+
+

सेलिब्रेटीको स्वाद : कसलाई कुन परिकारले लोभ्याउँछ ?

सम्झना विक सम्झना विक
२०७९ जेठ १ गते १६:२४

लेखक बुद्धिसागरलाई असाध्यै भोक लागेको बखत कस्तो खानेकुराको याद आउँछ होला ?

‘मःम’ उनी फ्याट्टै भन्छन् । किनभने मःम भन्नसाथ उनको जिब्रोमा पानी आउँछ । यो उनको सर्वप्रिय व्यञ्जन हो ।

१५ बर्षअघि नै मःमले उनलाई लोभ्याएको थियो । त्यसबेला उनी कलेज जान्थे । विद्यार्थी जीवनमा खल्ती गह्रौ हुने कुरा भएन । पैसाको अभाव हुन्थ्यो नै । तर, उमेर कस्तो भने जतिबेला पनि भोक लागिरहने । बढ्दो उमेरमा भोक त लाग्ने नै भयो ।

थोरै पैसा हुन्थ्यो । त्यही पैसाले मःमको तलतल मेट्नुपर्ने । त्यो बेलादेखि यो बेलासम्म उनलाई मःमले मोहनी लगाएको छ । तर, अहिलेको मःम विगतको जस्तो नभएको उनको अनुभव छ । ‘त्यसबेलाको साह्रै स्वादिलो लाग्थ्यो’ बुद्धिसागर भन्छन्, ‘अहिले त्यो स्वाद भेटेको छैन ।’

यद्यपि मःम खानकै लागि उनी काठमाडौंको चोक-गल्ली चाहर्ने गर्छन् । कहिले ललितपुरको पाटनमा पुगेर झोल मःमको स्वाद लिन्छन् भने कहिले महाबौद्धको लोकल मःमले जिब्रोको तलतल मेट्छन् ।

काठमाडौंको जस्तो मःम अन्यत्र नपाइने उनको अनुभव छ । र, काठमाडौंमा पनि रेष्टुरेन्टको भन्दा बाहिरको मःमले उनलाई लोभ्याउँछ ।

नेपालको राष्ट्रिय महिला फुटबलका सर्वाधिक गोलकर्ता खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को जिब्रो पनि मःममै भिजेको छ । जतिबेला भोक लाग्छ, त्यसबेला उनलाई मःमले आफ्नो स्वाद मेट्न पाए हुन्थ्यो भन्ने लाग्छ । खासगरी चिकेन मःम उनको प्रिय भोजन हो ।

उनी घुँडाको शल्यक्रियाका लागि कतारको दोहा पुगेकी थिइन् । त्यहाँको अस्पतालमा उनी लगभग ६ महिना बस्नुपर्ने भयो । यसबेला उनलाई मःमको खुब याद आयो । भन्छिन्, ‘काठमाडौंमा खाएको मःमको स्वादले कहिल्यै नछाड्ने । त्यहाँ बस्दा पनि मैले कति पटक मःम सम्झिएँ ।’

उनी फुर्सद मिल्नसाथ स्वयम्भु पुग्ने गर्छिन्, मःम खानका लागि । त्यहाँको गुन्द्री रेष्टुरेन्टमा पाइने मःमले उनको भोक मेटिदैन । जति खाए पनि खाइरहुँ लाग्छ ।

‘नाई मलाई थाहा छैन’, ‘माया लुकीलुकी’, ‘कर्के नजर’ जस्ता गीतकी गायिका हुन् टिका प्रसाई । टिकाको मनपर्ने खाजा पनि मःम नै हो । प्राय कार्यक्रमको सिलसिलामा एक ठाउँबाट अर्को ठाउँ पुग्नुपर्ने हुन्छ ।  त्यसैले उनको कुनै जक्सन छैन, जहाँ मःमको लागि उनी पुग्ने गर्छिन् ।

‘जहाँ भेट्यो, त्यही खाने हो’ टिका भन्छिन्, ‘सबैतिरको मःम स्वादिलो लाग्छ ।’ स्वादमा एकरुपता नभएपनि मःम भनेपछि आफु हुरुक्कै हुने उनले बताइन् । यद्यपि मःमका लागि पिरो अचार भने उनको लागि अनिवार्य हुनुपर्छ ।

रोज, चपली हाइट, द कर्मा जस्ता चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री परमिता राणा झम्सिखेलस्थित क्युबिस किचेन धाइरहेकी हुन्छिन्, मःम खानकै लागि । त्यहाँको मःम उनलाई विशेष लाग्छ । ‘मःम रसिलो, स्वादिलो परिकार हो’ उनी भन्छिन्, ‘आरमसाथ खान पाइन्छ ।’

नेपाली क्रिकेटका आशालाग्दा खेलाडी हुन्, कुशल भुर्तेल । उनलाई नास्तामा मुस्ली एकदमै मनपर्छ । उनी देश विदेश जहाँ गएपनि मुस्ली बोकेरै जाने गर्छन् ।

‘मुस्लीलाई दहीमा भिजाएर खान्छु’ कुशल भुर्तेल भन्छन्, ‘यो खाइन भने दिनभर तलतल लागिरहन्छ ।’

स्वस्थ्यकर पनि हुने भएकाले उनी अक्सर खाजामा मुस्ली छुटाउँदैनन् । उनलाई मुस्ली सँगै रोटी तरकारी पनि मिठो लाग्दछ । उनी खाजा नास्ताको लागि बेलामौकामा जिम्बु थकाली रेष्टुरेन्ट रोज्ने गरेका छन् ।

‘यात्रा’ चलचित्रबाट अभिनय सुरु गरेकी अभिनेत्री मलिका महतको जिब्रो भने चाउचाउले लोभ्याएको छ । यद्यपि चाउचाउ पिरो भने हुनुपर्छ । पिरो चाउचाउको झोलले उनको मन अघाउँदैन ।

उनी भन्छिन् ‘पिरो चाउचाउको झोल पिउँदै खान एकदमै मज्जा आउँछ ।’ सुटिङको काममा पनि यो खाजा सहजै उपलब्ध हुन्छ, मिठो पनि छिटो अनि पिरो स्वादान उनी रमाउँछिन् । चाउचाउको स्वाद लिनको लागि उनी बौद्धको एक रेष्टुरेन्ट नै पुग्ने गरेकी छिन् ।

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?