+
+

‘चुनावमा दशैंमा भन्दा कम उत्साह छैन’

मतदाताहरु मताधिकारको प्रयोगसँगै नागरिक दायित्व पूरा गर्न गइरहेका छन् । लोकतन्त्रलाई संस्थागत गर्न, संविधानलाई कार्यान्वयन गर्न एकदमै राम्रो संकेत हो यो । चाडपर्वमा भन्दा कम उत्साह छैन । दशैमा भन्दा कम उत्साह छैन । असाध्यै राम्रो उत्साह छ ।

डा. मिना पौडेल, समाजशास्त्री डा. मिना पौडेल, समाजशास्त्री
२०७९ वैशाख ३० गते ५:०१

काठमाडौंबाट मतदानका लागि भनेर घर फर्किनेहरूसँग कुरा गरेकी थिएँ । मतदानका लागि गाउँ जान  सवारीसाधनको व्यवस्थापन तीन तरिकाबाट भएको पाएँ । एक– राजनीतिक दलहरूले व्यवस्था गरेको, दुई– स्थानीय क्लब र सहकारीहरूले सवारी साधन मिलाएको र तीन– परिवार, टोल छिमेकका मिलेर आफैं ‘रिजर्भ’ गरेको ।

क्लबमा बिभिन्न पार्टीका मान्छे हुन्छन्, सहकारीहरूमा पनि हुन्छन् । पार्टी भन्दा पनि सबै भोट हाल्न जाउँ भन्ने भाव रहेको पाएँ । एउटै परिवारका वा टोलमा पनि आफैं–आफैंले पैसा उठाएर सवारी साधनको व्यवस्था गरेर घर जाँदै गरेको पनि पाएँ ।

मैले सोधें– तपाईंहरू आफै पैसा उठाएर जाँदै हुनुहुन्छ, फर्किंदा के गर्नुहुन्छ ? चुनावकै लागि खर्च गर्नुभएको छ किन हो ? मैले तीनै थरीका सवारीमा मतदान गर्न घर गएकाहरूलाई प्रश्न गरें । तीनै थरी जवाफ आए । पार्टीले सवारीको व्यवस्था गरेकाहरूले पार्टीले नै खर्च व्यहोर्ने जवाफ दिए । उनीहरूले गएर पार्टीकै उम्मेदवारलाई भोट हाल्ने बताए ।

टोलका मिलेर गाडी लिएर गएकाहरूले मतदान गर्नु कर्तव्य भएको बताए । चुनाव भनेको लोकतन्त्र हो, लोकतन्त्र हामीले लडेर ल्याएको हो, आफैंले ल्याएको व्यवस्था अनुसार भएको चुनावमा जानै पर्यो भनेर जवाफ दिए । हामीले भोट दिएनौं भने लोकतन्त्र खतरामा पर्न सक्छ, भोट हाल्नु नागरिक दायित्व हो यसकारण हामी मतदान गर्न आफैं खर्चपर्चको व्यवस्था गरेर जाँदैछौं भने ।

तीन–चार दिन छुट्टी पनि छ, छुट्टीको सदुपयोग गर्ने र मताधिकार प्रयोग गर्ने उनीहरूको कुरा थियो । उनीहरुले संघीयतापछिको पहिलो कार्यकालमा निर्वाचित जनप्रतिनिधिहरूले अपेक्षित काम गर्न नसकेको टिप्पणी गरे ।

त्यसका पछाडि राजनीतिक दलहरू र तीनको नेतृत्व मुख्य जिम्मेवार रहेको उनीहरूको टिप्पणी थियो । पार्टीहरुले ठीक गरेका छैनन्, भ्रष्टाचार मौलाएको छ, बेथिती छ, यसमा हामी दिक्दार छौं । पार्टीहरुप्रति दिक्दार भएको भनेर भोट नै नहाले सच्याउने अवसर गुम्न सक्ने भएकाले भोट हाल्नुपर्छ भनेर उल्टै सम्झाउनेहरु पनि भेटेँ ।

बिभिन्न क्लबहरू र सहकारीहरूले सवारीसाधनको व्यवस्था गरेर पठाएकाहरु पनि मतदान गर्नु नागरिक दायित्व हो भन्दै थिए । राजनीतिक दल र नेताहरुप्रतिको रिस लोकतन्त्रमा पोख्ने होइन, लोकतन्त्र जोगाउने हो भन्दै थिए । यो भनेको नेपालीहरुमा राजनीतिक चेतना कुन स्तरमा छ ? भनेर देखिने ऐना हो ।

नागरिक सचेत छैनन् भनेर कतिपयले टिप्पणी गर्छन् । त्यसको गतिलो जवाफ गाउँ जानेहरू मलाई दिँदै थिए । नेपालका प्रजातान्त्रिक अभ्यास, लोकतान्त्रिक अभ्यास अगाडि बढ्यो, समाज रुपान्तरण र सामाजिक रुपान्तरणको प्रक्रिया पनि सुरु भएको उनीहरूले बताए ।

केही प्रश्नहरू भएपनि अब सही नेतृत्व चयन गरेर समाज रुपान्तरण र सामाजिक रुपान्तरणको प्रक्रियालाई सघाउ पुर्याउन मतदान गर्नुपर्छ भन्ने उनीहरूको बुझाइ रहेछ । दलितका अधिकारका कुरा, समावेशी समानुपातिक सहभागिता, जनजातीका सहभागिताका विषयले उनीहरू उत्साही थिए ।

एकदमै जिम्मेवारीपूर्वक दायित्वबोध नगरिकले गरेको पाएँ । बनेको संविधानलाई सही रुपमा कार्यान्वयन गर्दै नागरिकप्रति राज्यलाई नै दायित्व बोध गराउनुपर्छ भन्ने उनीहरूमा चेत रहेछ । यसका लागि चुनाव आवश्यक छ । हामीले भोट दिएनौं भने हाम्रो ठाउँमा अर्कौले भोट दियो भने त्यो पछि पछुताउनुपर्ने विषय हुन्छ । त्यसकारण आफ्नो भोट आफैं हाल्न जान लागेको उनीहरूको जवाफ छ । यस्तो संवाद नागरिकहरूसँग गर्दै गर्दा म छक्क परें । नागरिकहरूमा यो खालको बोध रहेछ । राजनीतिक कार्यकर्तामा भन्दा सर्वसाधारण नागरिकहरू दायित्वबोध बढी देखियो ।

स्थानीय सरकार बनेपछि धेरै काम भएका छन् । कोरोना महामारीको समयमा स्थानीय सरकारको काम गराइ देखियो । शिक्षा, स्वास्थ्य, सडक, विद्युत, खानेपानी जस्ता आवश्यकताको विषयमा स्थानीय तहले गरेको पहल देखियो । यसले पनि नागरिकहरूमा चुनावप्रति आस्था र विश्वाससँगै उत्साह थपेको देखिन्छ । उनीहरू सिंहदरबारमा समस्या भएपनि हाम्रो गाउँमा केही न केही विकास भएको छ, जोसुकैले जिते पनि हामी नै यसो गरौं भन्न सक्ने र पाउने भएका छौं, त्यो स्थानीय सरकारसँगै गर्ने हो भन्दै थिए ।

मताधिकारको प्रयोगसँगै नागरिकको दायित्व पूरा गर्न गइरहेका छन् । यो लोकतन्त्रलाई संस्थागत गर्न, संविधानलाई कार्यान्वयन गर्नलाई एकदमै राम्रो संकेत हो । चाडपर्वमा भन्दा कम उत्साह छैन चुनावमा ।

टोलको जनप्रतिनिधिले जित्नु भनेको हाम्रो आफ्नै विकास हो । विगत पाँच वर्षलाई हेर्दा मात्रै पनि बाटो बनेको छ, कुलो बनेको छ, स्वास्थ्य चौकीहरू, स्वास्थ्य केन्द्रहरू बनेका छन् । कोरोनाका बेला राहत र उपचार पनि पाइयो । सोचे जस्तै, प्रयाप्त भएको छैन तर, केही नभएको पनि होइन भन्ने उनीहरुको बुझाइ रहेछ ।

अबको पाँच वर्षमा के गर्ने ? भनेर सुझाव दिँदा खर्च गरी–गरी आएर भोट हालेको हैन ? भन्न पाइन्छ । यो संघीय सरकारसँग पहुँच पुग्ने विषय होइन । यसकारण पनि चुनावमा जानुपर्छ र भोट हाल्नुपर्छ भन्न चेतना नागरिकमा छ । नेतृत्वलाई दबाव दिने करदाता र मतदाताको हो भन्नेमा नागरिकहरू प्रष्ट देखिन्छन् ।

यसकारण स्थानीय तहमा स्थानीय सरकारले गरेका विकासका प्रक्रियाहरू, संरचनाहरू जुन रुपमा संस्थागत र विकास भएको छन् त्यसमा उनीहरूले कतै न कै विश्वास र चित्त बुझाएको देखिन्छ । प्रदेश र संघीय सरकार भन्दा स्थानीय सरकारप्रति असन्तुष्टी राखेको तर, स्थानीय सरकार आशाको केन्द्र हो भनेर उनीहरूले लिएको बुझिन्छ ।

मैले विदेशमा काम गर्दा पनि स्थानीय चुनावको अनुभव गरेकी थिएँ । जस्तो अफगानिस्तानकै चुनावमा पनि म त्यहाँ थिएँ । लिबियाको चुनावमा पनि म त्यहाँ थिएँ । त्यहाँ पनि एकदमै तल्लो निकायको निर्वाचनमा जनताको उत्साह एकदमै देखिएको थियो । यहाँ पनि म यसो हेर्छु, मलाई पनि त्यहाँको सम्झना आयो ।

स्थानीय स्तरमा जस्तो सामाजिक, सांस्कृतिक सम्बन्ध हुन्छन्, यो संसदीय राजनीतिक सम्बन्ध पनि जोडिएको लाग्यो । हामीले गतिला–गतिला मान्छे चुन्नुपर्छ । यो मेरो दायित्व हो भन्ने दायित्वबोध भएको चाहिँ पाइयो ।

तर, सहरी मतदाता र ग्रामिण मतदाताको उत्साहमा केही न केही फरकपन भने पाउन सकिन्छ । काठमाडौं र ललितपुरमै हेर्दा सहरी जनमतले चाहिँ ठूला–ठूला सपना देखाइएको थियो, केही पनि पूरा भएन भन्ने खालका असन्तुष्टिहरू छन् । । तर, ग्रामिण जनमतले केही न केही भएको भन्छ ।

सहरी जनमत अलिकति पढेलेखेको, अलिकति महत्वाकांक्षी र अलिकति स्वास्र्थी पनि हो । वर्गीय दृष्टिकोणबाट हेर्दा पनि ग्रामिण क्षेत्रका सर्वसाधारण, किसानको ठूलो महत्वाकांक्षा हुँदैन । उनीहरूलाई बाटो, कुलो, बत्ती, स्कुल, स्वाथ्यचौकी भए पुग्छ । सहरका मान्छे अलिकति बढी स्वार्थी, अलिकति बढी महत्वाकांक्षी भएको भएर पनि उनीहरूको त्यो खालको जाँगर नभएको हो कि जस्तो देखिन्छ ।

समग्रमा हेर्ने हो भने देशको चुनावी माहोल निकै राम्रो छ । काठमाडौंमा विगत दुई दिनको स्थिति हेर्ने हो भने दशैंमा गएजस्तै गरेर लर्को लागेर गइरहेका छन् । किन जान्छन् मान्छे ? एउटा उत्साह, मताधिकारको प्रयोगसँगै नागरिकको दायित्व पूरा गर्न गइरहेका छन् । यो लोकतन्त्रलाई संस्थागत गर्न, संविधानलाई कार्यान्वयन गर्नलाई एकदमै राम्रो संकेत हो । चाडपर्वमा भन्दा कम उत्साह छैन चुनावमा । दशैंमा भन्दा कम उत्साह छैन । असाध्यै राम्रो उत्साह छ ।

(समाजशास्त्री डा. पौडेलसँग अनलाइनखबरकर्मी रघुनाथ बजगाईंले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?