+
+

ललितपुरमा कांग्रेसले माओवादीलाई धोका दिएको होइन : चिरीबाबु महर्जन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १८:५४
फाइल तस्वीर

३ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाको मेयर उम्मेदवार चिरीबाबु महर्जनले ललितपुरमा कांग्रेसले माओवादी केन्द्रलाई धोका नदिएको बताएका छन् । मंगलबार अनलाइनखबरसँगको कुराकानीमा उनले माओवादी केन्द्रलाई जनताले नै मत नदिएको दाबी गरे ।

चौथो दिनको प्रारम्भिक मत गणनामा ललितपुरको मेयरमा महर्जनको मत अग्रता बढ्दै जाँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमेयर उपमेयर उम्मेदवार बाबुराज बज्राचार्यले कांग्रेसको उम्मेदवार नै नभएको पदमा भन्दा थोरै मत पाएका छन् । गठबन्धनबाट मेयरमा पूर्ण सहयोगसहित मतदान हुँदा उपमेयरमा भने बदमासी भएको भन्दै आलोचना भएको छ ।

‘चुनाव प्रचारप्रसार, घरदैलो र कोठे बैठकमा माओवादी र हामी सँगै छौं,’ मेयर उम्मेदवार महर्जनले भने, ‘तर मैले मत पाउने, तर माओवादीको साथीले नपाउने हुनु दुःखद् छ ।’

गठबन्धनबाट ललितपुर महानगरमा माओवादीले मत नपाउनुमा दुई कारण रहेको महर्जनको तर्क छ । पहिले जनताले नै माओवादीलाई मत नदिएको हुनसक्ने र दोस्रो भने निर्वाचन आयोगले मतदाता शिक्षा दिन नसक्दा गठबन्धनले अपेक्षाकृत मत नपाएको महर्जनले बताए ।

ललितपुर महानगरको मतपत्रमा प्रायः एकछापे भोट खसेको उनले बताए । रुख भए सात छाप रुख र सूर्य वा अर्को कुनै दल भए सबै सातै छाप सोही दलमा आएको पाइएको छ । जसका कारण कांग्रेसको उम्मेदवार नै नभएको उपमेयर पद, गठबन्धनको तर्फको उम्मेदवारी नै नदिएको दलित महिला सदस्य पदमा धेरै मत खसेको महर्जनले बताए ।

पछिल्लो मत परिणाम अनुसार ललितपुर महानगरको मेयरमा महर्जनले ८ हजार ५३४ मतसहित अग्रता लिइरहेका छन् भने उनलाई ३ हजार ७८५ मतका साथ नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्यले ४ हजार ३३५ ले अग्रता लिइरहेकी छन् भने माओवादी केन्द्रका बाबुराज बज्राचार्यले २ हजार ७९४ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?