+
+

पोखरा महानगरको निर्वाचन : मतदाता व्यग्र प्रतीक्षामा, उम्मेदवारको छटपटी

भय र विवादरहित चुनावका निम्ति कटिबद्ध कर्मचारी

अमृत सुवेदी अमृत सुवेदी
२०७९ वैशाख २९ गते २०:४६

२९ वैशाख, पोखरा । अघिल्लो स्थानीय तहका निर्वाचनमा मत माग्न आएका राजनीतिक दलका उनै नेताहरु यसपाली पनि विभिन्न आश्वासन देखाउँदै पोखरा बसपार्कका सुकुम्वासी कृष्ण विकको आँगनमा पुगे । सुकुम्बासी समस्या समाधान गर्ने आश्वासन देखाएका दलहरुले यसपाली पनि आफूहरुको मुद्दालाई राजनीतिक हतियार बनाएको ठानेका विकले कसलाई भोट हाल्ने भन्ने निधो गरिसकेका छन् ।

‘प्रत्येक वर्ष हाम्रो मुद्दा पार्टीका घोषणापत्रमा परे । आश्वासन पनि देखाए । यसपालि कसलाई मत हाल्ने भन्ने तय गरिसकेको छु,’ विकले भने, ‘पार्टीहरुको आश्वासन बाँड्ने समय सकियो । अब हाम्रो भोट हाल्ने प्रतीक्षाको घडी पनि नजिकै आइसक्यो ।’

वडा नम्बर ८ का धिरेन्द्र थापा यसपटक मत फेर्ने तयारीका साथ भोट हाल्न जाँदैछन् । थापाले सबै दल र स्वतन्त्र उम्मेदवारका पनि घोषणापत्र पढेका छन् । घोषणापत्र अनुसार कसले कति काम गर्न सक्ने उम्मेदवार हुन् भनेर गमेका थापा भोट खसाल्ने क्षणको पर्खाइमा छन् ।

‘भोट हाल्ने अधिकारको प्रयोग गर्ने हो । सबैको आश्वासन र घोषणापत्र पढियो तर कसले पोखरा बनाउन सक्छ भन्ने निधो गरिसकेको छु,’ थापा भन्छन्, ‘कुनै दल र उम्मेदवारबाट प्रभावित भएर होइन, मनोज्ञानले भोट हाल्ने तयारीमा छु ।’

पोखरा–७ की अञ्जु बरालले पहिलो पटक मत हाल्दैछिन् । गाउँ, समाज, नेता कार्यकर्ता धेरै जना दलका विभक्त भएको भए पनि आफूले दलभन्दा माथि उठेर क्षमतावान उम्मेदवारलाई मत हाल्ने तयारी गरेको उनले सुनाइन् । ‘मेरो थुप्रै साथीहरु पार्टीकै भ्रातृ संगठनमा छन् । म कुनै पार्टीमा पनि संगठित छैन । कसलाई मत खसाल्ने भन्ने मेरो अधिकारलाई बिना डर पहिलो पटक प्रयोग गर्दैछु,’ उनले भनिन्, ‘यसपटक साँच्चिकै पोखरा हाँक्न सक्ने उम्मेदवारको तय गरेकी छु । पहिलो पटक खसाएको मतले असल नेता छानियोस् भन्ने मेरो कामना हो ।’

भूगोलका हिसाबले देशकै ठूलो महानगर पोखरा यो स्थानीय तहको निर्वाचनमा चर्चाको केन्द्रमा छ । पोखरामा हुने प्रतिस्पर्धालाई रोचक ढंगले हेरिएको छ । गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्य र एमालेबाट पूर्व मेयरसमेत रहेका कृष्ण थापाबीचको प्रतिस्पर्धालाई निकै चासोको साथ हेरिएको छ ।

आचार्य र थापासँगै अटेरी अभियानका स्वतन्त्र उम्मेदवार गनेस पौडेल, राप्रपाका शंकर खराल, विवेकशील साझा पार्टीबाट सुशीला अधिकारी लगायत २३ जना मेयरका उम्मेदवार छन् । यस्तै ८ जना उपमेयरका उम्मेदवार छन् ।

कास्कीमा पोखरासहित ५ स्थानीय तह छन् । ग्रामीण वडासमेत जोडिएको पोखरा महानगर, सबैभन्दा सानो र सहज गाउँपालिका रुपादेखि हिमाली क्षेत्रसँग जोडिएको मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाको बिकट भूगोल कास्कीमा छन् ।

कास्कीका ५ स्थानीय तहमा घरदैलो र चुनावी सभा गरेर आफैंले जित्ने दाबी गरेका दलहरु अब मतदाताको निर्णय पर्खिरहेका छन् । मतदाताहरुले दलको कार्यक्रम, घोषणापत्र हेरेर मत हाल्न विश्वासमा छन् उनीहरु ।

स्वयंसेवक, राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई भयरहित वातावरणमा निर्वाचन गराउने जिम्मेवारी पूरा गर्न रातदिन नभनि खटिएको निर्वाचन कार्यालय कास्कीका प्रमुख हुमनाथ पराजुलीले बताए ।

आफ्नो नेतृत्व छान्न मतदाता तम्तयार रहँदा राजनीतिक दल र उम्मेदवारमा भने अब के होला भन्ने छटपटी छ । ‘घरदैलो र चुनावी सभा गरियो । मत सर्वेक्षण गर्दा र कार्यकर्ताको रिपोर्टिङ गर्दा पक्का जितिन्छ जस्तो लागिरहेको छ तर निदाउन सकिएको छैन, छटपटी छ । अब उनै मतदाताको हातमा छ, हाम्रो भविष्य,’ प्रमुख प्रतिस्पर्धी मानिएका मेयरका एक उम्मेदवारले भने, ‘जनतालाई आफ्नो भनेका छौं, अब उहाँहरुले नै निर्णय गर्नुहुन्छ । र, व्यवस्थित पोखरा बनाउन जिम्मेवारी पाउँछु भन्ने लाग्छ ।’

उत्साही मतदाता, कटिबद्ध कर्मचारी

मतदान कार्यक्रमलाई भय र विवादरहित सम्पन्न गर्न कर्मचारी र सुरक्षा संयन्त्र खटिएका छन् । उनीहरुहरुलाई एउटै चिन्ता छ, ‘आफूले नेतृत्व गरेको मतदान केन्द्रलाई कुनै पनि हिसाबले विवादरहित र निष्पक्ष बनाउने ।’

पोखरा–९ को बालप्रभात माविमा रहेको मतदान केन्द्रमा प्रेरणा सेढाईं निर्वाचन गराउन खटिएकी छन् । कुनै पनि हिसाबले विवाद हुन नदिन र सभ्य हिसाबले मतदान सम्पन्न गर्न उनले सबै राजनीतिक दललाई प्रतिबद्धता जनाउन लगाइन् । सर्वदलीय र सर्वपक्षीय बैठक बसेर शान्तिपूर्ण हिसाबले मतदान सम्पन्न गर्न उनको नेतृत्वले तयारी गरिरहेको छ ।

पोखरा–९ कै अर्को मतदान स्थल छ, महेन्द्र मावि । महेन्द्र माविमा २ वटा मतदान केन्द्र छन् । १ हजार ९ सय ३५ जना मतदाता रहेको यो केन्द्रमा बिहीबारै सबै मतदाता परिचय पत्र विवरण गरिसक्ने र शुक्रबार मतदानलाई व्यवस्थित गराउन हदैसम्मको मिहिनेत गरिएको मतदान अधिकृत रामप्रसाद वाग्लेले बताए ।

व्यवस्थित ढंगले मत हाल्ने वातावरण बनाउन डोरी टाँग्ने, मत खसाल्ने ठाउँ बनाउने, पानी परिहाले त्यसको सुरक्षा गर्नेलगायत काम सकेर आफ्नो केन्द्रमा कसैलाई प्रश्न उठाउने ठाउँ नराख्ने गरी टोली खटिएको अर्का मतदान अधिकृत रमेशप्रसाद अधिकारीले बताए । यो केन्द्रमा १५ जना कर्मचारी खटिएका छन् ।

पोखरा– ४ को नवीन उच्च मावि पोखराको अर्को महत्वपूर्ण मतदान स्थल मध्येमै पर्छ । यहाँ ३ वटा मतदान केन्द्र छन् । २ हजार ३ सय ४७ मतादाता रहेको यो केन्द्रमा २४ जना कर्मचारी र १० जना स्वयंसेवक खटिएको मतदान अधिकृत प्रमोदकुमार श्रीवास्तवले जानकारी दिए । पोखराका ३३ वडामा २ सय ४४ मतदान केन्द्रमा यसैगरी कर्मचारी, सुरक्षा निकाय र सबै दलहरु निर्वाचन सम्पन्न गर्ने तयारीमा उत्साहका साथ लागेका छन् ।

१ सय ५० मतदानस्थलमा करिब २७ सय कर्मचारी

देशकै दोस्रो ठूलो सहर पोखरा महानगरमा यसपटक २ लाख ७ हजार ७१२ मतदाता छन् । कास्कीको पञ्चासेदेखि मादी नदीसम्म पोखरा महानगर फैलिएको छ । यहाँ झण्डै ४० हजार नयाँ मतदाता थपिएका छन् । थपिएका मतदातामध्ये अधिकांश पहिलो पटक मत हाल्ने मतदाता छन् ।

तिनै पहिलो पटक मत हाल्ने मतादाता नै पोखराका निर्णायक मानिएको छ । पोखरा महानगरमा यसअघि २२ वडा एमालेले र बाँकी ११ नेपाली कांग्रेसले जितेको थियो । यसपटक कसले कति जित्छ, यसै भन्न सकिने अवस्था छैन । तर, मत हालेर आफ्नो नेतृत्व चुन्न उत्साही छन्, मतदाता ।

कास्की जिल्लाभर २ लाख ८१ हजार ८ सय ३३ जनाको नाम मतदाता नामावलीमा छ । ती मतदातालाई मत हाल्ने अधिकारी प्रयोग गर्न कास्कीमा १ सय ५० वटा मतदान स्थल छन् र ३ सय ३६ मतदान केन्द्र छन् । जसमा करिब २ हजार ७ सय कर्मचारीले मतदान सफल बनाउन लागिपरेका छन् ।

कास्कीमा एउटा मतदानस्थलमा बढीमा ६ वटा केन्द्र छन् । पोखरा महानगरभित्रै कुनै वडामा २ घन्टासम्म हिंडेर मत हाल्न जानुपर्ने केन्द्र छन् । वडा नम्बर २१ मा जनजागृति भुलभुलैयामा सबैभन्दा टाढाबाट आउँदा साढे घन्टा हिड्नुपर्ने अवस्था छ । ग्रामीण भेगमा ५ किलोमिटरको पेरिफेरिमा मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय कास्कीका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।

३ घेराको सुरक्षा व्यवस्था

मतदान केन्द्रमा ३ वटा घेरामा सुरक्षा व्यवस्था तयार गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

मतदान केन्द्रको भित्र नेपाल प्रहरी र म्यादी, त्योभन्दा बाहिर सशत्र प्रहरी र अन्तिम सुरक्षा घेरामा नेपाली सेना हुने छन् ।

‘सबै मतदान केन्द्रमा मतपत्र, मतपेटिका पुगिसकेका छन् । सुरक्षा चुस्त पारिएको छ । सबै सामाग्री तम्तयार छ ।

मतदान केन्द्रहरु बनिसकेका छन्,’ आचार्यले भने, ‘सुरक्षामा कुनै कसर बाँकी राखेका छैनौं ।’ कास्कीमा १ हजार म्यादी प्रहरी र १ हजार नेपाल प्रहरी खटिएका छन् । पोखराको शहिद चोकस्थित जिल्ला समन्वय समिति र अन्य गाउँपालिका केन्द्रमा मतगणना हुने छ ।

जहाँ महिलाले मात्र मतदान केन्द्र हाँक्दैछन्

पोखरा महानगरभित्र एउटा मतदान केन्द्र यस्तो छ, जहाँ महिलाहरुमात्रै ख्टिएका छन् । निर्वाचनलाई व्यवस्थित हिसाबले सम्पन्न गर्न पोखरा– ६ बैदामको अन्नपूर्ण आधारभूत विद्यालय मतदान केन्द्रमा महिलाहरु मात्र ख्टिएका छन् । जहाँ निर्वाचन अधिकृतदेखि सहयोगीसम्म महिला छन् ।

यो मतदान केन्द्रमा मतदान अधिकृत जिल्ला अदालत शाखा प्रमुख सविता ढुंगानाको नेतृत्वमा निर्वाचनको तयारी भइरहेको छ । प्रदेश निर्वाचन कार्यालयको नायव सुब्बा शर्मिला रानाभाट सहायक मतदान अधिकृत छिन् । सहायक कर्मचारीमा जिल्ला अदालतकी कर्मचारी कविता खनाल, पोखरा महानगरपालिकामा कार्यरत प्रतिभा गौतम र मनमाया कुमाललाई सहयोगीका रुपमा खटाइएको निर्वाचन कार्यालयका प्रमुख पराजुलीले बताए ।

‘एउटा मतदान केन्द्रलाई नमूनाका रुपमा राखौं भनेर महिलाहरु मत्र खटाएका हौं । ऐन, नियम, ज्ञान र अनुभवले कार्य सम्पन्न हुने हो, यसका लागि लिंगले कुनै पनि अर्थ राख्दैन भन्ने सन्देश पनि हो यो,’ पराजुलीले भने ।

निर्वाचन सम्पन्न गराउन बुथ निर्माण गर्न लागिपरेको टाली नेता अधिकृत सविता ढुंगानाले कुनै पनि हिसाबले विवाद आउन नदिने गरी मसिनो गरी तयारी खटिएको बताइन् ।

पानी पर्ने अनुमानपछि प्लास्टिक र त्रिपाल टाँगिदै

पोखरामा बिहीबार बिहानै पानी पर्‍यो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन शुक्रबार पनि वर्षा हुन सक्ने अनुमान गरेको छ ।

पानी पर्ने अनुमानसँगै सबै निर्वाचन केन्द्रहरुले थप तयारीमा जुटेको छ । वर्षा हुने अनुमानपछि कास्कीका मतदान केन्द्रहरुमा त्रिपाल र प्लास्टिक पनि टाँगिदै छ ।

‘पानी पर्ने अनुमानसँग टेन्ट टाँगेर, माथिबाट त्रिपाल हालिएको छ,’ महेन्द्र मावि मतदान केन्द्र अधिकृत राप्रसाद वाग्लेले भने, ‘मतपेटिक छोप्ने छुट्टै प्लास्टिकको थैलोको पनि ब्यवस्था गरिएको छ । छाप हाल्न जानुभन्दा अगाडि हात पुच्छे छुट्टै गम्छाको व्यवस्था गरिएको छ ।’

वर्षा हुने अनुमान भएसँगै सबै स्थानीय तहलाई त्रिपाल, टेन्ट र बाक्लो खाले प्लास्टिकको व्यवस्था गरिदिन आग्रह गरिएको पराजुलीले बताए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?