+
+

लोकतन्त्र, निर्वाचन र हाम्रो दायित्व

सूर्यनारायण चौधरी सूर्यनारायण चौधरी
२०७९ वैशाख २५ गते १०:५४

निर्वाचन हो– सार्वभौम जनताले आफूलाई प्राप्त अधिकारको लोकमत मापन गर्ने वैधानिक विधि । मतलाई सीटमा रूपान्तरण गर्ने प्रणाली । लोकतन्त्रको संरक्षण र प्रवद्र्धनका लागि जनताको अभिमतलाई प्रतिनिधिको रूपमा रूपान्तरित गर्ने वैधानिक तरिका ।

दुई वा दुईभन्दा बढी उम्मेदवार वा दल मध्येबाट निर्वाचित गर्न २०७९ साल वैशाख ३० गते ७५३ स्थानीय तहमा हुन गइरहेको निर्वाचनलाई पारदर्शी, निष्पक्ष र स्वच्छ बनाउनु हामी सबैको महत्वपूर्ण दायित्व हो ।

कुनै पनि देशको भावी नीति, योजना, कार्यक्रम सम्बन्धी निर्णयको लागि शासकीय प्रणालीको केन्द्रदेखि स्थानीय स्तरसम्म प्रतिनिधि चयन गर्ने सबैभन्दा महत्वपूर्ण विधि नै निर्वाचन हो । निर्वाचन कुनै पदका लागि गरिने प्रतिस्पर्धा हो, जुन मतदाताको मतमा आधारित हुन्छ ।

नेपालको सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा निहित हुने व्यवस्था रहेको छ । यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरी प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था रहेको छ । लोकतन्त्र देशको शासन व्यवस्थामा जनता आफैं वा आफ्नो प्रतिनिधि मार्फत सहभागी हुने र निर्णय गर्न पाउने अधिकारसहितको शासन व्यवस्था हो ।

लोकतन्त्रमा जनताले लेख्ने, बोल्ने, छाप्ने, सभा–संगठन गर्न पाउने, पार्टी खोल्ने र त्यसमा सहभागी हुन पाउने, प्रतिनिधि चयन गर्न र सरकार बनाउन पाउने जस्ता नागरिक तथा राजनीतिक अधिकार हुन्छन् । जनतालाई यति धेरै अधिकार प्राप्त हुने भएकोले सबैले लोकतन्त्रलाई राम्रो शासन प्रणाली मान्दछन् र हामीले पनि यसको सम्मान गर्नुपर्दछ ।

अर्को शब्दमा, लोकतन्त्र जनताद्वारा जनताकै निमित्त जनताले शासन गर्ने व्यवस्था हो । लोकतन्त्र मानव स्वतन्त्रताको संरक्षण गर्ने सिद्धान्त पनि हो । यसले स्वतन्त्रतालाई संस्थागत गर्न सहयोग गर्दछ । लोकतन्त्रमा बहुमतको सम्मान गर्दै अल्पसंख्यकहरूको मौलिक अधिकारको संरक्षण समेत हुन्छ ।

लोकतन्त्र बहुलतामा आधारित एवं विविधतायुक्त हुन्छ । लोकतन्त्रले आवधिक रूपमा स्वतन्त्र तथा निष्पक्ष निर्वाचनको माध्यमबाट सबै नागरिकलाई शासन व्यवस्थामा सहभागी हुने मौका प्रदान गर्दछ । त्यसैले जनताले निर्वाचनको माध्यमबाट आफ्ना प्रतिनिधिहरू छनोट गरी लोकतान्त्रिक सरकार स्थापित गरी मुलुकको शासन सञ्चालनमा सहभागी हुन्छन् ।

लोकतन्त्रमा विभिन्न राजनीतिक दल तथा उम्मेदवारबीच स्वच्छ र स्वतन्त्र प्रतिस्पर्धा हुन्छ । सबै जनता समान हुन्छन् र उनीहरूको स्वतन्त्रताको अधिकार सुनिश्चित हुनुपर्छ । सरकारलाई जनताप्रति उत्तरदायी बनाउन आवधिक निर्वाचन हुनु अनिवार्य छ । आवधिक निर्वाचनले सरकार एवं राजनीतिक दललाई समय–समयमा जनमतको कसीमा आफूलाई योग्य प्रमाणित गराउनुपर्ने अवस्था सृजना गर्छ ।

लोकतन्त्रका मूलभूत मूल्य-मान्यता

सरकार नागरिकप्रति जिम्मेवार हुनुपर्छ । नागरिकलाई ढाँट्नुहुँदैन र सही सूचना सम्प्रेषण गर्छ भन्ने विश्वास सबैलाई हुन्छ । सबै नागरिकलाई समान अधिकार, भूमिका र अवसरको अवस्था हुन्छ । यसमा विधिको शासन हुन्छ । व्यक्तिबाट होइन, कानुन बमोजिम शासन व्यवस्था सञ्चालन हुन्छ ।

स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्‍याउँदछ । लोकतन्त्रको स्वस्थता र सबलता अनि शासनको वैधताका लागि आवधिक निर्वाचन अपरिहार्य छ ।

कानुनले सबैलाई समान र निष्पक्ष अधिकार प्रदान गरेको हुन्छ । विविधतालाई सबैले आत्मैदेखि स्वीकार्दछन् । संस्कृति, भेषभुषा, भाषा, धर्म आदिलाई शक्तिको रूपमा ग्रहण गरिएको हुन्छ । सरकार वा अन्य कसैबाट कुनै प्रकारको भय, हिंसा वा मृत्युको त्रास नभएको जीवन बाँच्न पाउने अवस्था हुन्छ ।

स्वतन्त्रतामा सरकारबाट कुनै प्रकारको दबाव नहुने, नागरिकले स्वतन्त्रपूर्वक सोच्न, काम गर्न, अरूको अधिकार हनन नगरी खुसीको खोजी गर्न पाउने स्वतन्त्रता हुन्छ । सबै सरकारी शक्तिको स्रोत जनता हुन् भन्ने मान्यता स्थापित भएको हुन्छ । देशभक्त जनताले देशले अँगालेका मूल्य र मान्यताप्रति समर्पण र श्रद्धा व्यक्त गर्दछन् ।

लोकतन्त्रका आधारभूत विशेषता

स्वतन्त्र, संवैधानिक निर्वाचन व्यवस्थापन गर्ने निकायले स्वतन्त्र र निष्पक्ष रूपमा निर्धारित समयमा सञ्चालन हुने निर्वाचन पद्धतिले आवधिक निर्वाचन मार्फत जनमतका आधारमा सरकार चयन हुने व्यवस्था रहेको हुन्छ । यसले विश्वव्यापी मानवअधिकारका आधारभूत सिद्धान्त बमोजिमका अधिकारको संरक्षण र प्रवद्र्धनमा जोड दिएको हुन्छ ।

सरकारका दिने अधिकार र कर्तव्य स्पष्ट पारिएको तथा आपसी शक्ति–सन्तुलनको उचित व्यवस्था भएको लोकतन्त्रमा संविधानले तोकेको उमेर पुगेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था हुन्छ ।

कानुनको दृष्टिमा सबै समान, कानुन भन्दा माथि कोही नहुने व्यवस्थाको साथै सार्वजनिक महत्व र चासोका विषयमा व्यक्तिलाई सूचना माग्ने र पाउने अधिकार तोकिएको हुन्छ । यति मात्र नभएर दलीय आधारमा राजनीतिक क्रियाकलाप सञ्चालन हुने, निर्वाचन र सरकार गठन हुने संसदीय शासन प्रणाली नै लोकतन्त्रका आधारभूत विशेषता हुन् ।

लोकतन्त्रमा निर्वाचनको आवश्यकता, महत्व र उद्देश्य

आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । निर्वाचनलाई लोकतन्त्रको आत्मा मानिन्छ । स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्‍याउँदछ । लोकतन्त्रको स्वस्थता र सबलताका लागि आवधिक निर्वाचन अपरिहार्य छ । यस कुरालाई नेपालको संविधानले आत्मसात् गरेको छ ।

लोकतन्त्रको संस्थागत विकास गर्नका लागि निर्वाचनको आवश्यकता पर्दछ । निर्वाचन विनाको लोकतन्त्र र लोकतान्त्रिक मूल्य–मान्यता विनाको निर्वाचनको कुनै महत्व हुँदैन । सामाजिक समावेशीकरणका लागि निर्वाचन अत्यावश्यक विधि हो ।

स्वतन्त्र र निष्पक्ष निर्वाचनले मतदातालाई आफ्नो मत प्रकट गर्ने अवसर दिन्छ, जसमार्फत उनीहरूले आफ्ना नेताहरू छान्न र आफू कसरी शासित हुन चाहन्छन् भनी राय प्रकट गर्न पाउँछन् । शासनको वैधताका लागि निर्वाचन अपरिहार्य छ । लोकतान्त्रिक प्रणालीमा सरकारको वैधताको प्रणेता जनता बाहेक अर्को हुँदैन ।

सार्वभौमसत्ता सम्पन्न जनताले आफूमा निहित रहेको सार्वभौमसत्ताको अभ्यास गर्नु हो । आवधिक निर्वाचनको माध्यमबाट लोकतन्त्रको सम्वद्र्धन र विकास गर्दछ । यसले मतदाताको सार्वभौम अधिकारलाई सुनिश्चित गर्ने गर्दछ । निर्वाचनले गर्दा विधिको शासन स्थापना हुन्छ अनि सरकारलाई जनताप्रति जवाफदेही बनाउनु हो ।

मतदान किन गर्ने ?

लोकतन्त्रमा नागरिकले शासन व्यवस्थामा सहभागी हुने पहिलो पाइला भनेको मतदानमा सहभागी हुनु हो । हामीले आफूलाई मनपरेको राजनीतिक दल वा उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न सक्दछौं । त्यस्तै हामीले चित्त नबुझेको राजनीतिक दल वा उम्मेदवारलाई पराजित पनि गर्न सक्दछौं ।

हामीले मतदान नगरेमा हामी राज्य सञ्चालनप्रति जिम्मेवार नभएको देखिन्छ । निर्वाचनमा एक मत नै निर्णायक हुन सक्दछ । तसर्थ, मतदाताले मत हालेमा आफूले चाहे अनुरूपको उम्मेदवारले जित्न सक्दछन् । बहुमत व्यक्ति तथा पार्टीलाई रुचाएका संस्थाले राज्य संचालनमा जान सहयोग पुर्‍याउँदछ ।

निर्वाचन नभएमा सिर्जना हुनसक्ने परिस्थिति

निर्वाचन नभएमा जनप्रतिनिधिमूलक संस्थाहरू प्रतिनिधिविहीन हुन्छन् । देशमा राजनीतिक नेतृत्वको सही ढङ्गले विकास हुन पाउँदैन । सहभागितामूलक नीतिनिर्माणमा बाधा पुग्न सक्छ । लोकतान्त्रिक अभ्यास हुन पाउँदैन साथै राष्ट्रको अपेक्षित विकास नहुन सक्छ । निरंकुशताले प्रश्रय पाउँछ, नागरिकका हकअधिकार एवं मानवअधिकारको प्रयोगमा बाधा पर्न सक्छ ।

विकासमा जनताको समान सहभागिता सुनिश्चित गर्नुपर्ने मान्यता लोकतन्त्रको सार हो । सामाजिक समावेशिता र विकासमा समताको अवधारणाले प्रवेश पाउनुलाई लोकतन्त्रको महत्वपूर्ण प्रभावको रूपमा लिने गरिएको छ । नागरिकले विकासमा आफ्ना आवश्यकतालाई उजागर र प्राथमिकीकरण गर्ने अधिकार लोकतन्त्रका सुन्दर पक्ष हुन् ।

लोकतन्त्रमा निर्वाचनको अति नै महत्व हुन्छ । निर्वाचन कार्यमा आम नागरिक लगायत हरेक संघ संस्थाहरू आफ्नो विवेकको प्रयोग गरी सहभागी हुनुपर्दछ । यसले केवल व्यक्ति र दल सफल हुँदैन, समग्र राष्ट्रको नै विकास हुन्छ ।

राष्ट्रलाई विकसित र व्यवस्थित बनाउनको लागि राजनीतिमा चासो राख्ने हरेक मानिस सक्रिय हुनुपर्दछ । यसमा युवा लगायत विभिन्न क्षेत्रका बौद्धिक क्षेत्रका व्यक्तिहरू सक्रिय रूपमा सहभागी हुनुपर्दछ । तब मात्र देशले सही निकास र विकास पाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?