+
+

सुन पसलमा चोरी गरेको आरोपमा तीन जना भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १८:१५

२७ वैशाख, बुटवल । बुटवलको एक सुनचाँदी पसल चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको लखनउका ३५ वर्षीय मोहद जिशान खान, ३६ वर्षीय मोहसिन अब्दुल्लाह खान र २२ वर्षीय मोहम्मद सरिक रहेका छन् ।

बुटवल उपमहानगरपालिका–६ बीपीचोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा १३ वैशाखमा करिब ३ करोड ५० लाख बराबरको सुन र गहना चोरी भएको थियो ।

पक्राउ परेकामध्ये मोहद जिशान खान मुख्य अभियुक्त रहेको र उनी चोरी गरिएको पसलकै छेउको सटरमा मासिक ३० हजार तिर्ने गरी भाडामा बसेका थिए । खानले १२ वैशाख राति ग्याँस कटरले सटर र सेफ काटेर ३ करोड ५० लाख बराबरको सुन र तयारी गहना चोरी गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविन्द्र रेग्मीले बताए ।

उनीहरुलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर ४ महुवारीस्थित खुनगाई कालीदह सडक खण्डमा भारतीय नम्बर प्लेटको गाडी यूपी ३२ एलडब्ल्यू ३१५१ सहित पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।

अभियुक्तहरुबाट पहेंलो सुन जस्तो देखिने १ थान पहेंलो सिक्का, पहेलो सुन जस्तो देखिने बिस्कुट जस्तो धातु १ सय ग्राम ६ सय मिलिग्राम बरामद गरिएको रेग्मीले बताए । यस्तै उनिहरुबाट मोबाईल, भारतीय रुपैया, एटिएम कार्ड लगायतका समानहरु फेला परेको छ ।

चोरी भएको अरु सुन उनीहरुले लुकाएको वा बेचेकोबारे थप अनुसन्धान भइरहेको उनले बताए । अभियुक्त खानले घरधनीलाई विश्वास दिलाउन एक वर्षको भाडा ३ लाख ६० हजार अग्रिम बुझाएका र योजनावद्ध रुपमा चोरी गरेर भारततर्फ फरार भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?