+
+

महिनावारीमा पुरानो कपडाको प्रयोग गर्दा के हुन्छ ?

डा. कुमकुम झा, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कुमकुम झा, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
२०७९ जेठ १ गते १९:४४

महिलाका लागि अनिवार्य आवश्यक्ता हो, स्यानिटरी प्याड । प्रत्येक महिलाले हरेक महिना स्यानिटरी प्याड प्रयोग गर्नुपर्ने हुन्छ । तर, सबैको हकमा यसको सहज उपलब्ध छैन ।

एक त खर्च अभाव, अर्कोतिर सहजै नपाइने । विपन्न अनि ग्रामिण क्षेत्रमा स्यानिटरी प्याड ‘आकासको फल’ जस्तै भएको छ ।

महिनावारी एउटा प्रकृति प्रक्रिया हो । महिनावारी भएका महिलाले आफ्नो सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यो समयमा थोरै लापरबाहीले पनि महिलाहरूको स्वास्थ्यमा असर ठुलो असर गर्न सक्छ ।

यो समयमा आरामदायी रहनको लागि प्राय महिलाले स्यानिटरी प्याडको प्रयोग गर्छन् । तर, नेपालमा अहिले पनि धेरै महिला महिनावारीको समयमा पुरानो कपडाको प्रयोग गर्छन् । सबै नेपाली महिला स्यानिटरी प्याडको पहुँचमा छैनन् । सर्वत्र यो उपलब्ध छैन र अर्कोतिर सबैसँग किन्ने पैसा नहुन पनि सक्छ त्यसैले कपडालाई नै सुरक्षित तरिकाले कसरी प्रयोग गर्ने भन्नेबारे जानकारी धेरै महिलाहरूको लागि महत्त्वपूर्ण विषय हो ।

पछिल्लो केही वर्ष यता नेपालमा धेरै महिलाले  प्याडको प्रयोग गर्न थालेका छन् । गाउँको तुलनामा सहरमा प्याडको प्रयोग बढी हुन्छ । तर, अहिले विभिन्न संघ संस्थाहरूले गाउँमा पनि प्याड वितरण गर्ने भएकोले प्याड प्रयोग गर्नेहरूको संख्या बढेको हुनुपर्छ । स्यानिटरी प्याड पुन प्रयोग गर्न नमिल्ने भएकोले यो धेरै मात्रामा सुरक्षित छ । कपडाको तुलनामा यो आरामदायी पनि छ ।

जुन ठाउँमा स्यानिटरी प्याड  सजिलै उपलब्ध हुँदैन त्यो ठाउँमा महिलाहरूले कपडाको प्रयोग प्याडको रूपमा गर्न सक्छन् । कपडाले धेरै रगत सोस्न नसक्ने भएकोले धेरै महिलाले धेरै बाक्लो कपडाको प्रयोग गर्छन् । तर, धेरै बाक्लो कपडा प्रयोग गर्दा हिँड्न अफ्ठेरो हुन्छ । त्यसैले सुतीको कपडालाई ठिक्क बाक्लो हुने गरी पट्याएर प्रयोग गर्नु उचित हुन्छ ।

स्यानिटरी प्याड किन्ने पैसा नभएका महिलाहरूले प्याडको रूपमा नयाँ कपडालाई प्रयोग गर्न पनि सक्दैनन् । त्यसैले, उनीहरूले थोत्रो कपडालाई नै राम्ररी सफा गरेर स्यानिटरी प्याडको रूपमा प्रयोग गर्न सक्छन् । तर, थोत्रो कपडा प्रयोग गर्दा केही कुराहरूमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

पुरानो कपडा प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी

कपडालाई साबुन पानीले राम्ररी धोएर घाममा सुकाउनु पर्छ । घाममा राम्ररी सुकाएपछि कपडामा भएको कीटाणु नष्ट हुन्छ । राम्ररी सुकिसकेपछि त्यसलाई स्यानिटरी प्याड जसरी नै पट्याएर प्रयोग गर्न सकिन्छ ।

कपडाले धेरै रगत सोस्न नसक्ने भएकोले त्यसलाई बेला बेलामा परिवर्तन गर्नको लागि अर्को कपडा पनि साथमा राख्नु पर्ने हुन्छ ।

प्रयोग गरिसकेको कपडालाई फेरी साबुन पानीले राम्ररी धोएर घाममा सुकाउनु पर्छ । घाममा राम्ररी सुकिसकेपछि त्यसलाई पुन प्रयोग गर्न सकिन्छ ।

स्यानिटरी प्याड जस्तो एक पटक प्रयोग गरेपछि यसलाई फ्याँक्नु पर्दैन । त्यही कपडालाई पटक पटक प्रयोग गर्न सकिन्छ । तर, त्यसलाई प्रयोग गर्नुअघि राम्ररी सफा भने गर्नु पर्छ ।

स्यानिटरी प्याड र कपडाको विकल्पमा महिनावारी कप प्रयोग गर्न सकिन्छ

सबै नेपाली महिलाहरू स्यानिटरी प्याडको पहुँचमा छैनन् । सबै ठाउँमा यो उपलब्ध पनि छैन, यस्तो अवस्थामा महिलाहरूले स्यानिटरी प्याडको विकल्पमा महिनावारी कपको प्रयोग गर्न सक्छन् । अहिले धेरै अनलाइन कम्पनीहरूले महिनावारी कपको डेलिभरी गाउँ गाउँमा पनि गर्दिने भएकोले पहुँचको हिसाबले पनि यो सजिलो उपाय हुन सक्छ ।

महिनावारी कप महँगो छ भनेर पनि यसको प्रयोग गर्न धेरै महिलाहरू डराउने गर्छन् । तर, लामो समय एउटा कपलाई सफा गरेर पटक–पटक प्रयोग गर्न सकिने भएकोले यो प्याड भन्दा निकै किफायती हुन्छ । अहिले धेरै सङ्घ संस्थाहरूले गाउँहरूमा स्यानिटरी प्याड वितरण गरिरहेका हुन्छन् । सङ्घ संस्थाले उपलब्ध गराएको प्याड सकिए पछि महिलाहरूले फेरि कपडा नै प्रयोग गर्नु पर्ने हुन्छ । त्यसको सट्टामा महिनावारी कप वितरण गरियो भने महिलाहरूलाई धेरै सहज हुन्छ ।  कपलाई  एक वर्षसम्म पुन प्रयोग गर्न मिल्ने भएकोले यो किफायती र सजिलो पनि हुन्छ ।

प्याड र कपडाको तुलनामा महिनावारी कप प्रयोग गर्न सजिलो पनि छ । आफूलाई कुन आकारको कप मिल्छ भन्ने कुरा थाहा पाउनु पर्छ । यसबारे चिकित्सक वा बिक्रेतासँग पनि बुझ्न सकिन्छ । कप प्रयोग गर्नुअघि त्यो सफा र सुख्खा हुनुपर्छ । यो कप एकदमै नरम हुने भएकोले कपलाई दोबराएर र योनिभित्र राख्नुपर्छ । त्यसपछि त्यो आफैँ खुल्छ र रगत नचुहिने गरी सिल गरेर बस्छ ।

कपलाई सफा गर्न पनि एकदमै सजिलो छ । कपलाई ८ देखि १२ घण्टामा निकालेर खाली गर्नुपर्छ र त्यसलाई पखालेर पुन प्रयोग गर्न सकिन्छ । महिनावारी सकिएपछि ५ देखि १० मिनेट कपलाई तातोपानीमा उमालेर सफा गरेर सुख्खा बनाएर राख्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?