
जेठ, चितवन । सत्ता गठबन्धन र नेकपा एमालेले प्रतिष्ठाको विषय बनाएको भरतपुर महानगरपालिकाको ६ वटा वडाको मतगणना सकिएको छ ।
भरतपुरको मेयरका लागि २७ उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच छ । नेपाली कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पौडेलले पाउने मतले पनि रेनु वा विजय को मेयर बन्छ भन्ने एक हदसम्म निर्धारण गर्छ ।
पौडेलले काट्ने मतले भरतपुर महानगरको बागडोर सम्हाल्न सहज हुने एमालेको बुझाइ थियो । ७ नम्बर वडाको गणना चलिरहँदा एमाले दबावमा पर्न थालेको छ । किनकी पौडेलले अपेक्षा गरेअनुसार कांग्रेसको मत काटेका छैनन् भने एमालेबाटै केही मत माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पाएकी छन् ।
वडा नं. ४ को गणनासम्म पौडेलले गठबन्धनको मत काटेकै कारण रेनु र विजयको मतान्तर उति ठूलो थिएन । अग्रता पनि कम थियो । वडा नं. १ को मतगणना सकेर २ को सुरु गर्दा रेनुले कायम गरेको १२१ मतको अग्रता वडा नं. २ बाट ३ मा जाँदा निकै कम भएको थियो । वडा नं. ३ बाट ४ मा जाँदा विजयले रेनुलाई उछिन्दै ५० मतको अग्रता लिएका थिए । एमाले नेताहरुका अनुसार यो अग्रता अपेक्षाभन्दा कम हो ।
यद्यपि २०७४ को चुनावमा कांग्रेस समर्थक तथा सुभेच्छुकबाट एमाले उम्मेदवार देवी ज्ञवालीले पाएको मत यो पटक पौडेलतिर गएको भनेर चिक्त बुझाए । तर एमालेलाई टाउको दुखाई भने एमालेबाटै रेनुलाई गएको मत थियो । वडा नं. २ मा केही मतहरु मेयरमा रेनुलाई र बाँकी पदमा एमाले उम्मेवारलाई गएको देखियो । यो क्रम छिटफुट होला भन्ने ठानेका एमालेका नेताहरु वडा नं. ५ मा पुगेपछि भने झस्किएका छन् । किनकी अरु पदमा एमालेलाई भोट दिएकाहरुले मेयरमा रेनुलाई मत दिएको धेरै भेटिएको छ ।
त्यसकै बलमा रेनुले अग्रता बढाएकी छन् । गतगणना स्थलमा रहेका एमाले नेताहरुका अनुसार अहिले गणना भइरहेका वडाहरु कांग्रेसको बलियो पकड भएको क्षेत्र मानिन्छ र, त्यहाँबाट कांग्रेसको मत रेनुले राम्ररी पाएको देखिन्छ ।
वडा नं. ४ मा बागी उम्मेदवार पौडेलले कांग्रेसको मत आफूतिर जति तानेका थिए, ५, ६ र ७ मा त्यति तान्न सकेको देखिएन । त्यस्तै वडाका एमालेका उम्मेदवारले पाएको मत विगतभन्दा बढेको देखिन्छ तर, वडाध्यक्षका उम्मेदवारले पाएको मत मेयरका उम्मेदवार विजयले पाएका छैनन् ।
वडा नं. १, २, ३ मा पनि यस्तो देखिएको थियो । जस्तो, भरतपुर महानगरको वडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवारले १३१३ मत पाउँदा मेयरमा सुवेदीले १०८७ मत पाएका छन् । । वडा नम्बर २ मा वडाध्यक्षका उम्मेदवारले २०५८ मत पाउँदा मेयर पदमा सुवेदीले १८२८ मत पाएका छन् ।
२०७४ मा एमालेले जितेकामध्ये वडा नम्बर २, ४ र ५ को नेतृत्व यो गुमाएको छ भने कांग्रेसको गढ मानिएको भरतपुर ३ मा भने एमालेले वडाध्यक्ष जितेको छ ।
अब के होला ?
२०७४ मा एमालेले १४ मत अन्तरले जितेको वडा नं. ७ का वडाध्यक्ष एकीकृत समाजवादीमा गएर पुनः वडाध्यक्ष को उम्मेदवार बनेक छन् । यहाँ कांग्रेस र माओवादीको समेत राम्रै मत रेनुलाई आउने देखिएको छ, जसले रेनुले विजयसँगको मतान्तर अझ बढाउने सम्भावना छ । नेताहरुका अनुसार वडा नं. ८ र ९ सम्म यो क्रम रहनसक्छ ।
वडा नं. १०, ११ र १२ मा बढी मतदाता छन्, जहाँ माओवादी र कांग्रेसको प्रभाव कम भएको विगतले देखाउँछ । अहिले रेनुले लिएको अग्रता यिनै वडाबाट घटाउन सकिने एमालेका जिल्ला नेताहरुको आशा छ । तर अरु वडामा जस्तै यहाँ पनि एमालेको मत रेनुलाई नगएको होला भन्न सक्ने अवस्था छैन ।
एमालेले आफू बलियो मानेको वडा नं. ११ मा केही मत रेनुलाई गएको चर्चा एमाले वृत्तमा छ । त्यहाँको सुकुम्वासी बस्तीको मत आफूतिर तान्न माओवादी र कांग्रेसले प्रयास गरेका थिए । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा भूमि आयोग, चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिको निस्सा बाँडेका कारण मत प्रभावित हुन सक्ने एमालेको भनाइ छ ।
वडा नं. १० प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल र वडा नं. १२ विजय सुवेदीको वडा हो । यहाँबाट अरु वडाहरुमा जस्तो एमालेको मत रेनुलाई नगए तीन हजारसम्मको अग्रता भेट्टाउन सकिने एमालेका नेता देवी ज्ञवाली बताउँछन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा प्रचण्ड नजिक भएका, तर हाल एमालेमा रहेकाहरुले पनि रेनुलाई मत दिएको हुनसक्ने एमालेको आशंका छ ।
वडा नं. १३ माओवादी बलियो भएको वडा हो । वडा नं. १४, १५, १७, १८, १९, २० र २१ कांग्रेस बलियो भएका वडा हुन् । वडा नं. २२, २३, २४, २५, २७ र २८ एमाले र राप्रपा तुलनात्मक रुपमा बलियो भएको वडा मानिन्छन् । वडा नं. २९ मा एमालेको प्रभाव छ । यी वडाहरुमा कांग्रेसको मत जगन्नाथले कति काट्छन् र रेनुले एमालेतिरबाट कति मत तान्छिन् भन्ने कुराले हारजित निर्धारण गर्नेछ ।
प्रतिक्रिया 4