+
+

त्रिभुवन विश्वविद्यालयले १० महिनासम्म दिएन नतिजा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते २०:४४

४ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको अहिलेसम्म नतिजा सार्वजनिक गरेको छैन । तीन वर्षे स्नातक तहको दोस्रो वर्षको परीक्षाको एक वर्ष बित्दा पनि नतिजा सार्वजनिक नगरेपछि विद्यार्थी अन्योलमा परेका छन् ।

समयमा त्रिविले नतिजा प्रकाशित गरेको भए दोस्रो वर्षमा विषय लाग्दा पनि विद्यार्थीको पढाइ ढिलो हुँदैनथ्यो । फेल भएको विषयको परीक्षा दिएर पनि तेस्रो वर्षको नियमित नतिजा प्रकाशित हुँदासम्म नतिजा आइसकेको हुन्थ्यो । तर त्रिविले समयमा नतिजा प्रकाशन नगरिदिँदा फेल हुँदा एक वर्ष ढिला हुने भएको छ ।

तेस्रो वर्षको परीक्षा दिएर नतिजा कुरिरहेका महेन्द्र कठायत भन्छन्, ‘पास गरियो भने त समस्या भएन । तर, विषय लाग्यो भने अर्को एक वर्ष ढिलाइ हुने होकि भन्ने डर लागिरहेको छ ।’

स्नातकोत्तर तहको अध्ययन गर्न विदेश जाने तयारी गरिरहेका जीवन चिनाल पनि बीए दोस्रो वर्षको परीक्षाफल सार्वजनिक नहुँदा चिन्तित छन् । ‘तेस्रोको राम्रो भएको छ । तर दोस्रो वर्षको विषय लाग्यो भने अर्को एक वर्ष पढ्न पाउँदिन भन्ने पीर लागेको छ’ उनले भने ।

तेस्रो वर्षको परीक्षा दिएर बसेका अर्का विद्यार्थी टेकेन्द्र पाण्डे समयमा नतिजा नआउँदा अलमलमा परेको बताउँछन् । भन्छन्, ‘तेस्रो वर्षको पनि यस्तै गरी ढिला आउने हो कि समयमा आउने हो थाह छैन ।’

यो हप्ताभित्र प्रकाशित हुन्छ : परीक्षा नियन्त्रक

त्रिवि परीक्षा नियन्त्रण कार्यलयले यो हप्ताभित्र परीक्षा नतिजा सार्वजनिक गर्ने प्रयास गरिरहेको जनाएको छ । परीक्षा भएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम भएपनि कर्मचारी अभाव र अरु प्राविधिक समस्याका कारण समयमा निकाल्न नसकिरहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

कोभिड–१९ का कारण सञ्चालन भइरहेको परीक्षा रोकेर होम सेन्टरबाट परीक्षा दिने व्यवस्थाले नतिजा निकाल्न ढिला भएको उनको भनाइ छ । ‘विभिन्न ठाउँबाट परीक्षा लिइएको छ । विद्यार्थीको उत्तरपुस्तिका संकलन गर्न समय लाग्यो । थोरै कर्मचारी छौं । त्यसैले ढिलाइ भइरहेको हो । यो हप्ताभित्र निकाल्ने प्रयास गरिरहेका छौं’ उनले भने ।

चुनावअघि नतिजा निकाल्ने योजना भएपनि परीक्षा नियन्त्रण कार्यलयमा मतदान केन्द्र बनाएपछि थप ढिलाइ भएको जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?