
२२ वैशाख, धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूलाई छलफलका लागि काठमाडौं बोलाएका छन् ।
प्रदेश संसदीय दलको नेताबारे उत्पन्न विवादलाई सहमतीका माध्यमबाट समाधान गर्न निर्देशन दिएका प्रचण्डले कार्यान्वयन नभएपछि फेरि प्रदेश सभा सदस्यहरुलाई काठमाडौं बोलाएका हुन् ।
२४ गते बिहान ९ बजे प्रचण्ड निवास खुमलटारमा बैठक डाकिएकाले अनिवार्य उपस्थित हुन भन्दै माओवादीको केन्द्रीय कार्यालयले प्रदेश सभा सदस्यहरुलाई म्यासेज पठाएको छ ।
१२ माघ २०८० मा माओवादी केन्द्रका बहुमत प्रदेश सभा सदस्यहरुले खगराज भट्टलाई हटाएरलाई संसदीय दलको नेता चयन गरेका थिए । अध्यक्ष प्रचण्डले भट्टलाई नै दलको नेतामा पुनर्बहाली गर्न पटक–पटक निर्देशन दिए पनि कार्यान्वयन भएको छैन । भट्टले आफ्नो पक्षमा बहुमत पुगाएको अवस्थामा दलको नेता स्वीकार गर्ने धामी पक्षले अडान लिएको छ ।
सुरुमा सभामुख बाहेक १० जना सांसदमध्ये ६ जनाको समर्थन पाएर धामी नेता बनेका थिए । तर, पछिल्लो समय शिव ओली भट्टको पक्षमा लागेपछि दुवै पक्षमा ५–५ सांसद छन् ।
अहिले भट्टको पक्षमा शिव ओली, झपट साउद, रमेश धामी, जानकी पौडेल कुवर छन् भने धामीको पक्षमा अक्कल बहादुर रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल छन् ।
प्रतिक्रिया 4