+
+

रुकुम पूर्वमा महिलाको रहस्यमय मृत्यु : एमाले र माओवादीबीच आरोप प्रत्यारोप

माओवादीका तीन स्थानीय नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते २१:०३
प्रतिकात्मक तस्वीर

२८ वैशाख, रुकुम पूर्व । चुनावको मुखमा गाउँबाट हराएकी महिलाको शव भेटिएपछि रुकुम पूर्वमा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच तनाव बढेको छ ।

सोमबार जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–११, तल्लोसेराकी ३८ वर्षीया दुथी बुढा मगरको शव स्थानीय जंगलमा फेला परेको थियो ।

गाउँबाट १९ वैशाखदेखि हराएकी उनको २६ वैशाखमा शव भेटिएपछि माओवादी केन्द्रका नेता तथा वडा नं. ११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्षका उम्मेदवार कुमार सिंह पक्राउ परेका छन् ।

उनीहरुसहितका व्यक्तिले हत्या गरेको दाबीसहित जाहेरी परेपछि तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, रुकुम पूर्वका प्रमुख डीएसपी प्रकाश डाँगीले अनलाइनखबरलाई बताए ।

जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थाले पनि हालसम्म महिलाको मृत्युको कारण चाहिँ खुलिसकेको छैन ।  पोष्टमार्टमका लागि मगरको शव बुटवल लगिएको छ ।

‘पोष्टमार्टमबाट मृत्युको कारण खुलेपछि थप अनुसन्धान अघि बढ्छ’ डाँगीले भने, ‘अहिलेलाई प्रारम्भिक सोधपुछ गरिरहेका छौं ।’

प्रहरीका अनुसार जंगलमा भेटिएको मगरको शवमा आँखामा निलडाम देखिएको छ, त्यसले मगरमाथि लछारपछार भएको हुनसक्ने संकेत दिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

प्रारम्भिक जाँचबुझमा थप गम्भीर चोटपटक देखिएको छैन । ‘पोष्टमार्टमको प्रतिवेदनले जे देखाउँछ, त्यही अनुसार अनुसन्धान अघि बढाउँछौं’ डाँगी भन्छन् ।

स्थानीयका अनुसार १९ वैशाखको साँझ माओवादी र एमालेको चुनाव प्रचार टोलीबीच बजारमा जम्काभेट भएको थियो । त्यहीक्रममा एकजनाले ढुंगा हानेपछि दुईपक्षबीच झडप भएको थियो ।

घटनाबारे थाहा पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो र दुवै पक्षलाई तितरबितर पारेको थियो । गाउँपालिकामा माओवादीविरुद्ध नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन छ ।

घटना भएको भोलिपल्ट दुवै पक्षले जिल्ला प्रहरी कार्यालय, रुकुम पूर्वमा पाँच जना हराएको भन्दै निवेदन दिएको डाँगी बताउँछन् ।

‘त्यो दिन पानी परेकाले टेलिफोनको टावर पनि थिएन, भोलिपल्टसम्म चार जना भेटिनुभयो’ उनले भने, ‘एकजना चाहिँ नभेटिएपछि खोजी गरिरहेका थियौं ।’

प्रहरीका अनुसार मगर खेती किसानी गरेर गुजारा चलाइरहेकी महिला हुन् । घटना भएका दिन एमाले समर्थक उनका भाइ घर नफर्किएपछि उनलाई लिन भन्दै मगर त्यसतर्फ गएको प्रहरीमा दिइएको किटानी जाहेरीमा उल्लेख छ ।

‘अपराध’मा राजनीतिक रङ

हुन त महिलाको मृत्युको कारण खुलिसकेको छैन र उनको राजनीतिक आवद्धता पनि खुलेको छैन । तर चुनावको मुखमा भएका घटनाले राजनीतिक रंग पाइसकेको छ ।

मंगलबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरेर घरदैलो कार्यक्रममा सहभागी नेकपा (एमाले) को महिला कार्यकर्ता मगरलाई अपहरण गरी बेपत्ता र एकहप्ता बन्धक बनाएर क्रुरतापूर्वक हत्या गरेको दाबी गरेका छन् ।

‘शारीरिक र मानसिक यातना दिई क्रुरतापूर्वक हत्या गरेकाले उक्त घटनाको घोर भत्र्सना गर्दै दोषीमाथि अविलम्ब कानूनी कारवाही गर्न जोडदार माग गर्दछौं’ पोखरेलले भनेका छन् ।

तर माओवादीका स्थानीय नेताले चाहिँ झडपका दिन मृतक महिला घटनास्थलमा उपस्थित नभएको दाबी गरेका छन् । माओवादी केन्द्रका जिल्ला इन्चार्ज तेजबहादुर ओली भन्छन्, ‘चुनावमा मतपरिणाम आफ्नो पक्षमा पार्न माओवादीविरुद्ध षड्यन्त्र भएको छ ।’

एमालेको रुकुम पूर्व जिल्ला इन्चार्ज खेममान खड्काले पनि माओवादीका स्थानीय कार्यकर्ताको संलग्नतामा महिलाको अपहरण भएको र हत्या गरिएको शंका आफूहरुलाई रहेको दाबी गरे ।

एमालेले मृतक महिलालाई माओवादीले अपहरण गरेर हत्या गरेको आरोप लगाइरहँदा माओवादी केन्द्रले भने एमाले नियन्त्रणमा रहँदा नै ती महिलाको मृत्य भएको दाबी गरेको छ ।

माओवादी जिल्ला इन्चार्ज ओली झडप हुँदा भाइको चिन्ता गरेर ती महिला पनि आएको र उनी दमको बिरामी समेत भएकाले बेहोस भएर लडेका बेला एमालेले उनलाई लिएर गएको दाबी गरे ।

राति जंगलमा बत्ती बल्यो, भोलिपल्ट शव भटियो
हिमलाल आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी

यो घटनाको अनुसन्धान अझै प्रारम्भिक चरणमै छ । यहाँ सामान्य पोष्टमार्टम गरेर हामीले शव बुटवल पठाएका छौं । १९ गते कांग्रेस–एमाले र माओवादीबीचमा अलिअलि झडप भएको भन्ने छ ।

मृतक महिलाको भाइ पनि त्यो समूहमा भएको र भाइलाई केही भयो कि भनेर दिदी दौडिदै पछि गएको देखिन्छ । त्यतिबेलादेखि हराएको भन्ने थियो । हामी कहाँ हराएको खोजी गरिपाऊँ भन्ने उजुरी परेको थियो । उजुरी १९ गते नै लेखेका रहेछन् तर हामीलाई भोलिपल्ट दिए ।

हराएको भनेपछि आउनुहुन्छ कि भन्ने भयो । उहाँ नआइसकेपछि प्रहरीले खोजी गर्‍यो । हराएकामध्ये अरु भेटिएका थिए । उहाँ नआएपछि प्रहरी परिचालन गरेर खोजतलास भयो ।

त्यही समयमा तीन दिन टेलिफोनको नेटवर्क पुरै ठप्प भयो । प्रहरीको सेटले पनि काम नगर्ने अवस्था थियो । त्यही कारण सबै यथार्थ जानकारी लिन पनि सकिएन । २४ गते राति जंगलमा बत्ती बलेको सूचना आयो, भोलिपल्ट बिहान जाँदा शव प्राप्त भएको हो ।

तीन जनालाई शंकास्पद मानेर नियन्त्रणमा लिएको छ । पुष्टि हुन्छ या हुँदैन त्यो अनुसन्धानपछि नै थाहा होला । उहाँ अस्वस्थ भएको, नभएको भन्ने आधार केही पनि छैन । मेडिकलबाट पुष्टि नभइ यो बारे केही पनि भन्न सकिन्न ।

हेर्नुहोस् नेकपा एमालेको प्रेस विज्ञप्ति

हेर्नुहोस् नेकपा माओवादी केन्द्रको प्रेस विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?