+
+

खोटाङका पाँच स्थानीय तहको मतगणना मध्यरातिदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते २३:०२

३० वैशाख, खोटाङ । खोटाङका पाँच वटा स्थानीय तहको मत गणना मध्यरातिदेखि गर्ने तयारी गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये केपिलासगढी, जन्तेढुंगा, दिप्रुङ चुईचुम्मा, बराहपोखरी र रावाबेँसी गाउँपालिकाको मत गणना मध्यरातिदेखि सुरु गर्न लागिएको हो ।

जन्तेढुंगा गाउँपालिकामा करिब १२ बजेबाट मत गणना सुरु गर्ने तयारी गरिएको छ । मत गणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । जन्तेढुंगा गाउँपालिकामा १० हजार २१३ मतदाता छन् ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा पनि आज रातीबाटै मत गणना सुरु गर्ने तयारी गरिएको छ । मत पेटिका संकलनको काम सकिएकाले सर्वदलीय बैठक राखेर करिब १२ बजेपछि मत गणना सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए । दिप्रुङमा १३ हजार ४३१ मतदातामध्ये ६ हजार ४७३ मत खसेको छ ।

बराहपोखरी गाउँपालिकामा करिब १२ बजेपछि मत गणना सुरु गर्ने तयारी गरिएको छ । सबै वडाबाट मत पेटिका संकलन भइसकेकाले सर्वदलीय बैठक राखेर राती १२ बजेपछि मत गणना सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृत कोपिला राईले बताइन् । बराहपोखरी गाउँपालिकामा ९ हजार ३६४ मतदाता छन् । त्यसमध्ये ६ हजार ३२ मत खसेको छ ।

रावाबेँसी मत पेटिका रुजु गर्ने र सर्वदलीय बैठक राखेर मत गणना सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृत लालबहादुर कार्कीले बताए । रावाबेँसीमा ९ हजार ६१८ मतदाता रहेकामा ५८.७८ प्रतिशत मत खसेको छ ।

केपिलासगढी गाउँपालिकामा राती १२ बजेभित्र सबै वडाबाट मत पेटिका आइसक्ने र राती १ बजेपछि मत गणना सुरु गर्ने निर्णय गरिएको निर्वाचन अधिकृत राजकुमार राईले बताए । केपिलासगढी गाउँपालिकामा १० हजार ८३८ मतदाता छन् ।

ऐसेलुखर्क गाउँपालिकामा केही ठाउँको मत पेटिका संकलन हुन बाँकी छ । मत पेटिका संकलनको काम सकिएपछि सर्वदलीय बैठकबाट मत गणना सुरु गर्ने समयको टुंगो लाग्ने निर्वाचन अधिकृत रमाकान्त यादवले बताए । ऐसेलुखर्कमा ११ हजार ४९५ मतदाता रहेकामा ६ हजार ८५८ मत खसेको छ ।

खोटेहाङ गाउँपालिकामा भोली बिहानदेखि मत गणना सुरु गर्ने तयारी छ । मत पेटिका आउने क्रम जारी भएकाले भोली बिहानदेखि मत गणना सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृत गेहेन्द्रराज रेग्मीले बताए । खोटेहाङका १५ हजार २४५ मतदाता मध्ये ८ हजार ५७१ मत खसेको छ ।

साकेला गाउँपालिकामा मत पेटिका संकलनको काम जारी रहेकाले मत गणनाको समय निर्धारण हुन सकेको छैन । मत पेटिका संकलन भएपछि सर्वदलीय बैठकको निर्णय अनुसार मत गणना तत्काल सुरु गर्ने वा भोली बिहानबाट गणना गर्ने टुंगो लाग्ने निर्वाचन अधिकृत राजन नेपालले बताए । साकेला गाउँपालिकामा ८ हजार ५४८ मतदाता छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकामा भोली बिहानदेखि मात्र मत गणना सुरु गर्ने तयारी गरिएको छ । दुई नगरपालिकामा करिब १ बजेसम्म मत पेटिका संकलनको काम हुने जनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३४ हजार ७८ र हलेसी तुवाचुङ नगरपालिकामा २० हजार ९२१ मतदाता छन् । हलेसी तुवाचुङमा १३ हजार ४९१ मत खसेको छ ।

खोटाङमा केही ठाउँमा सामान्य विवाद बाहेक शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकृत फणिन्द्र दाहालले बताए । केही स्थानमा वर्षाका कारण केही समय मतदान रोकिएको थियो । खोटाङमा १ लाख ४३ हजार ७५२ मतदाता छन् । यो २०७४ सालको निर्वाचनमा सहभागी मतदाताको तुलनामा २८ हजार ११० ले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?