+
+

पर्सामा साढे ८ हजार मत गन्दा ४,८७९ मत बदर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ८:४२
फाइल तस्वीर

२ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारले पाएको भन्दा बदर मतको संख्या बढी देखिएको छ ।

चारवटा वडाको आठ  हजार  ७७३ मत गणना गर्दा मेयर पदको दुई हजार ३३९ र उपमेयर पदको चार हजार ८७९ मत बदर भएको छ ।

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले दुई हजार ८३३ र लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ४७४ मत पाएका छन् । तर बदर मत भने उम्मेदवारले पाएको मत भन्दा दुई हजार ४६ बढी मत अर्थात चार हजार ८७९ पुगेको छ ।

चारवटा वडाको आठ  हजार  ७७३ मत गणना गर्दा मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले चार हजार २६८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले एक हजार ९३९ मत ल्याएका छन् । राप्रपाका गिरीश गिरीले १३८ मत पाएका छन् ।

वीरगञ्जमा सत्तारुढ गठबन्धनले मेयरमा जसपा उम्मेदवार र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेका थिए । त्यस्तै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले पनि मेयर उपमेयरमा तालमेल गरेका छन् । दलहरुको केन्द्रीय नेतृत्वले स्थानीय नेता कार्यकर्ताको चाहना विपरीत तालमेलको निर्णय गर्दाको असन्तुष्टि मतपत्रमा पोखिँदा बदर मत बढेको नेताहरु बताउँछन् ।

वीरगञ्जमा लोकतान्त्रिक समाजवादी पार्टी र नेपाली कांग्रेसका स्थानीय नेताहरु गठबन्धन गर्ने पक्षमा थिएनन् । त्यस्तै उनीहरुले भित्री रुपमा आफ्नो दलको प्रतिनिधि भएको पदमा मात्र मत मागेका थिए । मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले उम्मेदवार नभएको ठाउँमा पनि धेरै मत परेको जानकारी दिए ।

‘उप प्रमुखमा सदर मत भन्दा बदर मत बढी छ, मतदाता शिक्षाको अभावमा उम्मेदवार नभएको ठाउँमा पनि मत हालेको देखिन्छ’ उनले भने ।

पौडेल अघि भन्छन्, ‘दलहरुले मलाई भोट देऊ भने, तर कसरी दिने ? भनेर नसिकाएकाले बदर मत बढी देखियो ।’

वीरगञ्जमा दलका प्रतिनिधिहरुले स–सानो कुरामा विवाद गरेर गणनामा ढिलाइ भइरहेको पनि उनले बताए । ‘कर्मचारी निन्द्रा, भोक, प्यास नभनी मत गनिरहेका छन्, दलका प्रतिनिधिहरु स–सानो कुरामा पनि निहुँ खोज्छन्’, उनले भने, ‘एकातिर मतगणनाले गति लिन सकेको छैन, भने अर्कोतिर कर्मचारी मतगणना गर्न मानिरहेका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?