+
+

‘नेपाल युरोप जस्तै होस् भनेर चुनावमा चासो राख्छौं’

युरोपमा स्थानीय जनप्रतिनिधिले भ्रष्टाचार गरेको सुनेनौं । सिस्टमले ती देश चलेका छन् । दोस्रो विश्वयुद्धपछि ती कहाँ पुगे, विकास गर्ने ठाउँ पनि बाँकी छैन । हाम्रो देश पनि त्यस्तै होस् जस्तो लाग्छ । अनि विदेशमा बसे पनि देशको राजनीतिमा चासो राख्छौं ।

सीता सापकोटा, बेल्जियम सीता सापकोटा, बेल्जियम
२०७९ वैशाख २३ गते १९:२१

स्वदेशमा बसे पनि विदेशमा बसे पनि हाम्रो माटो भनेको एउटै हो । ढुकढुकी यही माटोमा हुन्छ । हामी विशेष परिस्थितिले, कुनै बाध्यता वा विवशताले विदेशमा बस्नुपर्छ । रहर भन्दा पनि कहरका कारण हामी विदेश पुगेका छौं । तर हामीलाई प्रत्येक क्षण चासो भने देशकै हुन्छ ।

हामी आफ्नो गाउँ, समाजदेखि राष्ट्रसम्म राम्रो बनोस् भन्ने चाहन्छौं । हाम्रो जस्तै अरू देशहरूको अवस्था हेरौं, उनीहरू विकसित भएर धेरै अघि पुगिसके । तर हाम्रो अवस्था उस्तै छ । भ्रष्टाचार व्यापक छ, बेथिति व्यापक छ । गुण्डागर्दी, बलात्कारका घटना बढिरहेका छन् ।

त्यसैले जहाँ बसे पनि यस्तो बेथितियुक्त मुलुक सुशासनयुक्त बनोस् भन्ने चाहना आइहाल्छ । त्यसका लागि राम्रो प्रतिनिधि छनोटमा ध्यान दिनुपर्छ । वडादेखि स्थानीय तहसम्म राम्रो व्यक्ति चयन गर्न सकियो भने देशमा केही राम्रो होला भन्ने अपेक्षा हुन्छ । फेरि विदेशमा बसे पनि नेपालमा हाम्रो मतदाता नामावलीमा नाम छ । त्यसले पनि हामीलाई यहाँको चुनावमा धेरै नै चासो रहन्छ ।

मेरो एउटा भोटका कारण राम्रो जनप्रतिनिधि चुन्न सकिन्छ भने मेरो मताधिकारको प्रयोग त हुनुपर्छ नि ! एउटा भोटका कारण वडादेखि स्थानीय तहको माथिसम्मै राम्रो उम्मेदवारले जितेर स्थानीय तहको मुहार फेर्न सक्छ । त्यसैले हामीलाई गाउँठाउँको चुनावसँग असाध्यै चासो हुन्छ ।

फेरि विदेशमा बसे पनि हामी नेपाली हौं । राम्रो बनाउन सकिएला, नसकिएला तर विदेशमा बसेपछि हाम्रो देश राम्रो बनाउने परिकल्पना, सोच–विचार झन् धेरै आउँछ । यसकारण विदेशमा बस्ने नेपालीले पनि एउटा योग्य, सक्षम र पालिका हाँक्न सक्ने व्यक्ति चुनियोस् भनेर सोच्नु स्वाभाविक पनि हो ।

यसर्थ हामी विदेशमा बसेर पनि नेपालको राजनीतिमा चासो लिन्छौं । मुलुक परिवर्तन राजनीतिले हुन्छ । कुनै एनजीओ वा हामी व्यक्ति बोलेर मात्रै ठूलो परिवर्तन हुँदैन । जसले सत्ता सम्हालेको हुन्छ, राजनीतिक विचार, राजनीतिक कार्यक्रमले मात्रै मुलुकलाई परिवर्तन गर्न सक्ने हुनाले पनि हामी विदेशमा बस्ने नेपालीले देशको राजनीतिमा विशेष चासो दिनु स्वाभाविक नै हो ।

विदेशमा रहेका नेपालीले नेपालमा उठेका उम्मेदवारहरूलाई आर्थिक सहयोग गर्छन् भनिन्छ । यस बारेमा मलाई चाहिं खासै जानकारी छैन । विदेशमा काम गरेर थोरबहुत कमाएको पैसा स्थानीय तहमा उठेको कसैलाई आफ्नो गच्छे अनुसार थोरै सहयोग गर्न सक्ला । फेरि विदेशबाट आएको त्यो पैसा भ्रष्टाचारको कमाइ होइन । त्यसले यहाँ ठूलो उथलपुथल ल्याउने पनि होइन ।

भ्रष्टाचार त हाम्रो मुलुकमा धेरै छ । मेरो पार्टीमा मात्रै होइन अरू धेरै पार्टीमा चलखेल हुन्छ । आजको दिनमा निष्ठाको राजनीति गर्ने, सेवाका लागि राजनीति गर्ने, जनताको लागि राजनीति गर्ने, माटोलाई सोचेर छातीमा हात राखेर म केही गर्न सक्छु भन्ने राम्रा उम्मेदवारले त टिकट नै पाइरहेका छैनन् नि ! आज ठेकेदार, भ्रष्टाचारी, कालाबजारियाहरू करोडौं करोडमा रातारात टिकट हात पार्न सफल भएका छन् । यसकारण विदेशमा एउटा नेपालीले दुःख गरेर कमाएर बचाएको केही पैसाले यहाँको चुनावमा कुनै अर्थ राख्दैन । अहिलेको व्यापक भ्रष्टाचार अन्त्य नगरी हाम्रो राजनीतिले देशको मुहार फेर्ला भन्ने मलाई विश्वास पनि लाग्दैन ।

फेरि विदेशमा बस्ने नेपालीका आ–आफ्नै दुःख छन् । धेरैको मतदाता नामावलीमा नाम समावेश छैन । कति त आफ्नो परिस्थितिका कारण नेपाल आउन पनि सक्दैनन् । म चाहिं बेलाबेला नेपाल आइरहन्छु । टोली आएको बेला मेरो नाम छ, छैन भनेर मेरो परिवारले पनि चासो दिनुहुन्छ ।

म विदेशमा भए पनि मेरो परिवारका सदस्यहरू नेपालमै हुनुहुन्छ । तर अरू धेरैको त नाम छुटेको हुनसक्छ । कतिपय मान्छेको घरपरिवारले वास्ता नगरेर पनि मतदाता नामावलीबाट नाम छुटेको हुनसक्छ । तर जो मान्छेलाई भोटको मतलब छैन, जसलाई राजनीतिको बारेमा वास्ता छैन, ऊ फेसबुकमा गाली गरेर मात्रै बस्छ । मेरो विचारमा त्यस्ता मान्छेलाई गाली गर्ने अधिकार पनि छैन ।

म भरतपुर आएको एक हप्ता भयो । चुनावका लागि नै आएकी हुँ । म विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय छु । म २०५० सालमा नेपाल विद्यार्थी संघ चितवन जिल्लाको सचिव थिएँ । मैले तरुण दल, महिला संघ लगायतमा काम गरें । कांग्रेसको दुई पटक महाधिवेशन प्रतिनिधि भएँ ।

म बेल्जियम गएपछि पनि राजनीतिमा सक्रिय रहें । स्वदेशमा हुँदा वा विदेशमा हुँदा होस् म देशको राजनीतिका बारेमा चासो राख्छु । म राजनीतिमा सक्रिय हुन चाहन्छु । मेरो विचारमा महिलालाई राजनीति गर्न गाह्रो छैन तर उसमा इच्छाशक्ति भने हुनुपर्छ ।

कुनै व्यक्ति वा नेतृत्वसँग असन्तुष्टि हुन्छ भन्ने हुन्न । तर नेतृत्वले कुनै निर्णय गर्दा कार्यकर्ताहरूको पनि भावना हेर्नुपर्छ । चितवनमा २५ जना आकांक्षी हुँदाहुँदै केन्द्रबाट निर्णय गरेर जबर्जस्ती निर्णय लाद्न खोजेको हो । म कारबाहीमा परे पनि गलतलाई गलत भन्छु । तर सिंगो गठबन्धनलाई गलत भन्दिनँ ।

सरकार सञ्चालन गर्न गठबन्धन चाहिन्छ । तर चितवनमा कृष्णप्रसाद सापकोटा जस्ता ८४ वर्ष नाघेका नेताहरू धुरुधुरु रुनु परेको अवस्था छ । भरतपुर महानगरको मेयरको विषयमा नेपाली कांग्रेसमा धेरै असन्तुष्टि छ । विदेशमा रहँदा पनि मैले आलोचना गरें । मलाई गुटकै आधारमा पटक–पटक कारबाही पनि गरियो । पार्टीमा विसंगति हुनुहुँदैन भनेर मेरो मत अहिले पनि कायमै छ ।

विगतको भन्दा अहिलेको चुनाव फरक छ । हाम्रो पार्टीको कुरा गर्दा हिजो वडा तहबाट छनोट भएर उम्मेदवारहरू चुनिन्थे । अहिले पैसा बुझाएका आधारमा टिकट पाउँछन् । पहिले पैसा बुझाएको आधारमा होइन काम गरेका आधारमा टिकट दिने ‘सिस्टम’ थियो । अहिले धेरै ठाउँमा यस्तो छैन । राजनीति दुर्गन्धित भएको छ । चुनाव खर्चिलो र भड्किलो भएको छ ।

अहिले त वडाअध्यक्ष लड्न पनि थोरैतिनो पैसाले पुग्दैन । घरघडेरी बेच्नुपर्ने अवस्था छ । युरोपमा स्थानीय जनप्रतिनिधिले भ्रष्टाचार गरेको देखेनौं, सुनेनौं । सिस्टमले ती देशहरू चलेका छन् । दोस्रो विश्वयुद्धपछि बनेको देश कहाँ पुगे । विकास गर्ने ठाउँ बाँकी छैन ।

तर हाम्रोमा त विकासको कामै हुँदैन । विकासका पूर्वाधारहरू बेचेर खाइन्छ । सरकारमा बसेकाले सरकारी जग्गा बेचेर खाएको आरोप छ । विदेशमा यस्तो देखेनौं । जित्नेले राज्य सञ्चालन गर्छ, यहाँको जस्तो काटमार पनि हुँदैन । त्यसैले हामीलाई हाम्रो देश पनि यस्तै होस् जस्तो लाग्छ । अनि राम्रा जनप्रतिनिधि आउन् भनेर विदेशमा बसे पनि देशको राजनीतिमा चासो राख्छौं ।

(बेल्जियममा बसोबास गर्ने नेपाली कांग्रेस महासमिति सदस्य सापकोटासँग अनलाइनखबरकर्मी बसन्त रानाभाटले गरेको कुराकानी ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?