बीबी अनुरागीसँग मिलेर उनले ठाडी भाका ‘काटे डाली कैन’ गीत रेकर्ड गराए । आम्दानीको केही स्रोत नभएका भेलु बाजेले टेलिफिल्ममा अभिनय र गीत गाएबापत राम्रै पारिश्रमिक पाए । दोस्रो पटकको एक हप्ता बसाइपछि उनी प्युठान नै फर्किए ।

काठमाडौंबाट फर्किएपछि उनलाई गाउँलेहरूले भव्य स्वागत गरेका थिए । घर फर्केर फेरि उनी घरायसी काममा नै व्यस्त भएका छन् । घरमा उनकी श्रीमती विष्णु बुढा र उनी मात्रै बस्छन् । प्युठानमा पनि उनी अहिले अन्तर्वार्ता दिन व्यस्त छन् । आर्थिक अवस्था कमजोर भएकाले विभिन्न माध्यमबाट उनले आर्थिक सहयोग पनि पाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?