+
+

भरतपुरको मतगणना स्थलमा फलामको बार

सुवास पण्डित सुवास पण्डित
२०७९ वैशाख २९ गते १९:३४

२९ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचको मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि फलामको तारजाली लगाइएको निर्वाचन आयोगले जनाएको छ । भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धन र विपक्षी दलले प्रतिष्ठाको विषय बनाएका छन् ।

चितवन उद्योग संघभित्र रहेको औद्योगिक प्रदर्शनी केन्द्रमा यसपटक मतगणना गर्ने व्यवस्था मिलाइएको छ । प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने ठाउँ बनाइएको छ ।

मतगणना स्थलमा सिसी क्यामरा र फलामको तारजालीको व्यवस्था गरिएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलले जानकारी दिए । ०७४ सालमा भरतपुर कभर्ड हलमा गरिएको मतगणनालाई आयोगले यसपटक प्रदर्शनी केन्द्रमा सारेको हो ।

उम्मेदवारका प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी फलामको बारमा जाली हालिने सूचना अधिकारी पौडेलले जानकारी दिए । मतगणना स्थलमा आठवटा सिसी क्यामरा जडान गरिसकिएको उनले बताए । उनका अनुसार गणनास्थलमा चौविसै घण्टा विद्युत र इन्टरनेटको सुविधा उपलब्ध हुनेछ ।

मतगणना हुने ब्लकको उत्तरतर्फको प्यासेजमा मतपत्र ल्याएर राखिनेछ । मतपत्र राखिएको प्यासेजको पछाडिपट्टि शौचालय छ । मतगणना गर्ने कर्मचारीले मात्रै उक्त शौचालय प्रयोग गर्ने पौडेलले जानकारी दिए ।

०७४ सालको मतगणनामा तत्कालिन मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने पिसाब गर्न शौचालय गएको बेला मतपत्र च्यातिएको थियो । दलका प्रतिनिधिका लागि मतगणना स्थलबाहिर छुट्टै शौचालयको व्यवस्था गरिएको छ ।

मतगणना हुने ब्लकको पश्चिमतिरको एउटा कोठामा पत्रकार बस्ने व्यवस्था गरिएको छ । पत्रकारले मुख्य गेटबाट फोटो र भिडियो लिनसक्ने सूचना अधिकारी पौडेलले बताए । मतगणना स्थलको सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था गरिएको र पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।

भरतपुरको मतगणनाको नतिजा जेठ ५ गतेसम्म आउने अनुमान छ । २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२ मतदाता छन् । महानगरमा ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र रहेका छन् ।

भरतपुर– १० को मतदान केन्द्रमा सबै महिला कर्मचारी

निर्वाचन आयोगले भरतपुर महानगरपालिका–१० स्थित बालमन्दिर आधारभूत विद्यालयका चारवटै मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटाएको छ । नमुना मतदान केन्द्रका रुपमा रहेको सो मतदान केन्द्रमा महिलाहरुलाई मात्रै खटाइएको मूख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलले बताए ।

एउटा मतदान केन्द्रमा पाँच जना कर्मचारी र तीन जना स्वयंसेवक खटिएका छन् । मतदानस्थलमा म्यादी प्रहरीसहित २१ जना सुरक्षाकर्मी खटाइएको छ । मतदानस्थलको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक सुष्मा कठायत नेतृत्वको टोली खटिनेछ । यस मतदानस्थलमा तीन हजार ३४२ मतदाता छन् ।

मतदान अधिकृतका रुपमा खटिएकी भरतपुर महानगरपालिकाकी स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले महिला कर्मचारीले शान्तिपूर्ण र भयरहित ढंगले मतदानको काम सक्ने बताइन् । जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् ।

निर्वाचनको कामअन्तर्गत बिहीबार मतदानस्थलभन्दा तीन सय मिटर वरिपरिको क्षेत्रलाई चार किल्ला प्रमाणित गर्ने, सर्बदलीय बैठक राख्ने, मतदाता परिचयपत्र वितरण गर्ने, निर्वाचन शिक्षा दिने लगायतका कामहरु भइरहेको उनले बताए ।

कहाँ कति मतदाता ? कति मतदानस्थल ?

चितवनका सात पालिकामा गरी तीन लाख ९७ हजार ६८५ जनाले मतदाता छन् । जसमध्ये दुई लाख चार हजार ६६६ महिला, एक लाख ९३ हजार १८ पुरुष र एकजना तेस्रोलिङ्गी छन् । २०७४ मा चितवनमा ३ लाख १३ हजार २ जना मतदाता थिए ।

भरतपुर महानगरपालिकाका एक लाख ८५ हजार ७५२ मतदातामध्ये ८८ हजार ८८४ पुरुष र ९६ हजार ८६७ महिला छन् । गत स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा १ लाख ५० हजार २७४ जना मतदाता थिए ।

पूर्वी चितवनको रत्ननगर नगरपालिकामा ५२ हजार ६४२ मतदाता छन् । त्यसमध्ये २५ हजार ३४६ पुरुष र २७ हजार २९५ महिला छन् । यहाँ २१ वटा मतदानस्थल र ६० वटा मतदान केन्द्र तोकिएका छन् । गत स्थानीय तहको निर्वाचनमा रत्ननगरमा ४३ हजार १ सय ५४ मतदाता रहेका थिए ।

राप्ती नगरपालिकामा ४० हजार ६ सय ४९ मतदाता छन् । पुरुष मतदाताको संख्या २० हजार ४९५ र महिला मतदाताको संख्या २० हजार १५० छ । यहाँ १८ वटा मतदानस्थल र ४७ वटा केन्द्र तोकिएको छ । गत स्थानीय निर्वाचनमा राप्तीमा २९ हजार ९ सय ९८ मतदाता रहेका थिए ।

कालिका नगरपालिकामा ३१ हजार १५७ मतदाता छन् । जसमा पुरुष मतदाता १५ हजार ५६० र महिला मतदाता संख्या १५ हजार ५९७ छन् । यस नगरमा ११ वटा मतदानस्थल र ३७ मतदान केन्द्र तोकिएका छन् । गत निर्वाचनमा २२ हजार ९८७ मतदाता रहेका थिए ।

खैरहनी नगरपालिकामा ४३ हजार ५ सय ३१ मतदाता छन् । पुरुष मतदाता २० हजार ७३२ छन् भने महिला मतदाता संख्या २२ हजार ७९९ छ । खैरहनी नगरपालिकामा १७ मतदानस्थल र ५१ मतदान केन्द्र तोकिएका छन् । गत स्थानीय तहको निर्वाचनमा खैरहनी नगरपालिकामा ३३ हजार २६३ मतदाता थिए ।

माडी नगरपालिकामा २८ हजार २३० मतदाता छन् । जसमा पुरुष मतदाता संख्या १३ हजार ७५८ र महिला मतदाता १४ हजार ५६२ छ । यहाँ १५ मतदानस्थल र ३२ केन्द्र तोकिएको छ । गत स्थानीय तहको निर्वाचनमा माडीमा २१ हजार ६७३ मतदाता रहेका थिए ।

जिल्लाको एक मात्रै गाउँपालिका यसपटक १५ हजार ६३४ मतदाता छन् । पुरुष मतदाताको संख्या ८ हजार २४२ र महिला मतदाताको संख्या ७ हजार ३९२ छ । यहाँ १४ वटा मतदानस्थल र २२ वटा केन्द्र तोकिएका छन् । गत स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिकामा ११ हजार ६५४ मतदाता रहेका थिए ।

निर्वाचनमा ३,६०८ कर्मचारी परिचालन

स्थानीय तह निर्वाचनका लागि ७ वटै पालिकामा गरेर ३ हजार ६०८ कर्मचारी मतदान केन्द्रमा परिचालन गरिएको छ ।

निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले सुरक्षाको व्यवस्थापनदेखि मतपत्र, मतपेटिकासहितका ६१ प्रकारका सामग्री व्यवस्थापन भइसकेको बताए ।

‘सबै जसो काम पूरा भएको छ’ प्रमुख कार्कीले भने, ‘फोटोसहितको मतदाता परिचयपत्र नयाँ मतदातालाई बाँड्ने काम चलिरहेको छ । शुक्रबार बिहान ७ बजेबाट मतदान सुरु हुनेछ ।’

निर्वाचन अधिकृतहरुले यसपटकको स्थानीय चुनावमा चितवनमा जम्मा मतदाताको कम्तीमा करिब ८० प्रतिशत मत खस्ने प्रक्षेपण गरेका छन् । २०७४ सालको चुनावमा चितवनमा ७६.७१ प्रतिशत मत खसेको थियो । यसपटक पनि पहिलेको चुनावमा खसेको मत नघट्ने आकलन गरिएको निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

स्थानीय चुनावबाट चितवनमा मनोनीतसहित ५३० जनप्रतिनिधि निर्वाचित हुँदैछन् । निर्वाचन कार्यालयका प्रमुख कार्कीका अनुसार यसपटक चितवनका सातवटा पालिकामा एक ९५१ जना उमेदवार छन् । २९ वडा रहेको भरतपुर महानगरपालिकामा मात्रै १४७ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् ।

निर्वाचित प्रतिनिधिले पछि तीन जना मनोनीत गर्नेछन् । १६ वडा रहेको रत्ननगर नगरपालिकामा तीन मनोनीतसहित ८५ जना जनप्रतिनिधि निर्वाचित हुने निर्वाचन कार्यालयले जनाएको छ । १३ वडा रहेको खैरहनीमा तीन मनोनीतसहित ७० जना प्रतिनिधि निर्वाचित हुनेछन् । १३ वडा रहेको राप्ती नगरपालिकामा तीन मनोनीतसहित ७० जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

११ वडा रहेको कालिका नगरपालिकामा तीन मनोनीतसहित ६० जना जनप्रतिनिधि चुनिनेछन् । ९ वडा रहेको माडी नगरपालिकामा तीन मनोनीतसहित ५० जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

७ वडा रहेको इच्छाकामना गाउँपालिकामा दुई जना मनोनीतसहित ३९ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । ७ पालिका रहेको चितवनमा गएको स्थानीय तह निर्वाचनमा एमालेले ४, माओवादीले २ र कांग्रेसले १ पालिका प्रमुख जितेका थिए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?