+
+

उदयपुरमा मत गणना भइरहेका ६ मध्ये ४ पालिकामा गठबन्धनको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ११:१३
Photo Credit : फाइल तस्वीर

२ जेठ, उदयपुर । उदयपुरका आठ स्थानीय तहमध्ये ६ वटामा मतगणना जारी रहँदा गठबन्धनको अग्रता देखिएको छ । गठबन्धनको अग्रता देखिएका चार पालिकामध्ये लिम्चुङबुङ गाउँपालिकाको अन्तिम परिणाम आइसकेको छ ।

उक्त पालिकामा गठबन्धनतर्फको नेकपा माओवादी केन्द्रका मेजर राई अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा गठबन्धनतर्फकै नेपाली कांग्रेसका पुष्पलाल राई विजयी भएका छन् ।

मत गणना भइरहेका बेलका नगरपालिका, रौतामाई गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा गठबन्धनको अग्रता छ । बेलकामा गठबन्धनतर्फको अध्यक्ष उम्मेदवार नेपाली कांग्रेसका अशोक कार्कीले ४,५७० मत र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका मनोज तामाङ ३,४७३ मतका साथ अग्रस्थानमा छन् ।

कार्कीलाई निर्वतमान मेयर समेत रहेका नेकपा एमालेका उम्मेदवार दुर्गाबहादुर थापाले २,९६३ मतका साथ पछ्याइरहेका छन् ।

उदयपुरगढीमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष उम्मेदवार मानबहादुर केप्छाकी मगर अगाडि छन् । उनले हालसम्म ३,५३३ मत पाएका छन् भने एमालेका गोपाल खत्रीले २,८०६ मत पाएका छन् ।

रौतामाईमा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार वीरेन्द्र मगर २,८०२ मतका साथ अग्रस्थानमा छन् । उनलाई एमालेका भरतबहादुर थापाले २,३१९ मतका साथ पछ्याइरहेका छन् ।

दुईवटा पालिकामा भने एमालेको अग्रता रहेको छ । चौदण्डीगढी नगरपालिका र ताप्ली गाउँपालिकामा एमालेले अग्रता लिइरहेको छ । चौदण्डीगढीमा एमालेका मेयर उम्मेदवार कालु लामा ३,८३२ मतका अग्रस्थानमा छन् भने कांग्रेसका खगेन्द्र राईले २,९४८ मत ल्याएका छन् ।

ताप्ली गाउँपालिकामा सुरुदेखि नै एमालेले अग्रता कायम गरेको छ । एमालेका अध्यक्ष उम्मेदवार बाबुराम राईले १,४४२ मत पाएका छन् भने उनलाई माओवादी केन्द्रका ढुङ्गराज विकले ८० मत अन्तरमा पछ्याइरहेका छन् ।

बाँकी दुई नगरपालिका त्रियुगा र कटारीको मतगणना भने अझै सुरु हुन सकेको छैन । त्रियुगा-१२ को पुनः निर्वाचन अझै टुङ्गो लागेको छैन । सो वडाको मतदानपछि मात्र गणना सुरु हुने जनाइएको छ । कटारी–१० मा गोली लागेर एक युवकको मृत्यु भएपछि तनाव सिर्जना भएका कारण मतपेटिका सोमबार मात्र गणनास्थलमा ल्याइएको छ । शवको पोष्टमार्टम र अत्येष्टि गरेपछि मात्र गणना हुने अवस्था रहेको कटारी निर्वाचन अधिकृत राजकुमार राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?