+
+

प्रभाव क्षेत्रमा खस्कियो माओवादी, नयाँमा विस्तार

माओवादी केन्द्रले २०७४ को चुनावमा ७५३ पालिकामध्ये ८० पालिकाको प्रमुख र उपप्रमुख दुवै पद जितेको थियो । तर, पाँच वर्षपछिको चुनावमा ती ८० पालिकामध्ये २४ वटामा मात्र प्रमुख र उपप्रमुख दुवै पद जित्न सक्यो ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ जेठ ८ गते २०:४५

८ जेठ, काठमाडौं । यस वर्षको स्थानीय तह निर्वाचनको परिणामले नेकपा माओवादी केन्द्र आफ्नै प्रभाव क्षेत्रमा कमजोर बनेको देखाएको छ । तर, नयाँ ठाउँमा पनि उसैगरी विस्तार भएको देखिन्छ ।

२०७४ मा भएको स्थानीय तह चुनावमा माओवादी केन्द्रले एक महानगरपालिका, ३४ नगरपालिका, ७२ गाउँपालिका अध्यक्ष गरी १०६ पालिका प्रमुख र १११ पालिका उपप्रमुख जितेको थियो ।

यसपटक पनि अहिलेसम्मको मतगणनामा माओवादी केन्द्र १२० पालिकाको प्रमुख र १२८ पालिकाको उपप्रमुख जितेर तेस्रो स्थानमा कायम छ । मतगणना भइरहेको चितवनको भरतपुर महानगरपालिका र बाराको फतुवा विजयपुर नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।

पालिका प्रमुख र उपप्रमुख दुवैमा जितको संख्या केही बढाएको माओवादी केन्द्रले विगतमा आफ्नो प्रभाव क्षेत्र मानिएको क्षेत्रको नेतृत्व भने गुमाएको छ ।

प्रमुख र उपप्रमुख दुवै जितेका ८० मध्ये ३७

माओवादी केन्द्रले २०७४ को चुनावमा ७५३ पालिकामध्ये ८० पालिकाको प्रमुख र उपप्रमुख दुवै पद जितेको थियो । तर, पाँच वर्षपछिको चुनावमा ती ८० पालिकामध्ये २४ वटामा मात्र प्रमुख र उपप्रमुख दुवै पद जित्न सक्यो ।

ती ८० मध्ये १३ वटाको प्रमुखमा यस वर्ष पनि माओवादी केन्द्रका उम्मेदवार नै निर्वाचित भए भने उपप्रमुखमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भए । समग्रमा माओवादी केन्द्रले प्रभाव क्षेत्र दाबी गरेको ८० पालिकामध्ये ३७ वटाको प्रमुख पद जोगायो र २८ वटामा उपप्रमुख । बाँकी ४३ वटाको प्रमुख र ५२ वटाको उपप्रमुख माओवादी केन्द्रले गुमायो ।

२०७४ मा माओवादी केन्द्रले जितेका १०६ मध्ये प्रमुख र उपप्रमुख दुवै जितेका ८० बाहेक २६ वटामा प्रमुख पद मात्र जितेको थियो । ती २६ मध्ये १७ पालिकाको प्रमुख पद माओवादी केन्द्रले जोगाउन सक्यो । समग्रमा माओवादी केन्द्रले २०७४ सालमा जितेका १०६ पालिका प्रमुखमध्ये ५४ पालिका प्रमुख मात्रै जोगाउन सकेको देखिन्छ ।

नयाँमा विस्तार

प्रभाव क्षेत्रमा खस्किए पनि माओवादी केन्द्र नयाँ क्षेत्रमा विस्तार भएको देखिन्छ । २०७४ मा १०६ पालिका प्रमुख जितेको माओवादीले यसपटक १२० पालिका प्रमुख जितेको छ । जसमा ६६ नयाँ पालिका छन् । अहिले माओवादी केन्द्रले जितेका यी स्थानीय तहमा अघिल्लो चुनावमा एमाले, कांग्रेस, मधेशकेन्द्रित दलका उम्मेदवार निर्वाचित भएका थिए ।

क्र.स. प्रदेश कुल पालिका संख्या माओवादी केन्द्रले जितेको पालिका प्रमुख संख्या
२०७४ २०७९
प्रदेश नं. १ १३७ १६ (–) १२
मधेश प्रदेश १३६ २१ (–) १० (एक अग्रता)
वागमती ११९ १७ (+)२७  (एक अग्रता)
गण्डकी ८५ (+) ११
लुम्बिनी १०९ १९ (+)२५
कर्णाली ७९ २६ (–)२३
सुदूरपश्चिम ८८ १० (+)१४

प्रदेशगत रुपमा हेर्दा माओवादी केन्द्रले वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पालिका प्रमुखहरुमा जितको संख्या थपेको छ । प्रदेश १, मधेश प्रदेश र कर्णाली प्रदेशमा पालिका प्रमुखहरुमा जितको संख्या घटाएको छ । माओवादी केन्द्रले जहाँ यसपालि जितको संख्या घटाएको छ । त्यस क्षेत्रलाई माओवादी केन्द्रले विगतमा आफ्नो प्रभाव क्षेत्रको रुपमा लिंदै आएको थियो ।

प्रदेश १ मा स्थानीय पालिकाको संख्या १३७ छ । त्यसमध्ये माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा १६ वटा पालिकामा जितेको थियो । अहिले १२ पालिका प्रमुखमा सीमित भएको छ ।

२०७४ मा मधेश प्रदेशका १३६ पालिकामध्ये अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले २१ वटा पालिका प्रमुख जितेको थियो । अहिले मधेशमा उसको प्रभाव नराम्ररी खस्किएर ९ पालिका प्रमुखमा सीमित भएको छ । त्यसबाहेक रौतहटको फतुवा विजयपुर नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

चुनावअघि आफू मधेशमा बलियो रहेको भन्दै माओवादी केन्द्रले सत्ता गठबन्धनमा रहेका दलहरुसँग भागबण्डामा ४० भन्दा बढी पालिकामा दाबी गरेको थियो । सहमति नजुटेपछि मधेशका अधिकांश ठाउँमा माओवादी केन्द्रले तालमेल पनि गरेन । तर, परिणाम आउँदा माओवादीले दाबी गरे जस्तो पालिका संख्यामा जित हात पार्न सकेन ।

वागमती प्रदेशमा भने माओवादीले निकै सुधार गरेको छ । पालिका प्रमुखहरुमा जितको संख्या बढाएको छ । वागमतीका ११९ वटा पालिकामध्ये माओवादी केन्द्रले २०७४ को चुनावमा १७ वटा पालिका प्रमुख जितेको थियो । यसपालि बढाएर २६ पुर्‍याएको छ । त्यसबाहेक चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छन् ।

२०७४ मा स्थानीय तहको नेतृत्वमा माओवादी केन्द्रको सबभन्दा कमजोर उपस्थिति रहेको प्रदेशमा हो–गण्डकी । यो प्रदेशमा रहेका ८५ वटा पालिकामध्ये ०७४ को चुनावमा माओवादीले जम्मा ५ पालिका प्रमुख जितेको थियो । यसपालि यहाँ माओवादीको जित संख्या ११ पुगेको छ ।

तर माओवादीले जितेका ११ मध्ये ९ पालिका गोरखाका मात्र छन् । गोरखाबाहेक माओवादीले तनहुँको आँबुखैरेनी र बाग्लुङको ताराखोला गाउँपालिकाको प्रमुख पदमात्र जितेको छ । २०७४ सालको निर्वाचनमा जितेको लमजुङको दोर्दी गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रले यसपटक गुमाएको छ ।

लुम्बिनी प्रदेशमा एक उपमहानगरपालिकासहित १०९ वटा स्थानीय तह छन् । त्यसमध्ये २०७४ मा माओवादी केन्द्रले १९ वटामा पालिका प्रमुख जितेको थियो । यसपालि बढाएर २५ पुर्‍याएको छ ।

माओवादी केन्द्रले आफूलाई सबभन्दा ठूलो दलको रुपमा दाबी गर्दै आएको प्रदेश हो– कर्णाली । तर, यसपटक माओवादी केन्द्रले यो प्रदेशमा २०७४ को भन्दा कम पालिका प्रमुख जितेको छ । यो प्रदेशमा रहेका ७९ स्थानीय तहमध्ये अघिल्लो निर्वाचनमा २६ पालिका प्रमुख जितेको माओवादी केन्द्र यसपालि २३ पालिका प्रमुखमा सीमित भएको छ ।

सुदूरपश्चिम प्रदेशमा भने माओवादी केन्द्रले सुधार गरेको छ । यो प्रदेशमा रहेका ८८ वटा पालिकामध्ये माओवादी केन्द्रले अघिल्लो चुनावमा १० वटामा प्रमुख जितेको थियो । अहिले बढाएर १४ पालिका प्रमुख जितेको छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?