News Summary
Generated by OK AI. Editorially reviewed.- बिहान उठ्दा मुखमा तितो स्वाद आउने समस्या डिस्गेसिया हुन सक्ने र यसको कारण एसिड रिफ्लक्स, सफाइको कमी, र्याल कम हुनु वा औषधिको असर हुन सक्ने बताइएको छ।
के तपाईंलाई कहिलेकाहीँ बिहान उठ्ने ब्युँझिनेबित्तिकै मुखमा तितो स्वाद महसुस हुन्छ ? धेरैजसो मानिसले यसलाई सामान्य ठानेर बेवास्ता गर्छन् । मुख फोहोर भएको ठान्छन् र ब्रस गरेपछि आफैँ ठीक हुन्छ भनी सोच्ने गर्छन् । तर, हरेक बिहान उठ्दा मुखमा तितोपन महसुस हुन्छ भने त्यसका पछाडि विभिन्न कारण हुन सक्छन्।
राति सुत्दा मुखमा र्याल उत्पादन कम हुन्छ । यसबाहेक, एसिड रिफ्लक्स, मुखको सरसफाइमा कमी र केही औषधिको सेवनका कारण पनि मुखको स्वाद परिवर्तन हुन सक्छ ।
चिकित्सा विज्ञानमा स्वादसम्बन्धी यस्तो समस्यालाई ‘डिस्गेसिया’ भनिन्छ।
एक अनुसन्धानले बिहान उठ्दा मुख तितो हुनुका कारणको खुलासा गरेको छ । ‘पबमेड’ मा प्रकाशित यस अनुसन्धानले शरीरमा हुने कस्ता परिवर्तनले यस्तो समस्या निम्त्याउन भन्ने जानकारी पनि दिएको छ ।
एसिड रिफ्लक्सको समस्या पनि हुन सक्छ
मुखमा तितो स्वाद आउनुको एउटा कारण एसिड रिफ्लक्स वा ग्यास्ट्रोइसोफेगल रिफ्लक्स डिजिज हुन सक्छ । कहिलेकाहीँ पेटमा रहेको एसिड भोजन नली हुँदै माथितिर आउँछ । यसले गर्दा मुखमा तितो वा अमिलो स्वाद महसुस हुन सक्छ।
एसिड रिफ्लक्स हुँदा देखिने लक्षणहरू
– छाती पोल्ने।
– घाँटीमा अमिलो पानी आउने।
– बारम्बार डकार आउने।
– बिहान उठ्दा घाँटी खसखस गर्ने।
– घाँटी वा छातीमा जलन महसुस हुने।
सफाइको कमी
दाँत र जिब्रो राम्रोसँग सफा नगर्दा मुखमा ब्याक्टेरिया तीव्र गतिमा बढ्न सक्छन् । यसले मुख गन्हाउने मात्र नभई तितो स्वादसमेत उत्पन्न गर्न सक्छ । त्यसैले दाँतको राम्रोसँग सफाइ गर्नुपर्छ । कहिलेकाहीँ राति खाएको खानेकुराका कण दाँतमा अड्किएर बस्दा कुहिन सक्छन् । त्यसैले राति सुत्नुअघि अनिवार्य रूपमा ब्रस गर्नुपर्छ।
मुखमा र्याल कम उत्पादन हुनु
बिहान उठ्दा मुख तितो हुनुको अर्को कारण मुख सुक्नु पनि हो । राति सुत्दा स्वाभाविक रूपमा र्याल उत्पादन कम हुन्छ । यसले गर्दा मुख सुक्ने र तितो स्वाद आउने समस्या बढ्न सक्छ ।
मुख सफा राख्न, ब्याक्टेरियाको वृद्धि नियन्त्रण गर्न र खानेकुराका कण हटाउन र्यालले महत्त्वपूर्ण भूमिका खेल्छ।
र्याल कम हुँदा देखिने लक्षणहरू
– बिहान उठ्नेबित्तिकै मुख सुख्खा महसुस हुनु ।
– जिब्रोमा सेतो वा पहेँलो तह देखिनु ।
– मुखबाट दुर्गन्ध आउनु ।
– बारम्बार तिर्खा लाग्नु ।
औषधिको असर
यदि कुनै समस्या भएर औषधि खाइरहेका छौ भने पनि बिहान उठ्दा मुख तितो भइरहेको महसुस हुन सक्छ । हामीले खाएको औषधि रगत हुँदै पूरै शरीरमा फैलिन्छ । केही औषधिका अवशेषहरू वा तिनका रासायनिक तत्त्वहरू हाम्रो र्यालमार्फत बिस्तारै मुखमा निस्किरहन्छन्, जसले गर्दा धेरै समयसम्म मुख तितो भइरहन्छ ।
यससँगै कतिपय औषधिहरूले जिब्रोमा भएका स्वाद थाहा पाउने ग्रन्थीसँग प्रत्यक्ष प्रतिक्रिया गर्छन् । यसले गर्दा मस्तिष्कमा स्वादको गलत संकेत जान्छ र केही नखाँदा पनि तितो जस्तो स्वाद आउँछ।
कलेजो सम्बन्धी समस्यामा
कलेजोको रोग लाग्दा पित्तको प्रवाहमा गडबडी भई ‘बायल रिफ्लक्स’ भएमा, शरीरमा अमोनिया जस्ता विषाक्त पदार्थ जम्मा हुँदा र पाचन प्रक्रिया कमजोर भई एसिडिटी बढ्दा मुख तितो हुने समस्या हुन सक्छ।
के गर्ने ?
यस्तो समस्याबाट बच्न दिनभरि पर्याप्त पानी पिउनुपर्छ । राति सुत्नुअघि मुखको राम्रोसँग सफाइ गर्नुपर्छ । यदि नाक बन्द हुने समस्या छ भने त्यसको कारण पत्ता लगाउन चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
यस्तो समस्या भए के गर्ने ?
कहिलेकाहीँ बिहान उठ्दा मुखमा तितो स्वाद महसुस हुन्छ भने केही सामान्य बानी अपनाएर यसबाट राहत पाउन सकिन्छ।
– बिहान उठ्नेबित्तिकै एक गिलास पानी पिउने ।
– हरेक दिन बिहान र बेलुका ब्रस गर्ने ।
– जिब्रो सफा गर्ने ।
– दिनभरि पर्याप्त मात्रामा पानी पिउने ।
– राति धेरै ढिलो खाना खाने बानी छ भने हटाउने ।
– सुर्तीजन्य पदार्थको सेवन नगर्ने ।
मुखमा तितो स्वाद आउने समस्या लामो समयसम्म रहिरहेमा वा बारम्बार दोहोरिएमा चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ ।
प्रतिक्रिया 4