+
+

अमेरिकी उपविदेशमन्त्री जेया भारतमा, नेपाल पनि आउने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १७:४५

३ जेठ, काठमाडौं । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपविदेशमन्त्री तथा तिब्बती मुद्दा हेर्ने विशेष संयोजक उज्रा जेया मंगलबारदेखि भारत र नेपालको ६ दिने भ्रमण सुरू गरेकी छन् ।

उपविदेशमन्त्री जेया मंगलबार भारत आइपुगेकी छन् । भारतमा तीन दिन बिताएपछि आगामी शुक्रबार जेया नेपाल आउने कार्यक्रम रहेको छ ।

जेया आफैंले पनि ट्वीटरमार्फत आफू भारत पुगेको जानकारी गराएकी छन् । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले सोमबार जारी गरेको सूचना अनुसार १७ देखि २२ मेसम्म विदेशमन्त्री जेयाले भारत र नेपालको भ्रमण गर्ने तय भएको छ ।

भ्रमणका क्रममा उनले मानव अधिकार र लोकतान्त्रिक शासन व्यवस्थाका लक्ष्यहरूमा हुने सहयोगलाई थप फराकिलो बनाउन र मानवीय प्राथमिकताहरू विस्तार गर्ने विषयमा छलफल गर्नेछन् । साथै, लोकतन्त्रका लागि शिखर सम्मेलनका लागि यो वर्षको कार्यकालमा भारत र नेपालसँग साझेदारी गर्ने विषयमा पनि उनले छलफल गर्ने भएकी छन् ।

जेयालाई जो बाइडेन सरकारले गत वर्षमा डिसेम्बरमा तिब्बत मुद्दा हेर्ने विशेष संयोजक नियुक्त गरेको थियो । भारतीय सञ्चार संस्थामा प्रकाशित समाचारहरूका अनुसार उनले भारतको हिमाञ्चलमा प्रदेशमा रहेको धर्मशाला भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यहाँ उनले तिब्बती धर्म गुरु दलाई लामा र तिब्बतबाट निर्वासित विशिष्ट नेताहरूसँग भेट गर्ने भएकी छन् ।

बाइडेन नेतृत्वमा आइसकेपछि अमेरिकी सरकारका तर्फबाट दलाइ लामासँग भेट गर्नेमध्ये उनी विशिष्ट तहकी व्यक्ति हुन् ।

प्रतिनिधिमण्डलमा यूएसएआईडीको एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?