+
+

घरको छानो छेडेको पोल सार्न नसकेर थाकेका रोहन

हरि अधिकारी हरि अधिकारी
२०७९ वैशाख २७ गते १३:५८

२७ वैशाख, विराटनगर । विराटनगरको व्यस्त बजार गुद्री चोकबाट करिब पाँच सय मिटर पश्चिममा पर्छ मरिक टोल । विराटनगरको बजार क्षेत्र सरसफाइ गर्ने मजदुरको बसोबास रहेको टोलमा समस्याका लामो सूचि छ । ऐलानी जग्गामा बसेका करिब १२० परिवारमध्ये रोहन मरिक (५५) को समस्या अलिक फरक छ ।

उनको छाप्रोको छाना छेडेर बिजुलीको पोल (खाबो) गाडिएको छ । पोलका कारण उनलाई ज्यान जाने हो कि भन्ने चिन्ता छ । ‘पानी पर्यो भने छानामा करेन्ट लाग्छ,’ सानो झुप्रोमा बसिरहेका उनले भने, ‘छोरालाई ३–४ पटक करेन्ट लागिसक्यो ।’

घरको छानो छेडेको पोल सार्नका लागि उनले पटक पटक जनप्रतिनिधि गुहारे । तर पार लागेन । ‘वडा सदस्य, अध्यक्षहरुलाई कति पटक भनेँ’, उनले भने, ‘हुन्छ भने, तर कसैले काम गरिदिएनन् ।’

बिजुलीको पोलबाट परेको पानी घर भित्रसम्म पुग्छ । पानी रोक्नका लागि उनले पोलमा प्लाष्टिकले बेरेका छन्, तर वर्षा हुँदा प्लाष्टिकले पानी छेक्दैन । परेको पानी सिधै घरभित्रको मिटरमा पुग्ने उनले सुनाए ।

पाँच वर्षअघि भोट माग्न आएका उम्मेदवारलाई विजुलीको पोलले निम्त्याएको समस्या सुनाएका उनले यो पटक आउने दलका उम्मेदवारलाई पनि त्यही समस्या सुनाउँदैछन् ।

विजलीका पोल विद्युत प्राधिकरणले स्थानान्तरण गर्छ । सरसफाइको काम गर्ने उनी पोल सार्नका लागि चुनाव जितेकाहरुले सहयोग नगरेको गुनासो गर्छन् ।

‘मेरो घरमा चार भोट छ,’ मरिक भन्छन्,‘भोट त हाल्नै प¥यो तर काम गर्दैनन् ।’ घरमा विजुलीको पोलबाहेक टोलमा खानेपानी, शौचालय र सडकको समस्या रहेको रोहन बताउँछन् । बाक्लो बस्तीभित्र कल गाड्नका लागि खाली क्षेत्र छैन, खानेपानीको पाइप पनि नपुगेको उनले बताए ।

पाँच वर्षअघि सबै समस्या सामधान गर्छु भन्दै जितेका उम्मेदवारले काम नगरेको स्थानीय कमल मरिक बताउँछन् ।

स्थानीय कल्पना मरिक चुनाव जितेर जाने उम्मेदवार फर्किएर नआउँदा टोलको समस्या सधै उस्तै रहेको बताउँछिन् । उनका अनुसार टोलमा रोजगारीको पनि समस्या छ । भोट माग्न पुगेका उम्मेदवारहरुले रोजगारीको आश्वासन पनि दिइरहेका छन् ।

चार वर्षअघि आएको बाढीले बाटो भत्काएपछि महानगरपालिकाले मूल सडकबाट टोलसम्म पुग्ने बाटो ग्राबेल गरिदियो । त्यसबाहेक महानगरले काम नगरेको स्थानीयको गुनासो छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?