+
+

संयुक्त सभापछिको भरतपुर : प्रचण्ड थोरै आश्वस्त, जगन्नाथ आक्रामक

सुवास पण्डित सुवास पण्डित
२०७९ वैशाख २४ गते २२:५१

२४ वैशाख, चितवन । सत्ता गठबन्धनका शीर्ष नेताहरुले संयुक्त आमसभालाई सम्बोधन गरेपछि भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसको असन्तुष्टि मत्थर भयो कि बढ्यो ? लेखाजोखा हुन थालेको छ । सत्तारुढ गठबन्धन, बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलको समूह र नेकपा एमालेको पनि यसमा चासो छ ।

जिल्लाका नेता कार्यकर्ताको चर्को विरोधका बाबजुद कांग्रेसले भरतपुरको मेयरको उम्मेदवारी नेकपा माओवादी केन्द्रलाई छाडेर उपमेयर  लिएको छ । यसमा असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताले पूर्व सांसद जगन्नाथ पौडेललाई मेयरमा उठाएका छन् ।

पौडेलको उम्मेदवारी फिर्ता गराउने अनेक प्रयास असफल भएपछि सत्तारुढ गठबन्धनले बिहीबार भरतपुरमा चुनावी सभा गरेको थियो, जसलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले सम्बोधन गरेका थिए ।

प्रचण्डलाई राहत !

भरतपुरको चुनावी सभामा कांग्रेस नेताहरु जीतनारायण श्रेष्ठ र टेकप्रसाद गुरूङले सम्बोधन गरेका थिए । दुबै नेताले सम्बोधनका क्रममा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई जिताउन भूमिका खेल्ने, तर गठबन्धन दिगो हुनुपर्ने बताए । जबकी भरतपुरको मेयर कांग्रेसले नै लिनुपर्ने माग राख्नेहरुको अगुवाइ दुबै नेताले गरेका थिए । त्यसैले भरतपुरको सभामा उनीहरुको सम्बोधनले कांग्रेसको असन्तुष्ट जनमत एक हदसम्म प्रभावित भएको मानिएको छ ।

स्रोतका अनुसार चुनावी सभालगत्तै प्रचण्डले चितवनमा असन्तुष्ट कांग्रेसका नेतासँग भेटवार्ता गरेका छन् । त्यसबाट प्रचण्डले भरतपुरको अवस्था केही सम्हालिएको अनुभव गरेको आफूले पाएको कांग्रेसका एक नेता बताउँछन् । ‘सबैलाई भेट्दा हाम्रो लिडरसिपले भनेपछि मान्छौं भनेकाले उहाँ (प्रचण्ड) थोरै आश्वस्त भएको पाइन्छ,’ ती नेता भन्छन्, ‘हिजो जगन्नाथको पक्षमा देखिने गरी गएका मानिसहरु विस्तारै पछाडि हट्छन् ।’

सभापछि कतिपय नेता र कार्यकर्ता गठबन्धनको पक्षमा खुलेको कांग्रेस चितवनका सभापति राजेश्वर खनाल बताउँछन् । पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवा भरतपुर आएर दुईदिनसम्म बसेर जिल्लाका पूर्व सभापति, केन्द्रीय सदस्य तथा अग्रजहरुलाई सम्झाएपछि माहौल फेरिँदै गएको उनले बताए ।

‘केन्द्रीय सभापतिले जिल्लाका सिनियर नेताहरुलाई छलफल गरेर कन्भिन्स गराएपछि केही सकारात्मक अवस्था देखिएको छ,’ खनालले भने, ‘विस्तारै उहाँहरु गठबन्धनका पक्षमा खुल्दै चुनावमा मत माग्न हिँड्नु भएको पाएका छौं ।’

उनकाअनुसार भोलि आइतबार वडा नं. १५ मा पूर्वसभापति, गएको जिल्ला अधिवेशनमा प्रतिस्पर्धामा रहेका सभापतिका ५ जना उम्मेदवार, केन्द्रीय सदस्यसहित १५ जनाले एकै मञ्चबाट आफ्ना धारणा सार्वजनिक गर्ने समेत तय भएको छ ।

माओवादी केन्द्र चितवन संयोजक रामचन्द्र अधिकारीले पनि पाँचदलीय गठवन्धन एउटै पार्टी जस्तो भएको बताउँछन् । कांग्रेस भित्रको विवाद संग्लिदै गएको र र एकतावद्ध ढंगले अगाढि बढ्ने दिशामा उत्साह पैदा भएको उनले बताए ।

आक्रामक जगन्नाथ

देउवादेखि प्रचण्डसम्मले गरेको भेटवार्ताले जति सकारात्मक वातावरण बनाएको छ, सभामा नेताहरुले गरेको भाषणले त्यति नै बिगारेको मत राख्ने नेताहरु पनि चितवनमा छन् । भरतपुरमा रेनुले चुनाव हारे देश दुर्घटनामा पर्ने प्रचण्डको अभिव्यक्तिलाई जगन्नाथले राम्ररी उपयोग गरेका छन् ।

शनिबार भरतपुरमा कोणसभा गरेका पौडेलले प्रचण्डको अभिव्यक्ति सुन्दा आत्माग्लानी भएको बताए । उनले भने, ‘कुनै व्यक्तिले चुनाव लड्छु भन्दा आकाश खस्छ ? प्रधानमन्त्री भएका व्यक्तिले यस्तो टिप्पणी गर्दा मलाई आत्मग्लानी भयो ।’

पाँच दलको गठबन्धन श्रीमती, छोरी, ज्वाइँलाई टिकट दिलाएको भएको भन्दै उनले भने, ‘हाम्रो विरोध त्यसमा हो । प्रश्न ठड्याउने नैतिक आधार हामीलाई छ । हामीले पनि हण्डर आएका छौं, अहिले पनि ज्यान जोखिममा होला ।’

कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डले जस्तो आक्रामक अभिव्यक्ति त दिएका थिएनन् । तर गठबन्धनको वकालत गरेका उनीहरुले माहौल बनाउन नसकेको कांग्रेसका एक नेता बताउँछन् । ती नेता भन्छन्, ‘भरतपुरको मात्र कुरा नगरेर देशभर जसले जहाँ जितेको छ त्यो उसैले लियो, तर हामीले भरतपुर छाडेर विराटनगर लिएका छौं । चितवनमै पनि अरु पालिकाको नेतृत्व लिएका छौं । त्यहाँ गठबन्धनको भोट तलमाथि हुनुहुन्न भन्न सक्नुपर्थ्यो ।’

तर भरतपुरको मात्र कुरा गर्नु र काठमाडौं महानगरपालिकाको चुनावी सभामा समेत रेनुका लागि भोट मागेर शीर्षा नेताहरुले आशक्ति मात्र देखाएको चितवनका कतिपय नेताहरु बताउँछन् । ‘गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठ जानेदेखि संयुक्त सभा गर्नुको साटो लो प्रोफाइलमा बसेर काम गर्नुपर्ने थियो,’ भरतपुरको घटनाक्रमलाई नजिकबाट हेरिहेका एक नेता भन्छन्, ‘एकाएक सभा गर्ने भनियो । त्यहाँ बोल्दा मतदातालाई फकाउनुपर्ने थियो, भरतपुरमा गठबन्धनलाई भोट नहाल्नु भनेको त विजय सुवेदी जिताउनु हो भन्ने बुझाउन सक्नुपर्ने थियो । तर धम्कीपूर्ण भाषा बोल्नुभयो, जसले झन् आक्रोश बढाएको छ ।’

असन्तुष्टि भुसको आगोझैं सल्किएको बागी उम्मेदवार पौडेलको अभिव्यक्तिले पनि संकेत गर्छ ।

सत्ता गठबन्धनको ‘फुच्चे’ सभा र नेताले दिएको धम्कीपूर्ण अभिव्यक्तिले जनता रिसाएको पौडेल बताउँछन् । कांग्रेसका कार्यकर्ताले तपाईलाई सर्मथन गछौं भनेर फोन गर्न थालेको भन्दै उनले भने, ‘प्रचण्डकी पुत्रीलाई मत नदिए देश दुर्घटनामा पर्ने धम्कीपूर्ण र आक्रोशपूर्ण अभिव्यक्तिले कांग्रेसका नेता र कार्यकर्ता झनै पनि आक्रोशित बनेको पाएको छु । मत माग्नु पनि छ, त्यो पनि धम्काएर ! कांग्रेसका नेता कार्यकर्ता प्रचण्डका घरका गोठाला होइनन् ।’

एमाले नेताहरुले पनि प्रचण्डको अभिव्यक्तिले कांग्रेसको सान्त्वना भोट गुमाएको विश्लेषण गरेका छन् । ‘मत दिने नदिने वा कसलाई दिने त्यो जनताको अधिकारको कुरा हो, तर मेरो छोरीलाई मत हालेनौं भने देशै दुर्घटनामा पर्छ भनेर कसलाई धम्क्याएको हो,’ एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने भन्छन्, ‘चितवनका सचेत जनता कसैको धम्कीसँग डराउँदैनन्, कांग्रेसका मतदाता देउवा र प्रचण्डले जेजे भने त्यो मान्न तयार भएको पाएको छैन ।’

ओली भोलि भरतपुर आउने

सत्ता गठबन्धन र बागी उम्मेदवार पक्षको तनाव चलिरहेका बेला नेकपा एमालेले भोलि आइतबार सभा गर्दैछ । एमालेले भरतपुरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाएको छ भने उपमेयरमा राप्रपालाई समर्थन गरेको छ ।

भोलि क्याम्पा चौर, नारायणगढमा हुने सभालाई एमाले अध्यक्ष ओली, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । ओलीको सम्बोधनले भरतपुर थप तरंगित हुने सम्भावना रहेको एक नेता बताउँछन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?