+
+
मत हाल्न नपाएकाको ब्यथा :

भोक रोजुँ कि भोट ?

रवीन्द्र घिमिरे नुनुता राई रवीन्द्र घिमिरे, नुनुता राई
२०७९ वैशाख ३० गते २१:३१

३० वैशाख, काठमाडौं । काभ्रे खार्पाचोकका काइला तामाङले भोट हालेनन्, भोट हाल्न हिँडेका र हालेर फर्किएकाहरुलाई भने काठमाडौंको त्रिपुरेश्वरपुर क्षेत्रमा उनको रिक्सा खुब काम लागिरहेको थियो ।

बुढ्यौली उमेरमा रिक्साको पाइडल खियाइरहेका उनलाई भोट हालेर आफ्नो जीवनमा बदलाव आउने विश्वास नै छैन । भुइँचालोमा घर ढल्दा र त्यसपछि कोरोना महामारी आउँदा सरकार एक झोला चामल दिएर पन्छिएको उनले बताए ।

‘दिनभर नकमाए बेलुका खान पाइदैन’, उनले भने, ‘मैले त भूकम्पमा घर ढल्दा पुरिएर मतदाता परिचयपत्र हराएपछि अर्को बनाएको पनि छैन ।’

कटारी नगरपालिका–१०, उदयपुरका तेजबहादुर खत्रीको पनि निर्वाचनप्रति तामाङको जस्तै धारणा छ । चुनावका दिन ३० वैशाखमा कालीमाटीमा निर्माणको काममा खटिएका उनले पहिला भोट हालेर कुनै नतिजा नपाएकाले यसपालि गाउँ नगएको बताए ।

गाउँबाट उम्मदवारहरुले तारन्तार फोन गरेर आइदिनुपर्‍यो भनेपनि नगएको खत्रीले बताए ।

‘बजेट आयो, विकास आयो भन्छन्, हामीलाई हुने केही हैन,’ उनले भने, ‘एमालेलाई जिताइयो, माओवादीलाई पनि भोट लगाइयो, जितेपछि वास्तै गरेनन् । हामीले चाही एकोहोरो दुःख गर्नुपर्ने भएपछि किन ज्याला माया मारेर भोट हाल्न जानु ?’

उदयपुर गाईघाटका प्रष्टबहादुर रानामगर पनि चुनावको दिनमा विहान ७ नबज्दै बुद्धनगरमा बनिरहेको एउटा विशाल भवनको फेदी बालुवा चाल्न आइपुगे । राजनीतिका बारे आफु प्रष्ट रहेको जनाउ दिँदै उनले भने, ‘बिग्रेका नेताहरु नसच्चिएसम्म भोट हालेर हामी जनताको दुःख हट्दैन ।’

६ वर्षदेखि काठमाडौंमा काम गरिरहेका उनलाई सन्तानको भविष्यको चिन्ता छ । त्यसैले, भोट हाल्ने नाममा दैनिक आय खल्बलिने गरी काठमाडौं छोड्न मनले नमानेको उनले बताए ।

‘खर्च गरेर गएर गाउँ गएर भोट हालेपछि जनताको जीवनमा त्यसको फाइदा के त ?’, मगरले प्रश्न गरे, ‘नेताहरुको मात्र अवस्था फेरिने चुनावका लागि मजस्तो दैनिक काम गरेर छोराछोरी पाल्नेले के मरिमेटी गर्ने !’

खडक नगरिपालिका–१, सप्तरीका देवेन्द्रप्रसाद चौधरी अनेक किसिमका चुनाव चिह्नम स्वस्तिक छाप हान्दैमा जनताको अवस्था नफेरिनेमा आफू विश्वस्त रहेको बताए ।

‘घामपानीमा लाइन लागेर भोट दिने जनताका लागि नेताहले माखो मार्छन् भन्ने विश्वास भएको भए चुनावपछि मात्र काठमाडौं फर्किन्थेँ हुँला’, घर गएर एक साताअघि फर्किएको बताउँदै उनले भने, ‘जसले जिते पनि उस्तै हो । मेरो एक भोटले जित्ने मान्छे पनि उस्तै हो ।’

मजदुरी क्षेत्रका सबै भोट हाल्न अनिच्छुुक भने छैनन् । जस्तो– महोत्तरी, गौशालाका २२ वर्षीय सन्तोष माझी भोट हाल्ने अधिकार खोज्दाखोज्दै काठमाडौं आइपुगेका हुन् । सानैमा बाबु गुमाएका उनी नेपाली नागरिकमा दरिनकै लागि संघर्ष गरिरहेको बताउँछन् ।

उनले नागरिकता लिन खोजेको ४ वर्षभन्दा बढी भइसक्यो, तर प्रशासनले विश्वास गरेको छैन । शुक्रबार चुनावको दिन निर्माण स्थलमा छड बंग्याइरहेका माझीले नागरिकता बनेको भए भोट हाल्न गाउँमा हुने बताए ।

‘सबै कागजात पुर्‍याएको छु, गर्नुपर्ने सबै मुचुल्का भएको छ,’ उनले भने, ‘साक्षीहरु पनि छन्, तर सानैमा टुहुरो भएको र बाबुको नागरिकता नहुँदा जिल्ला प्रशासनले नागरिकता दिएको छैन ।’

शुक्रबार इन्द्रचोकमा ढुंगाको काम गरिरहेका ईश्वरपुर, सर्लाहीका एञ्जल लामालाई मन भएर पनि भोट हाल्न मौका जुरेन । विदेश जाँदा लागेको ऋणले थिचिएका उनलाई भोटको लागि काम नै माया मार्न आँट आएन ।

उनी भन्छन्, ‘अहिले मिलेन, अर्को चुनावमा मिलाएर भोट हाल्छु !’

हेटौंडाका सोनाम तामाङले काठमाडौंको बसन्तपुर क्षेत्रमा रिक्सा चलाएको २० वर्ष पुग्न लाग्यो । न यता, न उताको मतदाता नामावलीमा उनको नाम छ ।

‘अघिल्लो चुनावमा खास्सै चासो भएन’, उनले भने, ‘यो वर्ष बुझ्दा मतदाता नामावलीको लागि फोटो खिच्न, कार्ड लिन र फेरि भोट दिन जाँदा लाग्ने खर्च जोड्दा नसक्ने भएपछि छोड्दिएँ ।’

कालीकोटकी मनसुख शाही ठकुरी बसन्तपुरमा पानी बेच्छिन् । अघिल्लो स्थानीय निर्वाचनमा गाउँमै भोट दिएकी ७७ वर्षीया उनलाई यस पटक पनि भोट हाल्न मन थियो ।

‘पानी बेचेर गुजरा चलाइरहेकी मान्छे, आँफै खर्च पेलेर उती टाढा जान सकिन’, उनले भनिन् ।

दोलखा, भीमेश्वरकी ६६ वर्षीया भगवती श्रेष्ठ परिवारका ६ जनालाई मतदान गर्न गाउँ पठाएर आफू मजीपाटको किराना पसल चलाउन बसिन् ।

‘चुनाव भनेको भर्खरकाले आफ्नो र मजस्ता बुढाबुढीले छोरीनातीका भविष्यका लागि असल मान्छे छान्ने दिन हो’ उले भनिन्, ‘पसल हेर्ने मान्छे भएको भए म पनि गएर भोट हाल्थेँ ।’मखन टोलमा घरको जग खनिरहेका मनबहादुर लुङ्वालाई भोटको महत्व थाहा छ । चितवन खैरहनीका उनी भोट हाल्न मन भएर पनि जान पाएको खिन्न छन् ।

‘श्रीमतीलाई यही महिना तीन हप्ता अस्पताल राख्नुपर्‍यो ,’ उनले भने, ‘खर्च थेग्न मुस्किल भएको बेला भोक रोजुँ कि भोट भन्ने हुने रहेछ !’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?