News Summary
Generated by OK AI. Editorially reviewed.- चिकित्सकको सल्लाहबिना उच्च मात्राका भिटामिन डीका चक्की लामो समयसम्म सेवन गर्दा हाइपरक्याल्सिमिया र मिर्गौलामा गम्भीर असर पर्न सक्छ।
घामबाट पाइने भिटामिन डी शरीरका लागि आवश्यक पोषक तत्व हो ।
हड्डी बलियो बनाउन, मांसपेशीको सामान्य काममा सहयोग गर्न र शरीरमा क्याल्सियमको सन्तुलन कायम राख्न यसको महत्त्वपूर्ण भूमिका हुन्छ । तर यसको कमी पूरा गर्ने नाममा जथाभावी चक्की खान थाल्नुभयो भने फाइदाको सट्टा हानि हुन सक्छ ।
पछिल्लो समय भिटामिन डीको कमीबारे जनचेतना बढेसँगै यसको सप्लिमेन्ट सेवन गर्नेहरू पनि बढेका छन् । कतिपयले चिकित्सकको सल्लाहबिना नै उच्च मात्राका भिटामिन डीका चक्की लामो समयसम्म सेवन गरिरहेका हुन्छन् । तर शरीरलाई आवश्यकताभन्दा बढी भिटामिन डी सेवन गर्दा विभिन्न स्वास्थ्य समस्या आउन सक्छन्।
त्यसैले भिटामिन डी खानुअघि यसको आवश्यकता, सही मात्रा र बढी सेवन गर्दा देखिन सक्ने असरबारे जान्नु आवश्यक छ।
भिटामिन डी बढी हुँदा शरीरमा के हुन्छ ?
भिटामिन डीले शरीरलाई खानाबाट क्याल्सियम र फस्फोरस अवशोषण गर्न मद्दत गर्छ । यी खनिज हड्डी र दाँतको स्वास्थ्यका लागि महत्त्वपूर्ण छन् । तर लामो समयसम्म अत्यधिक मात्रामा भिटामिन डी सप्लिमेन्ट सेवन गर्दा आन्द्राबाट आवश्यकताभन्दा बढी क्याल्सियम अवशोषण हुन सक्छ । यसले रगतमा क्याल्सियमको मात्रा सामान्यभन्दा बढी बनाउँछ । यस्तो अवस्थालाई हाइपरक्याल्सिमिया भनिन्छ ।
हाइपरक्याल्सिमिया हुँदा वाकवाकी लाग्ने, बान्ता हुने, असामान्य रूपमा तिर्खा लाग्ने, मांसपेशी कमजोर हुने र बारम्बार पिसाब लाग्ने जस्ता लक्षण देखिन सक्छन् । गम्भीर अवस्थामा यसले मुटु, स्नायु प्रणाली र मिर्गौलामा समेत असर पुर्याउन सक्छ ।
भिटामिन डीको विषाक्तता प्रायः लामो समयसम्म अत्यधिक मात्रामा सप्लिमेन्ट सेवन गर्दा हुन्छ । सामान्य अवस्थामा घाम तापेर वा खानाबाट मात्रै भिटामिन डी प्राप्त गर्दा यस्तो समस्या हुने सम्भावन रहँदैन ।
मिर्गौलामा पर्न सक्छ गम्भीर असर
रगतमा क्याल्सियमको मात्रा बढ्दा मिर्गौलाले पिसाबमार्फत बढी क्याल्सियम बाहिर निकाल्नुपर्ने हुन्छ । यसले पिसाबमा क्याल्सियमको मात्रा बढाएर मिर्गौलामा पत्थरी बन्ने जोखिम बढाउन सक्छ ।
गम्भीर अवस्थामा मिर्गौलाको तन्तुमै क्याल्सियम जम्मा हुन सक्छ, जसलाई नेफ्रोक्याल्सिनोसिस भनिन्छ । यसले मिर्गौलाको कार्यक्षमतामा असर पुर्याउन सक्छ । लामो समयसम्म यस्तो अवस्था रहेमा मिर्गौलाको कार्यक्षमता घट्न सक्छ ।
लड्ने र हड्डी भाँचिने जोखिम बढ्न सक्छ
भिटामिन डी बढी सेवन गर्दैमा हड्डी थप बलियो हुन्छ भन्ने हुँदैन । केही अध्ययनले विशेषगरी वृद्धवृद्धालाई एकैपटक अत्यधिक मात्रामा भिटामिन डी दिँदा लड्ने र हड्डी भाँचिने जोखिम बढ्न सक्ने देखाएका छन्।
उदाहरणका लागि, वर्षमा एकपटक ५ लाख आईयू भिटामिन डी दिइएको एउटा अध्ययनमा वृद्ध महिलामा लड्ने र हड्डी भाँचिने जोखिम बढेको पाइएको थियो । त्यसैले, हड्डी बलियो बनाउने उद्देश्यले भन्दैमा आवश्यकताभन्दा बढी वा एकैपटक अत्यधिक मात्रा भिटामिन डी सेवन गर्नु उचित हुँदैन ।
भिटामिन डीका चक्की खाँदा केमा ध्यान दिने ?
भिटामिन डी शरीरका लागि आवश्यक भए पनि यसको मात्रा व्यक्तिको उमेर, स्वास्थ्य अवस्था, खानपान र शरीरमा रहेको भिटामिन डीको स्तरअनुसार फरक हुन सक्छ ।
चिकित्सकको सल्लाहबिना उच्च मात्राका भिटामिन डीका चक्की लामो समयसम्म सेवन गर्नु हुँदैन । भिटामिन डीको कमी छ कि छैन भन्ने शंका भएमा आवश्यकताअनुसार रगत परीक्षण र चिकित्सकीय परामर्श लिन सकिन्छ । शरीरमा भिटामिन डीको स्तर जाँच गर्न सामान्यतया २५–हाइड्रोक्सी भिटामिन डी परीक्षण गरिन्छ ।
विशेषगरी मिर्गौलाको समस्या भएका, मिर्गौलामा पत्थरी हुने गरेका वा रगतमा क्याल्सियमको मात्रा बढी भएका व्यक्तिले भिटामिन डी सप्लिमेन्ट सेवन गर्दा विशेष सावधानी अपनाउनुपर्छ ।
कस्तो अवस्थामा चिकित्सकले भिटामिन डी सिफारिस गर्न सक्छन् ?
शरीरमा भिटामिन डीको कमी देखिएमा, कमीको जोखिम बढी भएमा वा केही हड्डीसम्बन्धी समस्या भएमा चिकित्सकले भिटामिन डीको सप्लिमेन्ट सिफारिस गर्न सक्छन् ।
भिटामिन डीको कमी भएका व्यक्तिलाई चिकित्सकले निश्चित अवधिका लागि उच्च मात्रा पनि सिफारिस गर्न सक्छन् । यस्तो उपचारपछि आवश्यकताअनुसार कम मात्राको नियमित सेवन गर्नुपर्ने हुन सक्छ । त्यसैले, चिकित्सकले तोकेको मात्रा र अवधिभन्दा बढी सेवन गर्नु हुँदैन ।
कति आवश्यक पर्छ ?
सामान्यतया १९ देखि ७० वर्ष उमेरका वयस्कलाई दैनिक ६०० आईयू र ७० वर्षभन्दा माथिका व्यक्तिलाई ८०० आईयू भिटामिन डी आवश्यक पर्छ । वयस्कका लागि दैनिक ४,००० आईयूलाई अधिकतम सहन सकिने मात्रा मानिन्छ । यो दैनिक सेवन गर्नुपर्ने लक्ष्य मात्रा भने होइन ।
भिटामिन डीको कमी भएका व्यक्तिलाई चिकित्सकले आवश्यकताअनुसार निश्चित अवधिका लागि योभन्दा बढी मात्रा पनि सिफारिस गर्न सक्छन् । याद राखौँ, शरीरलाई आवश्यक पोषक तत्त्व पर्याप्त मात्रामा लिनु महत्त्वपूर्ण हो । तर बढी खाँदैमा बढी फाइदा हुन्छ भन्ने हुँदैन । भिटामिन डीको सही मात्रा र सेवन अवधि निर्धारण गर्न चिकित्सकीय सल्लाह लिनु नै सुरक्षित उपाय हो ।
प्रतिक्रिया 4