+
+
स्थानीय तह निर्वाचन २०७९ :

कर्णालीमा नेताका आफन्त पराजित

यज्ञ खत्री यज्ञ खत्री
२०७९ जेठ ६ गते १९:३२

६ जेठ, सुर्खेत । स्थानीय तह निर्वाचनमा कर्णालीका शीर्ष नेताहरूका पालिकामा आफ्नै राजनीतिक दलको मत कमजोर देखिएको छ । पूर्वमन्त्रीका श्रीमानदेखि पार्टीका प्रदेश अध्यक्षका श्रीमतीसम्म चुनावमा पराजित भए ।

केन्द्रीय स्तरका प्रभावशाली नेताहरुको पालिकामा पनि नेताका निकट मानिने उम्मेदवार पराजित भएका छन् । माओवादीका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माको गृहनगर रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा माओवादी केन्द्र पराजित भएको छ ।

माओवादीकै अर्का प्रभावशाली नेता एवं पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको गृह पालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार नै पराजित भएका छन् । कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका चन्द्रप्रकाश घर्ती निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका पार्टी उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र सुर्खेतका दुई पालिकामा पनि कांग्रेसले पराजय बेहोर्नुपर्‍यो ।

भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा कांग्रेस पराजित भएको छ । यी दुईवटै पालिकामा सता गठबन्धनका उम्मेदवारलाई हराउँदै एमाले विजयी भएको छ ।

काँग्रेस, एमाले र माओवादी केन्द्रले बलियो पकड बनाएका पालिकाहरुमा तीनै दलका उम्मेदवारले पराजय व्यहोरेका छन् ।

शीर्ष नेताहरुले आफन्तलाई उम्मेदवार बनाएकै कारण पराजय बेहोर्नु परेको राजनीतिक विश्लेषक पिताम्बर ढकाल बताउँछन् । ‘शीर्ष नेताहरुले राम्रा नेताहरुलाई पन्छाएर आफन्तलाई उम्मेदवार बनाए, पार्टीको आन्तरिक कलह मिलाउन सकेनन्, जितेका ठाउँमा सर्भिस डेलिभरी पनि राम्रो भएन’ ढकाल भन्छन, ‘त्यो कुरा जनतालाई मान्य भएन् । नराम्रोसंग पराजय बेहोर्नु पर्‍यो ।’

जनार्दशन शर्माको घर भएको वडा मुसिकोट नगरपालिका ५, मा माओवादीका सुशिल गौतमलाई पराजित गर्दै कांग्रेसका समीरजंग मल्ल निर्वाचित भएका छन् । त्यस्तै पुर्व राज्यमन्त्री समेत रहेका गोपालजी जंग शाहको वडा मुसिकोट–१३, मा कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै माओवादीका खलबहादुर खड्का निर्वाचित भएका छन् ।

प्रदेशका दुई पूर्वमन्त्रीका श्रीमान पराजित

कर्णाली प्रदेश सरकारकी दुई पुर्वमन्त्री श्रीमान पनि स्थानीय तह निर्वाचनमा पराजित भएका छन् । प्रदेश सरकारकी पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीका श्रीमान बसन्त शर्मा मुसीकोट नगरपालिका (रुकुम पश्चिम) को मेयर पदमा कांग्रेस उम्मेदवारसँग पराजित भए ।

उनी कांग्रेसका महेन्द्र केसीसँग १३ मतान्तरले पराजित भएका हुन् । केसी ६ हजार ९१४ मतसहित विजयी हुँदा शर्माले ६ हजार ९०१ मत पाए । माओवादीको वर्चश्व रहेको मुसिकोटमा काँग्रेस–एमालेको गठबन्धन थियो भने एकीकृत समाजवादी र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

त्यस्तै प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीका श्रीमान् रामबहादुर चपाईं सुर्खेतको लेकबेशी नगरपालिकामा मेयरमा पराजित भएका छन् । लेकबेशीमा नेपाली कांग्रेसका उमेशकुमार पौडेल ६ हजार ६३९ मतसहित विजयी भएका छन् भने दोस्रोमा एमालेका देवबहादुर रानाले ६ हजार ३७४ मत प्राप्त गरे । तेस्रोमा माओवादीका रामबहादुर चपाईंले ८०४ मतमात्र प्राप्त गरेका छन् ।

लेकबेशीमा उपप्रमुखमा पनि माओवादीले स्थान लिन सकेन । यहाँ एमालेकी विमला खड्लुकले ६ हजार १०९ मतसहित जित हात पार्दा उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी देउकली थापा मगरले ५ हजार ४४० मत ल्याइन् ।

पञ्चा सिंहका श्रीमान् पनि पराजित

अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहका श्रीमान पनि मेयरमा पराजित भएका छन् । सुर्खेतको पञ्चपुरी नगरपालिकामा माओवादीका केशबहादुर शाही (केशव) तेस्रो स्थानमा रहे । त्यहाँ मेयर र उपमेयरमा नेपाली काँग्रेस विजयी भएको छ ।

नगर प्रमुखमा काँग्रेसका लालविर भण्डारी पाँच हजार ९०९ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धनबहादर थापाले पाँच हजार ११८ मत ल्याए । यस्तै पञ्चा सिंहका श्रीमान केशबहादुर शाहीले दुई हजार ११८ मतमात्रै प्राप्त गरे ।

यो पालिकाको उपमेयरमा कांग्रेसकी मुक्तिदेवी रेग्मी ६ हजार ९४ मतसहित निर्वाचित भएकी छन् । एमालेकी दुर्गा कुमारी जैसीले पाँच हजार १६८ मत ल्याएकी छन् ।

कांग्रेस प्रदेश सभापतिको वडामा माओवादीको जित

नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही र प्रदेश जलस्रोत मन्त्री दिनबन्धु श्रेष्ठको गृहवडामा माओवादीले जित हात पारेको छ । जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ मा माअ‍ोवादी केन्द्र विजय भएको हो ।

जुम्ला सदरमुकाम खलंगाको मुटुमा रहेको वडा नम्बर ५ मा यसअिघ कांग्रेसले जित्दै आएको थियो । कांग्रेसको पकड क्षेत्र रहेको वडा नम्बर ५, मा कांग्रेसले आफनो वर्चश्व कायम राख्न सकेन् ।

पार्टी भित्रको आन्तरिक कलहकै कारण माओवादीले जितेको नेताहरु बताउँछन् । त्यहाँ नेकपा माओवादीका बिर्ख कार्की वडाध्यक्षमा विजयी भएका छन् ।

सल्यानमा ज्वाला र शाहले आफ्नै वडा गुमाए

फुटका कारण एमाले र एकीकृत समाजवादीका केन्द्रीय नेताले सल्यानमा आफ्नै वडामा पनि पार्टीलाई जिताउन सकेनन् । एमालेका पोलिटब्यरो सदस्य गुलावजंग शाह र एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिवसमेत रहेका प्रकाश ज्वालाले आफ्नै वडामा पार्टीको जित निकाल्न सकेनन् ।

ज्वालाको वडा बनगाड कुपिण्डे नगरपालिका–१ मा एकीकृत समाजवादीले हार व्यहोरेको छ भने यो वडामा नेपाली कांग्रेसले जितेको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा यो वडा एमाले एक्लैले जितेको थियो ।

एमालेका पोलिटब्युरो सदस्य शाहले पनि आफ्नो वडामा एमालेको विरासत गुमाएका छन् । शाहको वडा रहेको बनगाड कुपिण्डे नगरपालिका–७ मा एमालेले हार व्योहोरेको छ । यो वडामा माओवादी केन्द्रका जीवनसिंह ठकुरीको प्यानलै विजयी भएको छ । ०७४ को स्थानीय निर्वाचनमा यो वडा पनि एमालेले जितेको थियो ।

ज्वाला र शाहको एउटै पालिका रहेको बनगाड कुपिण्डेमा एमाले २ वटा वडामा सीमित भयो भने एकीकृत समाजवादीले एउटा मात्रै जितेको छ । दुवै नेता केन्द्रीय राजनीतिमा भए पनि वडामा भने आफ्नो विरासत जोगाउन सकेनन् । यो नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कर्ण बुढाथोकी विजयी भएका छन् ।

एमालेका प्रदेश अध्यक्षकी श्रीमती पनि पराजित

नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहको गृहपालिका दैलेखको ठाँटीकाँध गाउँपालिकामा एमाले पराजित भएको छ । कार्यकर्ताको चरम असन्तुष्टिका बीच अध्यक्ष शाहले आफनी श्रीमती लक्ष्मीदेवी शाहलाई गाउँपालिकाको अध्यक्षको टिकट दिलाएका थिए ।

कार्यकर्ताहरुले चुनावमार्फत उम्मेदवार चयन गर्न भाँजो हालेको र पार्टीको गाउँ कमिटीका सदस्यलाई अध्यक्ष पदमा टिकट लिएको आरोप प्रदेश अध्यक्ष शाहलाई लागेको थियो । गाउँपालिकाको अध्यक्षमा ५ जना पार्टीका सिनियर नेताहरु आकांक्षी भएपनि अन्तत शाहले आफनै श्रीमतीलाई टिकट दिएका थिए ।

अन्तत ठाँटीकाँधको अध्यक्षमा कांग्रेसका रक्षबहादुर शाही विजय भएका छन् । उनले दुई हजार ५७१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मीदेवी शाहले दुई हजार २७९ मत पाइन् । ठाँटीकाँधमा २०५४ पछिका अधिकांश निर्वाचनमा एकलौटी जित हात पार्दै आइरहेको एमालेले ०७९ मा भने हार व्यहोरेको छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?