+
+

जेठको पहिलो हप्ताभित्रै सवारी लाइसेन्सको आवेदन खोल्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १८:५०

२३ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले जेठको पहिलो हप्ताभित्रमा लाइसेन्सको आवेदन खुला गर्ने तयारी गरेको छ । त्यसपछि स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु गर्ने विभागको दाबी छ ।

विभागका प्रवक्ता इश्वरीदत्त पनेरुका अनुसार वैशाख मसान्तसम्म सबै लाइसेन्स कार्यालयहरुले यसअघि फारम भरेकाहरुको परीक्षा लिइसक्ने अनुमान गरिएको छ । १ चैतदेखि देशभरका यातायात कार्यालयका लागि अनलाइन आवेदन  बन्द गरिएको छ ।

एउटा नागरिकता नम्बर भएका व्यक्तिले एकपटक मात्रै अनलाइन आवेदन भर्नसक्ने बनाएर बिचौलिया रोक्ने विभागको योजना छ । अब अनलाइनबाट नियन्त्रणात्मक व्यवस्था गरेर मात्रै लाइसेन्सको आवेदन भर्न दिने तयारी छ ।

आवेदन प्रणालीमा देशभरका जुनसुकै यातायात कार्यालयमा १५ दिनभित्र उपलब्ध रिक्त सिट आवेदकले हेर्न पाउने र आफ्नो पायक पर्ने कार्यालयमा आवेदन दिएर तुरुन्तै अनलाइनबाट शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गर्ने तयारी छ ।

‘जेठ पहिलो साताभित्रै आवेदनको व्यवस्थित प्रणाली तयार गरिसक्न महानिर्देशकज्युले प्राविधिक टिमलाई भनिसक्नु भएको छ,’ उनले भने,’ कुनै प्राविधि समस्या आएन भने लाइसेन्सको आवेदन जेठको पहिलो हप्तामा खुल्छ ।’

गत ११ चैतमा आफ्नो एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले सन् २०२१को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी रहेको बताएका थिए । प्रवक्ता पनेरुका अनुसार छाप्न बाँकी लाइसेन्सको छपाइ एक महिनाभित्रै सकिने अनुमान छ ।

स्मार्ट लाइसेन्स छपाइको काम पासपोर्टको जसैगरी निजी क्षेत्रलाई दिन सकिने भन्दै  विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएको थियो । निजी क्षेत्रलाई नदिने भए विभागमा पि्रन्टिङ मेसिन, पूर्वाधार र जनशक्ति थप गरेर व्यवस्थापन गर्नुपर्ने विभागको सुझाव थियो ।

ट्रायलमा पास भएर नयाँ लाइसेन्स बनाउनेहरुका लागि एक वर्षको परीक्षणकालीन लाइसेन्स जारी भइरहेको जानकारी दिँदै विभागले नयाँ आवेदन खुलेपछि नवीकरण गर्नेहरुले एक महिनाभित्रै स्मार्ट लाइसेन्स पाउने दावी गरेको छ । शुल्क लिएर घरसम्मै डेलिभरी गरिदिन सक्दे दाबी समेत विभागको छ ।

यसअघि फारम भरिसकेका ५ लाख ७२ हजार सेवग्राहीले कहिले पालो पाउँछन् भन्ने अनिश्चित भएपछि जेठसम्म सबैलाई परीक्षामा सामेल गराउने भन्दै नयाँ फारम लिन बन्द गरिएको थियो । विभागका महानिर्देशक घिमिरेले अब फारम भरेको १५ दिनभित्रै परीक्षा दिन पाउने व्यवस्था गरिने बताउँदै आएका छन् ।

बागमती बाहेकका अन्य प्रदेशले अंकभारका आधारमा ट्रायल लिने काम सुरु गर्न लागेको भन्दै विभागले यो व्यवस्था सबैतिर लागू भएपछि लाइसेन्स वितरण थप सहज हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?