+
+

दोधाराचाँदनीको मेयरमा एमालेका किशोरकुमार लिम्बु निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १४:३९

४ जेठ, महेन्द्रनगर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार किशोरकुमार लिम्बु मेयरमा निर्वाचित भएका हुन् ।

लिम्बुले ७ हजार १०४ मत ल्याउँदै नेपाली कांग्रेसका उम्मेदवार भट्टलाई पराजित गरे । भट्टले ६ हजार १७१ मत पाए ।

उपमेयरमा भने नेपाली कांग्रेसकी गंगादेवी जोशी विजयी भएकी छन् । जोशीले ६ हजार ३६५ मत पाउँदा उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी खिमा चन्दले ५ हजार ८२२ मत ल्याएकी छन् ।

दोधाराचाँदनीमा एमालेले पहिलो पटक जित हात पारेको युवा संघ नेपालका निवर्तमान अध्यक्ष वचनबहादुर सिंहले बताए । ‘२०४६ सालपछि पहिलो पटक एमाले यहाँको नेतृत्वमा पुगेको हो,’ उनले भने, ‘२०७४ सालमा उपमयेर जिते पनि मेयरमा लिम्बु हार्नु भएको थियो ।’

दोधाराचाँदनी नेपाली कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्रभाव क्षेत्र मानिन्छ । तर यसपटक कांग्रेस गढमा बहुमत वडाध्यक्षसहित एमाले विजयी भएको छ ।

को हुन् लिम्बु ?

दोधाराचाँदनी नगरपालिकाका ५० वर्षीय किशोर लिम्बु युवा नेताको रुपमा चिनिन्छन् । उनका बुवा भारतीय सेनामा कार्यरत थिए । देहरादुनमा दरबन्दी भएको बेला त्यहाँबाट नजिक पर्ने भएकाले उनले दोधारामा घरजग्गा किनेर परिवारलाई यतै बसाएका थिए ।

पुर्ख्यौली ताप्लेजुङको श्रीजंगा गाउँपालिका घर भएका लिम्बुको बाल्यकाल यतै बित्यो । काठमाडौंमा उच्च शिक्षा पढेपछि उनी दोधारा फर्केर शिक्षणमा लागे ।

लिम्बुले अंग्रेजीबाट एमए, शिक्षाबाट एमएड र व्यवस्थापनमा एमबीए गरेका छन् । राजनीतिसँगै शिक्षा क्षेत्रमा समेत जोडिएका लिम्बु यस क्षेत्रका लोकप्रिय युवा हुन् । २०४५ सालबाट राजनीतिमा लागेका उनी एमाले निकट विद्यार्थी संगठनमा आवद्ध भएर २०४६ सालको जनआन्दोलनमा सहभागी भएका थिए । त्यसपछि नेकपा एमालेको संगठन निर्माणमा सक्रिय हुँदै अहिले जिल्ला कमिटी सदस्य छन् । उनले दुई कार्यकाल नगर कमिटी अध्यक्ष भएर काम गरे । एमाले र माओवादी एकीकरणपछि पनि उनले दोधाराचाँदनीको नेतृत्व पाए ।

दोधाराचाँदनी नगरपालिका दुईतिरबाट नदीले घेरिएको टापूजस्तो छ । पूर्वमा महाकाली र पश्चिममा जोगबुढा नदीले घेरेको यो नगरपालिकामा कटान र डुबानको समस्या बढी छ । यही नगरको नेतृत्व लिम्बुले पाएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बीरबहादुर सुनारसँग झिनो मतले पराजित भएका उनी यसपटक विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?