+
+

रोल्पाको गंगादेवमा रोचक प्रतिस्पर्धा

महेश न्यौपाने महेश न्यौपाने
२०७९ वैशाख ३१ गते २०:२४
बायाँबाट माओवादीका वीरबहादुर खत्री, कांग्रेसका हरिबहादुर पुन र एमालेका रोशन ओली

३१ वैशाख रोल्पा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले वैशाख २७ गते लिवाङमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘रोल्पामा चुनाव लागेको छ भने गंगादेवलाई लागेको छ, ‘भ्याउनुहुन्छ भने तपाईंहरु पनि हेर्न गए हुन्छ ।’

पुनको भनाइले गंगादेवमा रोचक प्रतिस्पर्धाको संकेत गथ्र्यो । मतगणनाको प्रारम्भिक नतिजा हेर्दा पुनले भनेजस्तै देखिएको छ । १० स्थानीय तह रहेको रोल्पाका अधिकांश स्थानीय तहमा माओवादी केन्द्र र नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी भए पनि गंगादेवमा भने फरक राजनीतिक अवस्था छ ।

गंगादेवमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमाले तीन मुख्य प्रतिस्पर्धी रहे पनि यस पटक नया पात्र पनि थपिए, चुडामणि वली । उनी नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन् । अन्य पार्टीको उमेदवारी टुंगो नलाग्दै उनले उमेदवारी घोषणा गरेर गंगादेव गाउँपालिकाको मात्र हैन समग्र रोल्पाकै ध्यान आफूतिर तानेका थिए ।

माओवादी केन्द्रले रोल्पामा ०७४ सालमा निर्वाचित स्थानीय तहका प्रमुखलाई नदोहोर्‍याउने निर्णय गरेको थियो, तर गंगादेवका वीरवहादुर खत्री अपवाद भए । उनी गाउँपालिका अध्यक्षमा दोहोरिने गरी उम्मेदवारमा सिफारिस भए । यसको कारण थियो सो गाउँपालिकामा प्रतिपस्र्धा गर्न सक्ने माओवादी केन्द्रका अन्य उमेदवार थिएनन् । नेपाली कांग्रेस र एमालेसंग प्रतिस्पर्धा गर्न सक्ने भन्दै उनलाई दोहोर्‍याउने गरी माओवादी केन्द्रले निर्णय गरेको थियो । चुनावी प्रतिस्पर्धामाझ उनी रक्षात्मक देखिएका छन ।

हालसम्मको नतिजामा खत्री तेस्रो स्थानमा रहेका छन । पछिल्लो मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरिवहादुर पुन मगरले ९४३ मत प्राप्त गरेका छन । नेकपा एमालेका रोशनकुमार वलीले ८२५ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका खत्रीले ५३६ मत पाएका छन् । स्वतन्त्र उमेदवारी दिएका विप्लव नेतृत्वका वलीले १६० प्राप्त गरेका छन् । हालसम्म अन्तिम मत परिणाम घोषणा भएका वडा नं. १ र ७ मा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।

२०७४ सालको परिणाम

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि तीन ठूला दलबाट हरि, रोशन र वीरवहादुर नै उम्मेदवार थिए । सो निर्वाचनमा वीरबहादुर खत्रीले दुई हजार ४१४ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रोशनकुमार वलीले दुई २९० प्राप्त गरेका थिए । नेपाली कांग्रेसका हरिवहादुर पुनले दुई हजार २६१ मत प्राप्त गरेका थिए ।

हाल सो गाउँपालिकाको वडा नं. १ र ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले जीत हासिल गरिसकेका छन् । वडा नं. १ मा निर्वाचित अमृतबहादुर वलीले ३८५ मत पाएका छन् भने वडा नं. ७ मा निर्वाचित प्रेमप्रकाश केसीले ४१८ मत पाएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नं. १ मा नेपाली काँग्रेसका अजमत डाँगीले ३२२ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चुडामणि वलीले २२७ मत प्राप्त गरेका थिए । तेस्रो स्थान हासिल गर्ने नेकपा माओवादी केन्द्रका उमेदवार खुसलसिंह विकले १९८ मत आएको थियो ।

वडा नं. ७ मा नेकपा एमालेका तुलबहादुर घर्तीमगर ३४० मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रत्नबहादुर पुन मगरले ३३२ मत प्राप्त गर्दा तेस्रो स्थान हासिल गरेका नेकपा माओवादी केन्द्रका उमेदवार टंकबहादुर वलीले २७४ मत पाएका थिए ।

७ वटा वडा रहेको सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार वडा नं. २, वडा नं.३, वडा नं.४ र वडा नं. ५ मा निर्वाचित भएका थिए । वडा नं. ६ र ७ मा नेकपा एमाले र वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?