२५ कात्तिक, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव आज एकाबिहानै मधेश भवन प्रवेश गरेका छन् । नियुक्ति र शपथलाई लिएर हिजो सोमबार दिनभर मधेश भवनको अवस्था तनावग्रस्त बनेकाले उनी आज बिहानै मधेश भवन प्रवेश गरेका हुन् ।
प्रदर्शनको क्रममा भएको तोडफोडको निरीक्षण गर्दै उनले हिजो भएको घटना र त्यसप्रति प्रहरी प्रशासनको भूमिकाप्रति असन्तुष्टि पोखे । उनले राष्ट्रिय झण्डाको अपमान, कर्मचारीमाथि कुटपिट र सार्वजनिक सम्पतिमा क्षति हुँदा प्रहरी किन मूकदर्शक बने, किन पक्राउ गरेनन् भन्ने प्रश्न गरेका थिए ।
उनले दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्त भएका उनले सोमबार बिहान बर्दिबासको पानस होटलमा शपथ ग्रहण गरेपछि त्यसको विरोधमा मधेश भवन भित्र र बाहिर तोडफोड भएको थियो ।
हिजो दिनभर अवस्था तनावपूर्ण भएकाले उनी जनकपुरधामको निजी निवासमा बसेका थिए ।
निवासमा सोमबार बेलुका केही सञ्चारकर्मीसँग कुरा गर्दै नवनियुक्त मुख्यमन्त्री यादवले बाध्यात्मक परिवेशमा बाटोमै शपथ लिनुपरेको बताए ।
प्रतिक्रिया 4