+
+

पालुङटार : कांग्रेसमा हर्ष, जसपामा बिस्मात्

पालुङटार नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार दीपकबाबु कँडेलले केन्द्रको निर्णय अनुसार जसपाको मेयर उम्मेदवारलाई समर्थन गर्ने आशयको विज्ञप्ति जारी गरेका थिए । तर जसपासँग वडास्तरमा तालमेलको सहमति नभएपछि आफूले मत माग्न थालेको उनले बताएका छन् ।

विनोद ढकाल विनोद ढकाल
२०७९ वैशाख २१ गते २०:१६
पालुङटार नगरपलिकामा कांग्रेसका मेयर उम्मेदवार दीपकबाबु कँडेल (बीचमा) र उपमेयरकी उम्मेदवार चेतकुमारी श्रेष्ठ । तस्वीर सौजन्य : नरहरि सापकोटा ।

२१ वैशाख, काठमाडौं । गोरखाको पालुङटार र गोरखा र नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच भएको तालमेल भंग भएको छ ।

बुधबार कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले विज्ञप्ति जारी गरी केन्द्रको निर्देशन बमोजिम जिल्लामा वडा तहसम्म तालमेलको प्रयास गर्दा दुबै दलका नेता कार्यकर्ताले एक्लाएक्लै प्रतिस्पर्धामा जाने राय दिएको बताए । दुबै दलबीच एकल रुपमै प्रतिस्पर्धामा जाने सहमति भएको उनको वक्तव्यमा उल्लेख छ ।

कांग्रेसको यो निर्णयले पालुङटार नगरपालिकाका मेयरका उम्मेदवार दीपकबाबु कँडेलले राहत महसुस गरे, जसले उम्मेदवार सूचिमा आफ्नो नाम हुँदाहुँदै मत माग्न पाएका थिएनन् । ‘शेरबहादुर दाइको पत्र आएपछि म कार्यक्रमहरुमा उपस्थित भइनँ,’ उनले अनलाइनखबरसँग भने, ‘अहिले मलाई कांग्रेसले मौका दिएको छ, यसको सहर्ष सम्मान गर्दै घरदैलोमा भाग लिइरहेको छु ।’

०७४ मा माओवादी केन्द्र र जसपा (तत्कालीन नयाँ शक्ति)का उम्मेदवारलाई हराएर निर्वाचित कँडेल दोस्रो कार्यकालका लागि चुनावमा प्रतिस्पर्धा गर्न इच्छुक थिए । नगर कार्यपालिकामा जसपा ठूलो थियो भने माओवादी र कांग्रेस बराबरजस्तो थियो । ‘अल्पमतको कार्यपालिका पनि कुनै विवाद नभई चलाएँ, मैले सुरु गरेको परिवर्तनलाई संस्थागत गर्न दोस्रो पटक उम्मेदवार बन्न चाहेँ’ उनी भन्छन् ।

तर सत्तारुढ गठबन्धनबीच तालमेल हुने भएपछि टिकट पाउने कि नपाउने भन्ने अन्योलमा थिए । गोरखामा सत्तारुढ गठबन्धनबीच स्थानीय तहको नेतृत्व भागवण्डाको छलफल हुँदा जनता समाजवादी पार्टीले पालुङटार नगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने माग गर्‍यो ।

आफू केन्द्रीय नेतृत्वको निर्देशन मान्न तयार भएको, तर जसपासँग वडास्तरको तालमेलको कुरा नमिलेपछि कांग्रेस आफ्नो उम्मेदवारी कायम राख्ने निश्कर्षमा पुगेको भन्दै कँडेलले अनलाइनखबरसँग भने, ‘मेरो अडानअनुसार पार्टीले निर्णय गरेको छ । मलाई केही अप्ठ्यारो परेको छैन ।’

संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर भएका कारण र जिल्लाको अन्य स्थानीय तहमा भन्दाबढी प्रभाव भएकाले जसपाको पहिलो रोजाइ पालुङटार थियो ।

कांग्रेस र माओवादी केन्द्रले पनि दाबी छाडेको थिएन । जिल्लाका ११ वटै स्थानीय तहमा भागवण्डा पालुङटारमै अड्किएपछि गठबन्धनको जिल्ला संयन्त्रले एकल प्रतिस्पर्धा गर्ने सहमति गर्‍यो ।

उम्मेदवार मनोनयन गर्ने दिन सबै दलले आ–आफ्नो ढंगले उम्मेदवारी दर्ता गराए । कांग्रेस, माओवादी केन्द्र र जसपाले पालुङटारको मेयर र उपमेयर दुबै पदमा उम्मेदवार उठाए । त्यसपछि पनि तालमेल गर्ने विषयमा जिल्ला स्तरमा सामान्य छलफल भए पनि भागवण्डाको निर्णय हुन सकेन ।

तर जसपा संघीय परिषद अध्यक्ष डा. भट्टराईले पालुङटारलाई आफ्नो प्रतिष्ठाको विषय बनाए । पटकपटक प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरे र पालुङटारमा कांग्रेससँग तालमेल गर्ने र मेयर जसपाले पाउने गरी छलफल अघि बढाए ।

त्यसअनुसार उम्मेदवारी फिर्ता गर्ने दिन कांग्रेस र जसपाबीच केन्द्रस्तरमा सहमति भयो, पालुङटार र गोरखा नगरपालिकामा जसपा र कांग्रेसबीच तालमेल गर्ने ।

पालुङटारको मेयर पद जसपाले लिने, उपमेयर कांग्रेसले लिने । सहमतिअनुसार जसपाले आफ्नो उपमेयरको उम्मेदवार नारायणी अधिकारीको उम्मेदवारी फिर्ता गरायो ।

तर कांग्रेसले मेयरको उम्मेदवारी फिर्ता लिएन । कांग्रेस सभापति देउवाले मनोनयन फिर्ताको पत्र पालुङटार नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा नपठाइ गोरखा सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालयमा पठाए । जुन पत्र फेरि पालुङटारको निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा कार्यालय समय सकिएको भन्दै कार्यालयले कांग्रेस उम्मेदवारको मनोनयन फिर्ता लिन मानेन ।

जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्ट कांग्रेसले त्यतिबेला नाटक गरेर उम्मेदवारी कायम राखेको बताउँछन् । ‘हामीलाई थाहा हुने, उनीहरुलाई थाहा नहुने हुँदैन, हामीले उपमेयरको उम्मेदवारी फिर्ता लियौं, तर कांग्रेसले नाटक गरेर उम्मेदवारी कायम राख्यो’ उनले भने ।

तर त्यसै दिन डा. बाबुराम भट्टराईले ट्वीट गरे । उनले कांग्रेससँग तालमेल भइसकेको र प्राविधिक त्रुटीका कारण मात्र कांग्रेसको मेयर उम्मेदवारको मनोनयन फिर्ता नभएको उल्लेख गरे ।

‘५ दलीय गठबन्धनभित्र तालमेल गर्ने क्रममा गोरखाको पालुङटार र गोरखा नगरपालिकामा जसपा र नेपाली कांग्रेसबीच तालमेल भएकामा प्राविधिक त्रुटीवश नेपाली कांग्रेसका पालुङटारका मेयर उम्मेदवारको नाउँ सूचिबाट नहटे पनि त्यसलाई छिटै मिलाइने प्रतिवद्धता प्रम तथा नेका सभापतिले व्यक्त गर्नुभएको छ ! शुभकामना साझा उम्मेदवार प्रेम गुरुङ’ भट्टराईले लेखेका थिए ।

त्यसको दुई दिनपछि १८ वैशाखमा भट्टराईले नै कांग्रेसका मेयर उम्मेदवार दीपकबाबु कँडेलले विज्ञप्ति सार्वजनिक गरे, जसमा आफूले मेयरमा उम्मेदवारी दिएपनि पार्टी केन्द्रले गरेको निर्णय स्वीकार गरेको उल्लेख छ । जसको घुमाउरो अर्थ हुन्थ्यो, जसपाका मेयर उम्मेदवार प्रेम गुरुङलाई समर्थन ।

पहिले उम्मेदवारी दर्ता गराएर पार्टीको निर्णयअनुसार अन्य दलको उम्मेदवारलाई मतदान गर्ने अपिल जारी गर्नुपर्दा आफू स्वतन्त्र नभएको अनुभव गरेको कँडेल सुनाउँछन् । ‘पार्टीको सदस्य भएपछि आधा स्वतन्त्रता जान्छ भन्ने त थाहा थियो, तर यसपटक मेरो आधा भन्दा धेरै स्वतन्त्रता गएको फिल गरेँ’ कँडेल भन्छन् ।

कँडेलका अनुसार त्यो वक्तव्य सार्वजनिक हुनुपूर्व उनले सभापति देउवालाई भेटेका थिए । देउवाले बोलाएपछि काठमाडौं आएका उनी बालुवाटार पुग्दा भट्टराई र उनकी पत्नी जसपा नेता हिसिला यमीसँग त्यहीँ भेट भएको कँडेल बताउँछन् ।

त्यो वक्तव्य आफूले भन्दा पहिले भट्टराईले सार्वजनिक गरेकोमा कँडेलको गुनासो छ । ‘मेरो चाहना पहिलेदेखि नै स्वतन्त्र रुपमा स्वस्थ तरिकाले प्रतिस्पर्धा गरौं भन्ने थियो ।

तैपनि पार्टीको केन्द्रीय नेतृत्वले राष्ट्रिय मुद्दा भएकाले तपाईले कन्सिडर गर्नुपर्‍यो भनेर भनेपछि मैले पार्टीको निर्णय मान्छु तर समर्थन नै गर्ने कुरामा मेरो अझै विमति छ भनेको थिएँ,’ उनले सुनाए, ‘मेरो विज्ञप्ति उहाँले सार्वजनिक गर्ने हो कि मैले सार्वजनिक गर्ने हो ? त्यो त परिपक्व मान्छेको राजनीतिक अपरिपक्वता र राजनीतिक बेइमानी भयो ।’

तर बुधबार उनी खुसी छन्, किनकी वडास्तरमा सहमति नभएपछि कांग्रेस र जसपाले सहमतिमै एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । कँडेल अब भने आफू मत माग्न जाने बताउँछन् । आफू केन्द्रीय नेतृत्वको निर्देशन मान्न तयार भएको, तर जसपासँग वडास्तरको तालमेलको कुरा नमिलेपछि कांग्रेस आफ्नो उम्मेदवारी कायम राख्ने निश्कर्षमा पुगेको भन्दै कँडेलले अनलाइनखबरसँग भने, ‘मेरो अडानअनुसार पार्टीले निर्णय गरेको छ । मलाई केही अप्ठ्यारो परेको छैन ।’

जसपाका जिल्ला अध्यक्ष भट्ट भने कांग्रेसका मेयर उम्मेदवारले यसबीचमा आफ्नो प्रचार नरोकेको र कांग्रेसले वडास्तरमा सहमति नगर्ने मनसायका साथ अडान राखेकाले तालमेल भंग भएको बताउँछन् । कांग्रेसले १० मध्ये ७ वटा वडाको अध्यक्ष आफूले पाउनुपर्ने अडान राखेको थियो ।

जुन अडानमा सहमति नभएपछि कांग्रेस र जसपाको तालमेल भंग हुन पुग्यो । ‘वडा विनियोजनको विषयमा असान्दर्भिक डिमान्ड गर्‍यो, हामीलाई अपमान गरेपछि सहमति हुन सकेन, बरु मिलेरै प्रतिस्पर्धा गरौं भन्ने समझदारीमा पुग्यौं’ भट्टले भने ।

लेखकको बारेमा
विनोद ढकाल

ढकाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?