+
+

खोटाङमा १०३ वर्षीय राउतले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ११:००

३० वैशाख, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १०३ वर्षीय खड्गबहादुर राउतले मतदान गरेका छन् ।

विक्रम संवत १९७६ साल चैत ५ गते जन्म मिति भएका राउतले शुक्रबार दिक्तेलको पञ्च माबि मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले आफ्नो परिवारको सदस्यको सहयोगमा मतदान गरेको मतदान अधिकृत खेम ढुंगेलले बताए । आफै राम्ररी हिँडडुल गर्न नसक्ने राउतलाई परिवारका सदस्यले डोराउँदै मतदान केन्द्र पुर्‍याएका थिए ।

खोटाङमा बिहान ७ बजेदेखि शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । १० स्थानीय तह रहेको जिल्लामा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएका छन् ।

खोटाङको दिक्तेलस्थित पञ्च मावि मतदान केन्द्रबाट मतदान गरेकी वृद्धा घर लैजाँदै आफन्त ।

निर्वाचनमा जिल्लाका १ लाख ४३ हजार ७५२ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । ४१५ जनप्रतिनिधिका लागि १ हजार २८१ जनाको उम्मेदवार चुनावी मैदानमा छन् । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सुरु भएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए ।

मतदान स्थलको सुरक्षार्थ नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको छ । प्रत्येक मतदान स्थलमा ८ देखि १८ जना प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए । प्रत्येक पालिकामा शसस्त्रको तीन वटा र नेपाल प्रहरीको दुई वटा मोबाइल टोली परिचालन गरिएको छ । प्रत्येक पालिकामा नेपाली सेनाको अलग–अलग स्टेशन बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?