+
+

कलाकारले लोकप्रिय छु, मलाई फाइदा हुन्छ भनेर मात्र राजनीति नगरौं : हरिवंश आचार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ११:१९

३० वैशाख, काठमाडौं । अक्सर राजनीतिक बेथिति र नेताप्रति कटाक्ष गरिरहेका हुन्छन्, हास्य अभिनेता हरिवंश आचार्य । स्टेजदेखि टेलिभिजनको स्क्रिनसम्म आफूलाई नेता-मन्त्रीको भूमिकामा पेश गर्दै उनले राजनीतिको कुरुप पाटो उधिनेका छन् ।

उनै हास्य अभिनेता आचार्यले अहिले जारी स्थानिय तहको निर्वाचनमा आफ्नो मतदान गरेका छन् । यसै सिलसिलामा अनलाइनखबरकर्मी विष्णु शर्मासँग वर्तमान निर्वाचन प्रक्रिया, जनप्रतिनिधिको भूमिकाबारे उनले आफ्नो धारणा राखेका छन् । साथै राजनीतिमा कलाकारको सहभागितालाई लिएर पनि प्रतिक्रिया जनाएका छन् । बाँकी उनकै शब्दमा ।

आफ्नो अधिकारको प्रयोग गरौं, योग्य उम्मेदवार छानौं

विकास निर्माणको कामलाई मूल्यांकन गर्ने हो भने जुन स्थानीय तहको निर्वाचन भयो, त्यसको परिणाम राम्रो देखेको छु । पहिले जनप्रतिनिधि नहुँदा विकासका कामहरु सबै भताभुंग भएको थियो । त्यसले गति लिन सकेको थिएन । अहिले स्थानिय प्रतिनिधि असाध्यै महत्वपूर्ण देखिएको छ ।

हरेक नागरिकले आफ्नो अधिकारको प्रयोग गरेर हाम्रो भन्दा पनि राम्रो मान्छे मनोनयन गर्न सकियो भने, स्थानीय क्षेत्रमा आइपर्ने दैनिक समस्याहरु हल गर्न सहज हुन्छ । भौतिक पूर्वाधार,  बाटोघाटो निर्माण हुने साथै खानेपानीको समस्या, फोहोरमैलाको समस्यामा समाधान गर्ने भूमिका खेल्न सक्छन् । स्थानिय निर्वाचनले देश सफा राख्ने, भैष्टचारलाई निर्मूल गर्ने काममा राम्रो भूमिका खेलोस भन्ने लाग्छ ।

राजनीतिमा विकृति छ, तर वितृष्णा समाधान होइन 

मैले भेटेकामध्ये धेरैले राजनीतिप्रति वितृष्णा भाव व्यक्त गर्छन् । म किन भोट खसाल्ने, नखसाल्ने भनेर नवसौं वितुष्णाले समाधान गर्दैन । राजनीतिमा वितृष्णा होला । तर, यसको विकल्प नै केही छैन । विकल्प नभएकाले हामीले राजनीतिको साहारा लिनैपर्छ, राम्रो मान्छे छान्नैपर्छ ।

भोट खसाल्दा के हुन्छ र भन्ने मानसिकता धेरैको पाएको छु । राजनीतिमा विकृति हाम्रो देशमा छ, अरु देशमा पनि छ । विकसित देशमा पनि राजनीतिको विकृति छ । विकृतिलाई नै तह लगाउनका लागि विकृतिलाई चिरेर फ्याल्नका लागि निर्वाचन अपरिहार्य छ । त्यसैले जो–जसले  मतदान गर्नुभएको छैन उहाँहरुले पक्कैपनि मतदान गर्नुहोस् भन्ने म आग्रह गर्न चाहन्छु ।

लोकप्रियताको फाइदा उठाउन राजनीति नगरौं

कलाकर्मी, सेलिब्रिटीहरु पनि अहिले राजनीतिमा आएका छन् । राजनीतिमा आउन चाहनु आफ्नो अधिकार हो । काम गर्छु भन्ने लक्ष्यका साथ राजनीतिमा आउनुभएको छ राम्रै हो । तर, म लोकप्रिय छु मलाई फाइदा हुन्छ भन्ने हिसाबले आउनु हुँदैन ।

आफुले जानेको काम गरौं । आफ्नो चलचित्रको क्षेत्रमा उहाँहरुले जति अनुभव बटुल्नु भएको छ, त्यो अनुभव राजनीतिमा काम नलाग्न पनि सक्छ । आफुले सकेको काम गरौं । कसैलाई म राजनीतिमा गएर परिवर्तन गर्न सक्छु, जनताको सेवा गर्न सक्छु भनेर कुनै सेलिब्रेटीले इच्छा राख्यो भने राजनीति गर्न पाइन्छ । यो अधिकारको कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?