+
+

कांग्रेसको विजय र्‍यालीमा आक्रमण, ६ जना घाइते

सुरेश बिडारी सुरेश बिडारी
२०७९ जेठ ६ गते १२:०३

६ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर–२७ को अध्यक्ष जितेपछि नेपाली कांग्रेसले निकालेको विजय उत्सवमा सहभागीमाथि आक्रमण भएको छ । आक्रमणमा परी ६ जना घाइते भएका छन् ।

नेकपा एमालेको वडाध्यक्षका उम्मेदवारसहितको समूहले र्‍यालीमा सहभागीमाथि आक्रमण गरेको कांग्रेसको आरोप छ ।

आक्रमणमा परी ५८ वर्षीय नेमा रेशा, ३० वर्षीय आइसा भन्ने मुन्नी खातुन, ४० वर्षीय मलिक नुनिया, १८ वर्षीय मोहमद नुराइन, ४२ वर्षीय मोहमद मियाँ र  १९ वर्षीय जाहिर हवारी घाइते भएका हुन् । उनीहरु मध्ये अधिकांशको टाउकोमा चोट लागेको छ । घाइते सबै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ४ जना उपचारपछि घर फर्किसकेका छन् भने महम्मद मियाँ र आयसा खातुनको नारायणी अस्पतालमै उपचार भइरहेको छ ।

वडा नम्बर २७ को अध्यक्षमा १५१६ मत ल्याएर कांग्रेसका हृदयनारायण प्रसाद कुर्मी विजयी भएका थिए । नेकपा एमालेका प्रदीपकुमार यादव भन्दा ४०५ मत ल्याएर कुर्मी निर्वाचित भएका हुन् । प्रदीपले १११६ मत पाए । ०७४ को निर्वाचनमा प्रदीप वडाध्यक्षमा निर्वाचित भएका थिए ।

हृदयले जितेको खुशीमा बिहीबार बेलुकी  उत्सव मनाइरहेको समयमा वडाध्यक्षमा पराजित एमालेका प्रदीपसहितको समूहले लाठीले कुटपिट गरेको घाइतेहरुले बताएका छन् । प्रदीप सहितका मानिसहरु आएर एमालेलाई भोट नहालेर कांग्रेसको विजयी र्‍यालीमा गएको भन्दै आफूहरु माथि कुटपिट भएको घाइतेहरुले बताएका छन् ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा वडाध्यक्षमा प्रदीपसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रदीपसहित ३३ वर्षीय नुर महमद र ३५ वर्षीय शर्माप्रसाद कुशवाहा पक्राउ परेका हुन् ।

घाइतेहरुले घटनामा निवर्तमान वडाध्यक्षमा पराजित उम्मेदवार प्रदीपको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएपछि सोधपुछका लागि ल्याइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

‘राति विजयी र्‍यालीमा सहभागीलाई पराजित वडा अध्यक्षसहितका मानिसले कुटपिट गरेको भन्ने खबर आयो । प्रहरी पठाएर स्थिति नियन्त्रणमा लियौं,’ उनले भने, ‘कुटपिटबाट ६ जना घाइते पनि भएका छन् । घाइतेहरुको भनाइको आधारमा उनीसहित तीन जनालाई नियन्त्रणमा लिएका हौं । संलग्नता थियो/थिएन अनुसन्धान गरिरहेका छौं ।’

एमालेका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार विजयकुमार सरावगीले भने कांग्रेसका कार्यकर्ताहरुले जितको उन्मादमा एमालेका कार्यकर्ताहरुलाई जिस्काएकाले घटना भएको बताएका छन् । उनले घटनामा वडाध्यक्षका उम्मेदवारको संलग्नता नभएको दाबी गरे । ‘ विजय र्‍याली निकाल्दा चिढ्याउने काम भयो । त्यसले गर्दा जुन दुर्घटना भयो । त्यो गलत नै हो,’ उनले भने, ‘तर घटनामा जो-जो संलग्न छन् उनीहरुलाई लैजानुपर्ने हो । प्रहरीले घटनास्थलमै नभएका वडाध्यक्षका उम्मेदवारलाई पक्रेर लगेको छ ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?