+
+

विराटनगर ब्रिफिङ : गठबन्धनमा त्रास, एमालेलाई आश

हरि अधिकारी हरि अधिकारी
२०७९ जेठ २ गते २२:१८

२ जेठ, विराटनगर । विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनको बलियो मानिएको चार वटा वडाको नतिजा सार्वजनिक हुँदा मिश्रित नजिता आएको छ । सत्ता गठबन्धले दुई, एमाले र स्वतन्त्र उम्मेदवारले १–१ वडाध्यक्ष जितेका छन् । मेयरमा गठबन्धन र उपमेयरमा नेकपा एमाले उम्मेदवारको अग्रता छ ।

वडा नम्बर १६ मा कांग्रेस, १७ मा जसपा, १८ मा स्वतन्त्र र १९ वडामा एमालेले छ । गढ मानिएकै वडाबाट अपेक्षित मत नआएको गठबन्धनका नेताहरु बताउँछन् । कांग्रेसका बागी उम्मेदवारले ०७४ मा जितेको १९ नम्बर वडा यसपटक एमालेले जितेको छ ।

एमालेका श्याम घिमिरेको प्यानल नै निर्वाचित भएको छ । यो वडामा एमालेका उम्मेदवार सागर थापाले ९८८ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका नागेश कोइरालाले एक मत बढी पाएका छन् ।

१८ नम्बर वडामा स्वतन्त्र उम्मेदवार जितेन्द्र साह निर्वाचित भए । मेयरमा भने जसपा परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले लिड गरेका छन् । नागेशले ५८७ र सागरले ३०९ मत पाउँदा उमेशले ७५४ मत पाएका छन् । ०७४ मा जसपाका सञ्जय मण्डल यो वडाबाट निर्वाचित भएका थिए ।

१७ नम्बर वडामा जसपाका समिर कमर दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्वाचित भए । यो वडाबाट नागेशले १,१७७ र सागर थापाले ६८१ मत पाएका छन् । १६ नम्बर वडाबाट कांग्रेसका उद्धव भुजेल निर्वाचित भए । यो वडाबाट मेयरमा भने नागेशले ८०८ र सागरले ५२३ मत पाए । ०७४ को निर्वाचनमा यो वडाबाट कांग्रेसकै मनोज सुब्बाले वडाध्यक्ष जितेका थिए ।

गणना भइरहेका १ र २ नम्बर वडामा नागेशले बढी मत पाएका छन् । ०७४ मा १ नम्बर वडाबाट कांग्रेस र २ बाट एमालेले जितेको थियो । २ नम्बर वडा बाहेक गणना सकिएको र जारी भइरहेको क्षेत्र सत्ता गठबन्धनको प्रभाव क्षेत्र हो ।

कांग्रेस नगर सभापति दीपक चापागाई अपेक्षाअनुसार नागेशले मत नपाएको बताउँछन् । ‘१७ र १८ नम्बर वडा तुलनात्मक रुपमा मत बढेको छ, तर गठबन्धनको अपेक्षा अनुसार मत आएन’ चापागाईँ भन्छन्, ‘१९ नम्बर वडामा मत बिग्रिएको देखिन्छ ।’

वडा नम्बर १६, १७ र १८ जसपाको आधार क्षेत्र हो । तर जसपाबाट विद्रोह गरी लाल्टिन चिह्न लिएर मेयरका उम्मेदवार बनेका उमेशले अपेक्षित मत नपाएको कांग्रेसका नेताहरु बताउँछन् । ‘दक्षिणी क्षेत्रमा लाल्टिनलाई जसरी सोचिएको थियो, त्यो अनुसार मत आएको देखिएन’, कांग्रेस नगर सभापति चापागाईंले भन्छन्, ‘तर पनि महानगरमा हामी ६–७ हजार मतान्तरले जित्नेमा आशावादी छौं ।’

एमालेका उम्मेदवार थापा पनि जसपाकै प्रभाव क्षेत्रबाट राम्रो मत ल्याएको दावी गर्छन् । ‘अहिले गणना भइरहेका ६ वटा वडामा म तीन हजार मतले पछाडि परेपनि अन्य वडाबाट कभर हुन्छ,’ थापा भन्छन्, ‘गणना भएको वडा सत्ता गठबन्धनको गढ हो, हामीलाई राम्रो मत आइरहेको छ ।’

एमालेले विराटनगरको बजार क्षेत्रबाट राम्रो मत आउने आँकलन गरेको छ । बजार क्षेत्रमा ३, ४, ५, १० र ११ नम्बर पर्छ । उम्मेदवार थापा ४ नम्बर वडाका बासिन्दा हुन् ।

३, ४ र १० नम्बर वडाबाट कांग्रेस विवादको लाभ एमालेलाई मिल्ने थापाको विश्वास छ । ‘दक्षिण क्षेत्रका वडाहरुबाट राम्रो मत आइरहेको छ । हामी चुनाव जित्छौं’, थापा भन्छन् । ०७४ को चुनावमा ५ र ११ नम्बर वडा जितेको थियो ।

गठबन्धनलाई बदरको त्रास

सत्तारुढ गठबन्धनका नेताहरु बदर मतले चिन्तित बनेका छन् । सोमबार दिउँसोसम्म १६ हजार ३४३ मत बन्दा मेयरमा ५,१४६ र उपमेयरमा ७,२११ मत बदर भएको छ । बदर भएको अधिकांश मत उम्मेदवार नभएको चिह्नमा परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकी बताउँछन् ।

१६ हजार ३४३ मत गणना गर्दा मेयरमा गठबन्धनका नागेशले पाँच हजार १८३, एमालेका सागरले तीन हजार ६६७, स्वतन्त्र उम्मेदवार उमेशले एक हजार ७२० र राप्रपाका प्रह्लाद साहले ८३२ मत पाएका छन् ।

उपमेयरमा एमालेकी शिल्पा कार्कीले गठबन्धनबाट उम्मेदवार रहेका जसपाका अमरेन्द्र यादवलाई पछि पारेकी छन् । कार्कीले चार १८२, अमरेन्द्रले तीन ८३, स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ९२२ मत पाएकी छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?