News Summary
Generated by OK AI. Editorially reviewed.- परम्परागत चिनियाँ चिकित्साले खानपानलाई ऋतु, स्थान र शरीरको प्रकृतिसँग जोडेर हेर्दै मौसमी र स्थानीय खानालाई विशेष महत्व दिएको छ।
- वसन्तमा कोमल पालुवा र ताजा वनस्पति, गर्मीमा पानीयुक्त फलफूल र इलेक्ट्रोलाइट, शरद्मा ताजा फलफूल, र हिउँदमा कन्दमूल तथा संरक्षण गरिएका खानेकुरा उपयुक्त मानिएका छन्।
परम्परागत चिनियाँ चिकित्सामा एउटा महत्वपूर्ण अवधारणा छ, खानपानमा उचित समय, मात्रा र संयमको ख्याल गर्नुपर्छ । अझै भनौँ ‘खानपानको पनि चाडपर्व हुन्छ ।’
यसको अर्थ केवल कति खाने भन्ने होइन, कहिले खाने, कहाँको खाने र कस्तो प्रकृतिको खाना खाने भन्ने विषयसँग पनि जोडिएको छ। प्रकृति निरन्तर परिवर्तनशील छ ।
वसन्तमा प्रकृति अंकुराउँछ, गर्मीमा विस्तार र विकास हुन्छ, शरदमा उत्पादन संकलन हुन्छ र हिउँदमा प्रकृति आफ्नो ऊर्जा संरक्षणतर्फ फर्किन्छ । यही प्राकृतिक चक्रलाई चिनियाँ चिकित्साले वसन्तमा उत्पत्ति, ग्रीष्ममा विकास, शरदमा संकलन र हिउँदमा संरक्षणका रूपमा व्याख्या गर्छ ।
‘ह्वाङ्दी नेइजिङ’ को ‘सि छी थ्याओ शन ता लुन’ अध्यायमा मानिसले आफ्नो जीवनशैली, व्यवहार र मानसिक अवस्थालाई पनि यही ऋतुचक्रसँग समायोजन गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।
त्यसैले, खानपान पनि प्रकृतिको यही लयसँग जोडेर हेर्न सकिन्छ ।
परम्परागत चिनियाँ चिकित्साको दृष्टिमा कुनै खाद्य पदार्थ कुन मौसममा उत्पादन भयो, कुन भूगोलमा हुर्कियो र त्यसको प्राकृतिक स्वभाव कस्तो छ भन्ने कुराले पनि त्यसको शरीरमा पर्ने प्रभावलाई निर्धारण गर्छ।
यही कारण मौसमी र स्थानीय खानालाई विशेष महत्व दिइन्छ । वसन्त नयाँ जीवनको सुरुवातको ऋतु हो । जमिनमा नयाँ पालुवा पलाउँछन्, रूखमा कोपिला लाग्छन् र प्रकृति विस्तारतर्फ अघि बढ्छ ।
त्यसैले, यस समयमा कोमल पालुवा, हरिया पात तथा ताजा मौसमी वनस्पतिजन्य खाद्य पदार्थ खानुलाई परम्परागत चिनियाँ चिकित्साले उपयुक्त मान्छ ।
नेपाली घरमा पनि यसको आफ्नै रूप छ । जाडो सकिएपछि बजारमा आउने निगुरो, तामा, रायोको साग, चम्सुर, पालुंगो, लसुनका कलिला पात र कर्कलोका नयाँ पातजस्ता मौसमी खानेकुरा हाम्रो परम्परागत भान्सामा प्रवेश गर्छन् ।
गाउँघरमा खेतबारीमा जे उम्रियो, त्यसैलाई टिपेर पकाउने चलन कुनै आधुनिक खानपानको प्रवृत्ति होइन; यो पुस्तौँदेखि चलेको ऋतुचक्रसँग जोडिएको जीवनशैली हो।
वसन्तको यही स्वभावलाई चिनियाँ चिकित्साले सिर्जना, विकास र संरक्षणसँग जोड्छ । ‘ह्वाङ्दी नेइजिङ’ मा वसन्तको प्रकृतिबारे जीवनलाई जन्मिन दिनुपर्ने, नष्ट नगर्नुपर्ने, र अनावश्यक रूपमा खोस्न नहुने भाव व्यक्त गरिएको छ ।
त्यसैले, वसन्तमा खानपान मात्र होइन, हाम्रो व्यवहार पनि प्रकृतिको यही स्वभावसँग मिल्नुपर्छ भन्ने दर्शन पाइन्छ । अनावश्यक हिंसा, विनाश र प्रकृतिमाथिको अत्यधिक हस्तक्षेप घटाउनु पनि यसै सोचको एउटा हिस्सा हो ।
ग्रीष्ममा तापक्रम बढ्छ र पसिनामार्फत शरीरबाट पानी तथा इलेक्ट्रोलाइट गुम्न सक्छ । त्यसैले, पर्याप्त पानी र आवश्यक इलेक्ट्रोलाइटको आपूर्ति महत्वपूर्ण हुन्छ । नेपालको तराईमा वैशाख–जेठको गर्मी र काठमाडौं उपत्यकाको गर्मी एउटै हुँदैन ।
त्यसैले, मौसमअनुसार शरीरको आवश्यकता पनि फरक हुन्छ। गर्मीमा मोही, लस्सी, काक्रो, खरबुजा, तरबुजा र अन्य मौसमी फलफूलजस्ता पानीयुक्त खानेकुरा उपयोगी हुन सक्छन् ।
अत्यधिक पसिना आउने अवस्थामा पानीसँगै शरीरलाई आवश्यक इलेक्ट्रोलाइटको पनि ख्याल गर्नुपर्छ । तर परम्परागत चिनियाँ चिकित्साको दृष्टिमा गर्मी बढ्यो भन्दैमा शरीरलाई अत्यधिक चिसो बनाउनु उपयुक्त हुँदैन । बरफ, आइसक्रिम र अत्यन्त चिसा पेय पदार्थले तत्काल शीतलता दिए पनि सबै व्यक्तिका लागि ती उपयुक्त हुन्छन् भन्ने छैन । हाम्रो आफ्नै परम्परामा पनि गर्मीमा सातु, जौ परिकार, मोही वा हल्का झोलयुक्त खाना खाने चलन थियो । यसमा एउटा व्यावहारिक कुरा देखिन्छ ।
शरद् ऋतुमा मौसम क्रमशः सुख्खा हुँदै जान्छ । परम्परागत चिनियाँ चिकित्साले यसलाई शरीरमा शुष्कता बढ्न सक्ने समयका रूपमा हेर्छ । त्यसैले यस समयमा पानीयुक्त, ताजा र मौसमी फलफूल तथा शरीरलाई पोषण र आद्र्रता प्रदान गर्ने खाद्य पदार्थलाई प्राथमिकता दिन सकिन्छ । नेपालमा वर्षा सकिएपछि बजारमा आउने स्याउ, नासपती, अम्बा, मौसम र सुन्तलाजस्ता फलफूल यसको सजिला उदाहरण हुन् ।
पहाडी क्षेत्रमा स्थानीय बगैँचामा फलेको फल र तराईमा पाक्ने मौसमी फल दुवै आफ्नो भूगोल र मौसमका उपहार हुन् । एउटा सरल सिद्धान्त, जुन मौसममा जे उत्पादन हुन्छ, सम्भव भएसम्म त्यही मौसमको खाना खानु । वर्षभरि एउटै फल वा तरकारी खोजिरहनुभन्दा ऋतु परिवर्तनसँगै खानपानमा पनि विविधता ल्याउनु प्रकृतिको चक्रसँग नजिक हुने एउटा तरिका हो ।
हिउँदलाई परम्परागत चिनियाँ चिकित्साले संरक्षण वा सङ्कुचनको ऋतु मान्छ । त्यसैले यस समयमा जमिनमुनि उत्पादन हुने कन्दमूल, बीउ, नट्स तथा संरक्षण गरेर राखिएका खाद्य पदार्थलाई प्राथमिकता दिन सकिन्छ ।
नेपाली भान्सामा यसको उदाहरण प्रशस्तै छन् । तरुल, सखरखण्ड, पिँडालु, आलु, मुला र गाजरजस्ता कन्दमूल हिउँदमा स्वादिलो मात्र हुँदैनन्, हाम्रो स्थानीय कृषि परम्परासँग पनि जोडिएका हुन्छन् ।
त्यस्तै, शरदमा तयार पारेर हिउँदमा खाने गुन्द्रुक, सिन्की, मस्यौरा, सुकुटी, सुकाएको मुला र सुकाएको भन्टाजस्ता परिकार हाम्रो परम्परागत खानेकुराहरू हुन् । हिउँदमा गाउँघरको भान्सामा गुन्द्रुकको झोल, मस्यौराको तरकारी, भटमास, तिल, घिउ, तरुल वा सखरखण्डजस्ता परिकार आउनु भनेको वर्षभरि उत्पादन भएको खाद्य सामग्रीलाई संरक्षण गरेर अर्को ऋतुसम्म पुर्याउने पुरानो ज्ञान हो ।
खानपानमा ऋतु जत्तिकै महत्वपूर्ण अर्को कुरा हो, स्थान । कुनै ठाउँको माटो, पानी, हावापानी र कृषि प्रणाली अर्को ठाउँभन्दा फरक हुन्छ । त्यसैले, त्यहाँ बस्ने मानिसको परम्परागत खानपान पनि त्यही वातावरणअनुसार विकसित भएको हुन्छ । नेपालमै हेर्ने हो भने तराईको चामल, गहुँ, मकै र माछा, मध्यपहाडको कोदो, फापर, मकै, आलु र गुन्द्रुक तथा हिमाली भेगको जौ, फापर, आलु र स्थानीय पशुपालनमा आधारित खाना आ–आफ्नो भूगोलसँग जोडिएका छन् ।
काठमाडौं उपत्यकाको परम्परागत नेवारी खानामा पनि यही स्थानीयताको सुन्दर उदाहरण देखिन्छ । चिउरा, भटमास, आलु, गुन्द्रुक, अचार, बारा, योमरीजस्ता परिकार केवल स्वादका वस्तु होइनन्; ती यहाँको कृषि, संस्कृति, मौसम र सामाजिक जीवनसँग जोडिएका छन् ।
नेपाली समाजमा भनाइ छ– एक ठाउँको माटोले त्यही ठाउँको मानिसलाई पाल्छ । चिनियाँ परम्परागत चिकित्साको स्थानीय खानपानसम्बन्धी दृष्टिकोणसँग यो धारणा केही हदसम्म मिल्छ । यसको अर्थ बाहिरको खाना खानै हुँदैन भन्ने होइन ।
काठमाडौंमा बस्ने मानिसले मुस्ताङको स्याउ खान सक्छ, इलामको चिया पिउन सक्छ वा तराईको माछा खान सक्छ । प्रश्न विविधता होइन; आफ्नो दैनिक खानपानको आधार के हो भन्ने हो ।
पुरानो चिनियाँ चिकित्सामा नयाँ ठाउँको पानी, माटो, हावापानी र खानपानसँग शरीर अभ्यस्त नहुन सक्ने अवधारणा पाइन्छ । यात्रा गर्दा खानपान र वातावरणमा अचानक आएको परिवर्तनका कारण केही मानिसलाई पाचनसम्बन्धी समस्या हुनु आज पनि असामान्य होइन । त्यसैले नयाँ ठाउँको खानाको स्वाद लिनु एउटा कुरा हो, तर त्यसलाई आफ्नो दैनिक खानपानको आधार बनाउनु अर्को कुरा ।
स्थानीय खाना भन्नाले आफ्नो भूगोलमा उत्पादन हुने, ताजा र मौसमअनुकूल खाद्य पदार्थ हो । काठमाडौंमा बस्ने परिवारका लागि भक्तपुरको काभ्रेको धादिङ, नुवाकोट वा आसपासका जिल्लाबाट आउने तरकारी, फलफूल तथा अन्न पनि स्थानीय खानाको दायरामा पर्न सक्छन् ।
यसरी हेर्दा खेतदेखि थालसम्मको दूरी छोटो हुनु केवल वातावरणीय दृष्टिले होइन, खाद्य पदार्थको ताजापन र स्थानीय कृषि प्रणालीसँगको सम्बन्धका हिसाबले पनि अर्थपूर्ण हुन्छ ।
परम्परागत चिनियाँ चिकित्साको विशेषता भनेको खाद्य पदार्थलाई केवल क्यालोरी, प्रोटिन, बोसो वा भिटामिनका आधारमा मात्र नहेर्नु हो । त्यसले खाद्य पदार्थको स्वाद, तापीय प्रकृति, उत्पादन हुने स्थान र ऋतुलाई पनि विचार गर्छ ।
उदाहरणका लागि, जाडोमा उत्पादन हुने बाँसको टुसा र वसन्तमा उम्रिने बाँसको टुसा आधुनिक पोषण विज्ञानका दृष्टिले एउटै समूहका खाद्य पदार्थ हुन् । तर परम्परागत चिनियाँ चिकित्साले तिनको उत्पादन हुने ऋतुका आधारमा फरक मान्छ ।
नेपालमा पनि तामा यसको राम्रो स्थानीय उदाहरण हो । गर्मीमा बाँसको नयाँ टुसा निस्कँदा त्यसलाई टिपेर अचार, तरकारी वा अन्य परिकार बनाइन्छ । तामालाई भाँडाहरूमा खाँदेर लामो समय राखेर पनि खाइन्छ ।
त्यस्तै, ओसिलो वातावरणमा उम्रिने च्याउलाई परम्परागत दृष्टिले शीतल र ओसिलो प्रकृतिसँग जोडिन्छ । नेपालका पहाडी तथा वन क्षेत्रमा पाइने विभिन्न स्थानीय च्याउलाई पुस्तौँदेखि मौसमी खानेकुराका रूपमा प्रयोग गरिँदै आएको छ । यद्यपि, जंगली च्याउमा विषालु प्रजाति पनि हुन सक्ने भएकाले पहिचान नभएको जंगली च्याउ खानु हुँदैन । यहाँ एउटा महत्वपूर्ण कुरा छुट्याउनुपर्छ ।
यी परम्परागत चिनियाँ चिकित्साका सिद्धान्त हुन्; आधुनिक विज्ञानले ‘ऊर्जा’ वा ‘खाद्य पदार्थको ऋतुजन्य सूचना’ लाई यही अर्थमा प्रमाणित गरेको छैन । त्यसैले परम्परागत ज्ञानलाई त्यसकै सैद्धान्तिक सन्दर्भमा बुझ्नु आवश्यक हुन्छ ।
आधुनिक पोषण विज्ञानले कुखुरा र सुँगुरको मासुलाई मुख्यतः तिनमा पाइने प्रोटिन, बोसो, भिटामिन र खनिजका आधारमा तुलना गर्छ । परम्परागत चिनियाँ चिकित्साले भने तिनको ‘प्रकृति’ र शरीरमा पार्ने प्रभावलाई पनि फरक रूपमा हेर्छ । परम्परागत सिद्धान्तमा आकाशमा उड्ने चराचुरुङ्गीलाई तुलनात्मक रूपमा ‘तप्त’, पानीमा बस्ने जीवलाई ‘शीतल’ र जमिनमा बस्ने जीवलाई बीचको प्रकृतिको मान्ने गरिन्छ । यही आधारमा कुखुरा र हाँसलाई पनि फरक दृष्टिले हेरिन्छ ।
यसलाई नेपाली भान्सासँग जोडेर हेर्ने हो भने कुखुराको झोल, कुखुरा–च्याउ, हाँसको मासु वा स्थानीय शैलीमा पकाइने मासु सबैमा पकाउने तरिकाले ठूलो फरक पार्छ । एउटै कुखुराको मासु कम तेल, कम मसला र झोलमा पकाउँदा र धेरै तेलमा डुबाएर खुर्सानी–मसलासहित पकाउँदा भोजनको स्वरूप नै फरक हुन्छ।
त्यसैले प्रश्न केवल ‘मासु खाने कि नखाने?’ होइन, कस्तो मासु, कति र कसरी पकाएर खाने भन्ने पनि हो । तर कुनै एक खाद्य पदार्थलाई बालबालिकाको टन्सिलाइटिस, अति सक्रियता वा वयस्कको अनिद्राको प्रत्यक्ष कारण मान्नु उचित हुँदैन । यस्ता स्वास्थ्य समस्याका धेरै सम्भावित कारण हुन्छन् र तिनलाई समग्र रूपमा मूल्याङ्कन गर्नुपर्छ ।
खानपानको अर्को महत्वपूर्ण पक्ष हो, भोक । निश्चित समयमा खाना खानु व्यवस्थित जीवनशैलीका लागि उपयोगी हुन सक्छ । तर भोक, तृप्ति र शरीरका अन्य प्राकृतिक संकेतलाई पूर्ण रूपमा बेवास्ता गर्नु उचित हुँदैन । विशेषगरी बालबालिकाको हकमा यो कुरा महत्वपूर्ण छ । ‘समय भएको छैन, त्यसैले खान पाइँदैन’ वा ‘समय भयो, त्यसैले जसरी पनि खानुपर्छ’ भन्ने नियमले बच्चाको प्राकृतिक भोक र तृप्तिको संकेतलाई कमजोर बनाउन सक्छ ।
हाम्रो परम्परागत घरायसी ज्ञानमा पनि बच्चालाई भोक लागेपछि खुवाउने र पेट भरिएपछि रोक्ने व्यवहार धेरै ठाउँमा स्वाभाविक रूपमा देखिन्थ्यो । स्वस्थ खानपान सिकाउनु भनेको केवल घडी हेरेर खाना खुवाउनु होइन; भोक लागेको बेला बुझ्ने, पर्याप्त भएपछि रोक्ने र स्वस्थ खाद्य पदार्थ रोज्ने क्षमता विकास गर्नु पनि हो ।
खाद्य पदार्थको प्राकृतिक स्वरूपलाई मानिसले पकाउने, सुकाउने, फर्मेन्टेसन गर्ने वा अन्य विधिबाट परिवर्तन गर्दै आएको छ । परम्परागत चिनियाँ चिकित्सामा औषधीय जडीबुटीलाई प्रयोग गर्नुअघि विशेष प्रक्रियाबाट प्रशोधन गर्ने परम्परा छ । खानामा पनि यस्तै प्रक्रिया देखिन्छ । दूधबाट दही बनाउँदा, अन्नलाई फर्मेन्टेसन गर्दा वा तरकारीलाई सुकाएर राख्दा मूल खाद्य पदार्थको स्वरूप र गुणमा परिवर्तन आउँछ। नेपालमा यसको उदाहरण खोज्न टाढा जानुपर्दैन। गुन्द्रुक, सिन्की, मस्यौरा, तामा, अचार, दही र मोही हाम्रो पुस्तौँ पुराना खानेकुरा हुन् ।
आज हामी स्वस्थ खानपानका लागि नयाँ–नयाँ डाइट, सुपरफुड र पोषणसम्बन्धी प्रवृत्ति खोजिरहेका छौँ । तर हाम्रा हजुरबा–हजुरआमाको भान्सामा एउटा अनौपचारिक ‘ऋतु पात्रो’ पहिले नै थियो । वसन्तमा तामा र निगुरो, गर्मीमा काक्रो र मोही, वर्षामा मकै र हरिया साग, शरदमा मौसमी फलफूल र नयाँ अन्न, हिउँदमा तरुल, सखरखण्ड, गुन्द्रुक, सिन्की र मस्यौरा ।
आजको जीवनशैलीले यो चक्र धेरै हदसम्म बदलिदिएको छ । सुपरमार्केटमा वर्षभरि लगभग उस्तै फलफूल र तरकारी पाइन्छन् । फ्रिज र आधुनिक आपूर्ति प्रणालीले मौसमको सीमालाई धेरै हदसम्म हटाइदिएको छ । यो सुविधा महत्वपूर्ण छ । तर सुविधा बढ्दै जाँदा मौसमअनुसार खाने हाम्रो पुरानो बानी हराउँदै त छैन ? भन्ने प्रश्न पनि उठ्छ । खानाको उद्देश्य शरीरलाई पोषण, ऊर्जा र आवश्यक तत्त्व प्रदान गर्नु हो ।
त्यसैले कुनै एउटा आहार सिद्धान्त सबै मानिसमा समान रूपमा लागू हुँदैन । उमेर, स्वास्थ्य अवस्था, शारीरिक गतिविधि, वातावरण, संस्कृति र व्यक्तिगत आवश्यकताअनुसार आहार फरक हुन्छ ।
तर परम्परागत चिनियाँ चिकित्साले हामीलाई एउटा रोचक दृष्टिकोण दिन्छ । प्रकृतिको लयलाई पनि खानपानको हिस्सा बनाऊ । वसन्तमा प्रकृतिसँगै नयाँपन स्वीकार गरौँ, गर्मीमा शरीरमा पानी र इलेक्ट्रोलाइटको सन्तुलन राखौँ, शरद्मा मौसमी फलफूल र पानीयुक्त खाद्य पदार्थ रोजौँ र हिउँदमा संरक्षण तथा पोषणलाई प्राथमिकता दिऔँ । र, सबैभन्दा महत्वपूर्ण– आफ्नो माटो र मौसमलाई नबिर्सौँ ।
प्रतिक्रिया 4