+
+

छुट्दै जान्छन्

मोती भुसाल मोती भुसाल
२०७९ वैशाख २१ गते १९:०८

टेकेपछि पाइला धर्तीमा

छुट्दै जान्छन्

स्वर्गीय आनन्द आमाको गर्भको

अनि, निर्भिक स्वतन्त्रता सुरक्षाको।

खाने हुदाँ आफैं चारो

चाल्न सक्ने हुँदा आफैं पाइला

छुटदै जान्छन्

अमृतसरी दशधारा दूध आमाको

अनि, बेफिक्री काख वात्सल्यको

र, लोहोरीसँगै निर्मल पवनमा हल्लिने कोक्रोहरु ।

हुर्कंदै गयो, बालापनले छोड्दै जान्छ

च्याप्ने बेलासम्ममा

हातमा चक र सिलोट

सक्ने हुँदा टुकुर टुकुर हिंड्न

छुट्दै जान्छन्

रमणीय, स्वच्छ र नीला आकाशजस्ता

माटोमा खेल्ने उमेरहरु,

अनि, काँक्रा चोर्ने, माछा मार्ने र

खाली खुट्टै काल्ना फराल्ने अवोध संगीहरु र बालापन ।

जिम्मेवारीले बाँध्दै ल्याउन थालेपछि

दाह्री जुंगाका बस्दै गरेका रेखीहरुले

संकेत गर्छन् र भन्छन्,

अब धेरै दिन छैनन् तेरा

जिम्मेवारीविहीन स्वच्छन्द विचरण गर्ने पलहरु

त्यतिबेला छुट्दै जान्छन्

पछिल्लो बेञ्चमा बसेर पुच्छर बनाइदिने

अनि, कागजका डल्ला पारी शिक्षकलाई हान्ने

र, बाटोमा घाँसका गाँठा पारी-पारी लडाउने

मेरा प्यारा बालसखाहरु ।

सकियो स्कुले जीवन र लक्का जवान भइयो

छोड्नुपर्ने भो बुढाबुढी बा-आमा र हुर्केको थातथलो

पारी गह्रुँगो मन

महसुस गरी गहिरो जिम्मेवारी

शिक्षा, नाम र दाम कमाउने अभिलाषाले

मलाई मेरो गाउँ बस्न दिंदैन र लखेट्छ

यो विचित्रको, अशान्त, निस्सासिने र संवेदनहीन सहरमा

त्यतिबेला छुट्दै जान्छन्

ममतामयी आमाको काख, परिवारको रेखदेख

अनि, भीरपाखामा गाइने फागुहरु, गोरु चराउन जाने जङ्गलहरु,

गाउँका लाखबत्तीका भजनहरु र दोहोरीहरु ।

प्रवेश गरेपछि यो अपरिचित सहरमा

नौला लाग्छन् हरेक चिज मेरो नजरमा

अपरिचित परिवेशमा पौंठेजोरी खेल्दै, पढ्दै र सिक्दै जाँदा

छुँदै गर्दा मलाई सहरको परिवेशले

छुट्दै जान्छन्

गाउँको कोदोको रोटी, ढिंडो, मही र भुटेको मकै

अनि, सोधीखोजी खान दिने परोपकारी मनहरु ।

कठोर संघर्षबाट पाएको सानो जागिरले

एक झमटमै हटाइदिन्छ मेरो बेरोजगारको विल्ला

र, आम्दानी गर्ने दर्जामा दर्ज हुँदै जाँदा

छुट्दै जान्छन्

स्टोभ घोचेर पकाएका स्वादिला खानाहरु

मट्टीतेल नहुँदा चिउरा खाएर काटेका कैयौं रातहरु

अनि, मेरा बेरोजगार मित्रहरु

र,  क्याम्पसका अविस्मरणीय पलहरु ।

जागिरे हुँदै गर्दा समयक्रममा

प्राप्त गर्ने पद, शक्ति र सुविधामा

अभ्यस्त हुँदै जाँदा

छुट्दै जान्छन्

पुराना सामाजिक सम्बन्ध,  परिवेश र नातागोता

अनि, शक्तिको उन्मादले भुईं तहमा

देखिएका सबै मान्छेहरु ।

जागिर सकिएको भोलिपल्ट

केवल रहन्छ जीर्ण एक थान शरीर

सुगर, प्रेसर र अनगिन्ती रोगले ग्रसित ज्यान

र केही थान औषधिका ट्याबलेटहरु

अनि छुट्दै जान्छन्

पहिल्यै छुटेका, सात समुन्द्रपारि बस्ने छोराछोरीहरु

सधैं गेटमा कुरेर बस्ने मेरो ड्राइभर र पजेरो

बुट बजार्दै सलाम हान्ने सुरक्षा गार्ड

अनि, भेट्न पालो कुरेर बसेका दर्जनौं आगन्तुकहरु ।

जीवनको उत्तरार्द्धमा सबै

चिज क्रमश: छुट्दै छुट्दै मात्र जान्छन्

अन्तिममा छुटेर जान्छ एक मुठी प्राणवायु

अनि, चितासँगै जल्नेछ

मेरो शाखा अधिकृत, उपसचिव, सहसचिव र सचिवको पद ।

चितामा जल्दै गर्दा मेरो लास कतिले भन्नेछन्

कतिबेर लाग्छ जल्न अझैं ?

हतारिएका मलामीहरुले

बाँकी रहेको खरानीलाई पानीले पखालेपछि

भौतिक रुपमा नै समूल नष्ट हुनेछ जिन्दगीको।

बाँकी रहनेछन् त केवल लेखिएको कृति

र आर्जन गरिएको कीर्ति

जुन आउने सन्ततिहरु

अनि,  समाजले सम्झिरहनेछन् र  सधैं बाँचिरहनेछ ।

बाँकी त क्षणभंगुर हुन्, फगत हुन् ।

समयको कालखण्डमा सबै छुट्दै छुट्दै मात्र जान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?