+
+

रुकुम पूर्वका ३१ मध्ये १६ वटा वडाको मत सार्वजनिक, कहाँ कसले जिते ?

सर्जना कार्की सर्जना कार्की
२०७९ जेठ १ गते १८:५६

१ जेठ, रुकुमपूर्व । तीन वटा मात्र गाउँपालिका रहेको रुकुम पूर्वको ३१ वटा वडा मध्येमा १६ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । १६ वटा वडाको मत परिणाम सार्वजनिक भइसक्दासम्म १३ वटा वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ ।

नेपाली कांग्रेसले दुई वटा र नेकपा एमालेले एउटा वडामा विजयी हासिल गरेका छन् । एमाले र कांग्रेसले जितेका वडामा माओवादी केन्द्रसँगको मतान्तर थोरै मात्र छ ।

सिस्ने १

रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रज बहादुर बुढा प्यानलसहित विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार बुढा ३ सय ८६ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेस गठबन्धनका उम्मेद्वारले ३ सय ५६ मत प्राप्त गरेका छन् ।

माओवादीको प्यानलमा महिला सपुरी बुढा, तुल कुमारी विक, डबल बुढा र हस्त बहादुर बुढा सदस्य चुनिएका छन् ।

सिस्ने गाउँपालिका २

सिस्ने गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । यस वडामा एमाले–कांग्रेसको गठबन्धनका उम्मेद्वार चंख झाँक्रीलाई पछि पार्दै कृष्ण खड्काको प्यानल विजयी भएको हो । खड्काले ४ सय २८ र झाँक्रीले ३ सय ७२ मत पाइन् ।

सिस्ने २ मा नेकपा माओवादी केन्द्रबाट महिला सदस्यमा नविना मल्ल घर्ती, दलित महिला सदस्यमा सम्झना नेपाली, खुला सदस्यमा तीर्था पुन र दिनेश विक विजयी भएका छन् ।

सिस्ने गाउँपालिका ३

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ मा पनि नेकपा माओवादी केन्द्र भारी मत अन्तरले विजयी भएको छ । गएको स्थानीय तह चुनावमा हार व्यहोरेको यस वडामा यस पटक माओवादी विजयी भएको हो । माओवादीले यस वडामा नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो ।

मोओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका हेराम खड्काले प्रतिस्पर्धी नेकपा एमाले, नेपाली कांग्रेस र माले गठबन्धनका उम्मेदवारभन्दा दोब्बर बढी मत ल्याएर विजयी बने । खड्काले ६ सय २३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी भावना खड्काले ३ सय ५ मत प्राप्त गरेकी छन् ।

यो वडा पहिलेको स्थानीय तह चुनावमा माओवादीले गुमाएको थियो भने एमालेले जितेको थियो । अहिले यस वडामा हारको बदला दोब्बर बढी मत ल्याएर माओवादीले ल्याएको छ ।

वडाको महिला सदस्यमा माओवादी र एकीकृत समाजवादी प्यानलबाट महिला सदस्यमा मिना केसी, दलित महिला सदस्यमा पे्ररणा कुमारी कामी र खुला सदस्यमा लक्षिराम खड्का, लालजित बुढा विजयी भएका छन् ।

रुकुम पूर्वमा एमालेले खाता खोल्यो

रुकुमपूर्वमा नेकपा एमालेले खाता खोलेको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ७ बाट एमालेले खाता खोलेको हो । यस वडामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पछि पार्दै एमालेबाट शशिधर बुढा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले ३ सय १६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका खिमबहादुर पुनले २ सय ८३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर ओलीले ५१ मत प्राप्त गरे ।

वडा सदस्यमा नेकपा माओवादी केन्द्रबाट महिला सदस्य धनकुमारी बुढा, दलित महिला सदस्यमा चम्फा कामी विक, खुला सदस्यमा माओवादीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका समाजवादीका शशिराम बुढा र एमालेबाट विष्णु गिरी निर्वाचित भएका छन् ।

सिस्ने–८

सिस्ने गाउँपालिका वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार गोपाल पुनमगर विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार पुन ४ सय २० मत ल्याएर प्यानलसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले २३८ सय मत ल्याएका छन् ।

महिला सदस्यमा बिन्दु रावल, दलित महिला सदस्यमा लक्ष्मी बुढा सार्की, खुल्ला सदस्यमा डम्मर बहादुर बुढा र नर बहादुर पुन विजयी भएका छन् ।

पुथाउत्तरगंगा गाउँपालिका १

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रले विजय हासिल गरेको छ । वडा नम्बर १ मा माओवादी केन्द्रका बिरमान कामीको प्यानलै विजयी भएको छ । कामीले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छाया पुनलाई पछि पार्दै विजयी भएका हुन् ।

एमालेका उम्मेदवार पुनले ३ सय २६ मत ल्याउँदा माओवादी केन्द्रका कामीले ४ सय मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी महिला सदस्य मल्ति पुन ४ सय ८ मत, दलित महिला सदस्य लक्षिण नेपाली ४ सय ४ मत, खुला सदस्य धन पुन ३ सय ८४ र विक्रम पुनले ४ सय ६ मत ल्याएर विजयी भएका छन् । १ नम्बर वडामा जम्मा ६ सय ६६ मत खसेको थियो ।

पुथा उत्तरगंगा गाउँपालिका २

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । यस वडाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका जसबहादुर श्रीपाली विजयी भएका हुन् ।

उनले एमाले कांग्रेस गठबन्धनका उम्मेदवार कर्णबहादुर बुढालाई पछि पार्दै २ सय ३४ मत ल्याएर विजयी हासिल गरेका हुन् । बुढाले १ सय ८९ मत प्राप्त गरे ।

माओवादी केन्द्रबाटै २ सय ३९ मत ल्याएर दलित महिला सदस्यमा मायाधन कामी र २ सय ४३ मत ल्याएर औसी बुढा महिला सदस्यमा निर्वाचित भएका छन् ।

यसैगरी २ सय ३४ मत ल्याएर मनिराम मुन र २ सय ३६ मत ल्याएर खाल पुन खुला सदस्यमा विजयी भएका छन् । २ नम्बर वडामा कुल ४ सय ९२ मतदाता रहेकोमा ४ सय २४ मत खसेको थियो ।

पुथा उत्तरगंगा ३

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार बल बहादुर बुढा (विजय) १ सय ६३ मतका साथ निर्वाचित भएका छन् । वडाध्यक्षका निकटतम प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका काप्चे बुढाले १ सय ३२ मत ल्याएका छन् ।

महिला सदस्यमा जोतिलाख बुढा, दलित महिला सदस्य सुशीला विक, खुल्ला सदस्य बलकम बुढा र खुल्ला सदस्यमा भदौरे बुढा विजयी भएका छन् ।

पुथा उत्तरगंगा गाउँपालिका ४

पुथाउत्तरगंगा गाउँपालिकामा ४ मा नेपाली कांग्रेसले जित हासिल छ । नेपाली कांग्रेसले पुथा ४ को वडाध्यक्षसँगै महिला सदस्य र एक जना खुला सदस्यमा विजयी हासिल गरे ।

कांग्रेसका सुरबहादुर विकले प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार विरबल पुनलाई थोरै मतान्तरले पराजित गरे । विकले २ सय ३ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादीका पुनले एक सय ९३ मत प्राप्त गरे ।

नेपाली कांग्रेसबाट महिला सदस्यमा सुनिता रोका र खुला सदस्यमा जितकुमार कामी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट दलित सदस्यमा सुर्ज कामी र खुला सदस्यमा मनदेउ बुढामगर विजयी भएका छन् ।

पुथा उत्तरगंगा गाउँपालिका ५

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका टिकासाई घर्ती प्यानलसहित विजयी भएका छन् । त्यहाँ नेपाली कांग्रेस र जसपाका उम्मेदवारलाई पछि पार्दै नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो ।

घर्तीले ४ सय १७ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका अविनास बुढाले १४८ र जसपाका अशोक घर्तीले ६२ मत प्राप्त गरे ।

यस वडामा माओवादी केन्द्रबाटै महिला सदस्यमा ग्वारी बुढा, दलित महिला सदस्यमा बालकुमारी कामी, खुला सदस्यमा दामबहादुर कामी र थर्कबहादुर झाँक्रीमगर विजयी भएका छन् ।

पुथा उत्तरगंगा ६

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ६ पनि नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । त्यहाँ माओवादी केन्द्रबाट शंखे सेनको प्यानल नै विजयी भएको हो ।

सेनले एक सय ८५ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तुलबहादुर घर्तीले ९५ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट महिला सदस्यमा तिर्थ कुमारी मल्ल, दलित महिला सदस्यमा लहरमाया दमाई, खुला सदस्यमा बमबहादुर रोका र सुन बहादुर विक विजयी भएका छन् ।

पुथाउत्तरगंगा गाउँपालिका ७

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ७ मा पनि माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । यस वडामा नेपाली कांग्रेसका तिलबहादुर बुढालाई पछि पार्दै माओवादी केन्द्रबाट चित्रबहादुर बुढाले विजयी हासिल गरेका हुन् । तिलबहादुर बुढाले रुख चिन्हबाट १३३ मत प्राप्त गर्दा हसिया हथौडाबाट चित्रबहादुर बुढाले २०० मत प्राप्त गरेका थिए ।

सदस्यहरुमा माओवादी केन्द्रबाट रामकुमारी रोका, लक्ष्मी दमाई, इनम बुढा र टेकबहादुर घर्ती विजयी भएका छन् ।

पुथा उत्तरगंगा– ८ मा महिला अध्यक्ष

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । यस वडामा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा पूर्णा शाही मल्ल विजयी भइन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवारलाई १२ मतले पछि पार्दै विजयी हासिल गरेकी हुन् । पूर्णाले ३ सय ५४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जयबहादुर बुढाले ३ सय ४२ मत पाए ।

यहाँ माओवादी केन्द्रबाट महिला सदस्यमा कर्णकुमारी मल्ल, दलित महिला सदस्यमा कल्पना कुमारी सुनार विजयी भएका छन् । नेकपा एमालेको तर्फबाट खुला वडा सदस्यमा देपेन्द्रजंग मल्ल र ढलबहादुर शाही निर्वाचित भएका छन् । यस वडामा ७ सय १५ मत खसेको थियो ।

पुथा उत्तरगंगा गाउँपालिका ९

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएका छन् । यो वडा नेपाली कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री केशरमान रोका र नेकपा एमालेको जिल्ला अध्यक्ष टोपबहादुर ओलीको गृह वडा हो ।

यहाँ एमाले र कांग्रेसलाई पछि पार्दै वडाध्यक्षमा माओवादी केन्द्रका हर्कप्रसाद रोका विजयी भए ।

वडा सदस्यमा माओवादी केन्द्रबाट महिला सदस्यमा उर्मिला रोका, दलित महिला सदस्यमा हसिया हथौडा चिन्हबाट समाजवादीका जुनकुमारी विक, खुला सदस्यमा माओेवादीबाट टेकबहादुर नेपाली, कांग्रेसबाट खुला सदस्यमा लालबहादुर खड्का विजयी भएका छन् ।

पुथा उत्तरगंगा गाउँपालिका १०

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १० मा नेकपा एमाले विजयी भएको छ । यस वडामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा एमाले विजयी भएको हो । यहाँ एमालेका भरत बुढाले ३१६ मत ल्याएर विजयी हासिल गर्दा माओवादी केन्द्रका दयाधन घर्तीले २९७ र नेपाली कांग्रेसका सुनबहादुर बुढाले २७९ मत प्राप्त गरेका छन् ।

यस वडामा गएको स्थानीय तह चुनावमा पनि एमालेले नै जितेको थियो । यस वडामा एमालेबाट दलित महिला सदस्य धनकुमारी कामी विजयी भएकी छन् भने नेपाली कांग्रेसबाट खुला सदस्यमा मालबहादुर बुढा र काजीमान घर्ती तथा नेकपा माओवादी केन्द्रबाट महिला सदस्यमा प्रतिमा पुन विजयी भएका छन् ।

भूमे गाउँपालिका ७

भूमे गाउँपालिका वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका संगम रोका विजयी भएका छन् । रोकाले ४६४ मत ल्याएर एमाले–कांग्रेसको गठबन्धनलाई हराए । सूर्यबाट चुनाव लडेका गठबन्धनका विजय बुढाले ५५ मत प्राप्त गरेका छन् ।

वडा सदस्यमा माओवादी केन्द्रबाट महिला सदस्यमा सिता कुमारी बुढाथोकी, दलित महिला सदस्यमा सुनमाया सुनार, खुला सदस्यमा मेघबहादुर श्रेष्ठ र मैमान रोका विजयी भएका छन् ।

भूमे गाउँपालिका ८

भूमे गाउँपालिका वडा नम्बर ८ को वडाध्यक्षमा एमाले र माओवादीका उम्मेदवारलाई पछि पार्दै नेपाली कांग्रेसबाट दिनेश रोका विजयी भएका छन् ।

रोकाले ४७७ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कृष्णबहादुर रोकाले ४६९ मत पाउँदा एमालेबाट उम्मेदवार बनेका लालप्रसाद ओलीले १५ मत प्राप्त गरे ।

वडा सदस्यमा भने सबै माओवादी केन्द्रबाट निर्वाचित भएका छन् । महिला सदस्यमा फोमली बुढा, दलित महिला सदस्यमा अनिता कामी, खुला सदस्यमा टिकाराम कामी र तुलबिर बुढा विजयी भएका हुन् ।

भूमे गाउँपालिका ९

भूमे गाउँपालिका वडा नम्बर ९ मा माओवादीको प्यानलै विजयी भएको छ । त्यहाँ नेकपा एमाले र कांग्रेसलाई पछि पार्दै माओवादी केन्द्रका विनोद बुढा ७१६ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा कांग्रेसका समिर पुनले ३१२ मत र नेकपा एमालेका नन्दकुमार घर्तीले ५१ मत प्राप्त गरेको निर्वाचन अधिकृृतको कार्यालयले जानकारी दिएको छ ।

भूमे ९ मा महिला सदस्य सुनिता पुनले ६९२, दलित महिला सदस्यमा मनकुमारी नेपालीले ६९३ मतसहित निर्वाचित भए । खुला सदस्यहरुमा आइतेराम ओलीले ६८३ र अर्का खुला सदस्य गणबहादुर पुनले ६८४ मत प्राप्त गर्दै विजयी भए ।

विहान ३ बजेबाट सुरु गरिएको मतगणनामा अहिलेसम्म ९ नम्बर वडाको मात्र गत गनेर सकिएको छ । त्यहाँ जम्मा ११ सय ९२ मत खसेको थियो । सबै पालिकामा नेकपा माओवादी केन्द्रले सुरुदेखि नै अग्रता कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?