
२४ वैशाख, काठमाडौं । २०७८ पुसमा माओवादी केन्द्रले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आठौं महाधिवेशन गर्यो । नेताहरू चुनावमा प्रतिस्पर्धा गरेर नै नेतृत्व छान्ने पक्षमा थिए तर पार्टी नेतृत्वकै कारण त्यो सम्भव भएन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मात्रै कार्यक्रमको आकर्षण बनाउने गरी उनकै तस्वीर र ठूल्ठूला स्ट्याचुसँग फोटो खिचाउन नेता-कार्यकर्ता पालो पर्खिएर बसिरहेका देखिन्थे।
त्यही महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक दस्तावेज भने फरक थियो । उनको प्रतिवेदनको सार थियो- हामीले वर्ग बिर्सिएका छौं अब जनतातिर फर्किनपर्छ । सरसर्ती बुझ्दा उनको यो निष्कर्षलाई नकार्न सकिने ठाउँ पनि थिएन ।
तर, माओवादी नेता राम कार्की भने यो निष्कर्षमा पनि स्पष्टता चाहन्थे । त्यसैले उनले पूरक दस्तावेज पेस गरेरै माओवादी कहाँ कहाँ बिग्रिएको हो र अब उसले आफूलाई कसरी सुधार्नुपर्छ भन्ने खाका सुनाए । उनको प्रस्ताव थियो- हामी हाम्रो गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने सीमाभित्र बन्धक नबनाऔं ।
तर ०७९ को निर्वाचन र त्यस यताका वर्षहरूमा माओवादीले त्यही गर्यो जे उनले नगरौं भनेका थिए । अहिले पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफूहरूसँग सरकार बनाउने र ढाल्ने म्याजिक नम्बर छ भन्न छोडेका छैनन् ।
सोमबार पनि प्रतिनिधिसभा बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले भनेका थिए- जादू चलाए त चल्छ, तर अहिले चलाउने पक्षमा छैनौं । यस्ता जादुयी नम्बरका कुरा प्रचण्डले बारम्बार गर्दै आएका छन् । पार्टी अध्यक्ष प्रचण्ड यस्तै शैलीसँग सुरूदेखि नै विमति राख्थे माओवादी केन्द्रका सचिव राम कार्की ।
प्रचण्डसँग तर्क गर्ने र सुझाव दिने २०४८ सालदेखिको उनको सिलसिला एक वर्षयता भने रोकिएको छ ।
कहिले भेटेर सुझाव दिएर, कहिले बैठकहरूमा फरक मत राखेर पार्टी अध्यक्षलाई खबरदारी गर्दै आएका कार्की पछिल्लो समय त पार्टीका बैठकरूमा समेत जान छोडे । यसमा जति गर्दा पनि सुध्रन नचाहने पार्टीको नेतृत्व र गिजोलिंदै गएको मुलुकको राजनीतिलाई उनी कारक मान्छन् ।
गत आइतबार प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी पदाधिकारी बैठकमा उनी करिब एक वर्षपछि पुगेका थिए ।
एकाएक बैठकहरूमा जान छाडेका कार्की आइतबार किन बैठकमा पुगे त ? सोमबार निवासमा अनलाइनखबरसँग उनले भने- अहिले म यही दुविधामा छु । जाउँ आफ्नो पार्टीजस्तै लाग्दैन, नजाऔं अब के गर्ने कुनै निधो छैन । यही दुविधाको बीचमा हिजो चाहिं म गएँ ।
उनलाई देख्दा प्रचण्डले यत्ति भने- धेरै पछि देखिनुभयो नि ।
वास्तवमा कार्की माओवादी केन्द्रको आठौं महाधिवेशनदेखि नै दुविधामा रहेछन् । माओवादी केन्द्र छाड्ने, राजनीति नै छाड्ने या सुधारका लागि आफैंले केही पहलकदमी लिने भन्ने निर्णय गर्न नसकेर पार्टीभित्र उनको स्थिति छ र छैनको बीचमा रहेछ ।
‘म ३–४ वर्षदेखि नै लगातार दुविधामा छु । म त्यहाँ छु पनि छैन पनि । मैले सल्लाह लिएँ भने ९९ प्रतिशतले ननिस्किनु भन्छन् । कसैले मलाई निस्क भनेर सल्लाह दिँदैन,’ कार्कीले दिक्दारी पोखे, ‘बस्न मन छैन किनभने सुधारको केही पनि सम्भावना छैन ।’
२०२७ सालमा नेपाली कांग्रेसबाट औपचारिक राजनीति सुरू गरेका कार्कीको विगत आफ्नै मनको बात सुन्ने राजनीतिज्ञका रूपमा परिचित छ ।
अहिले पनि उनी वैचारिक नेताका रूपमा परिचित छन् ।
केही समय कांग्रेसमा बसेपछि उनी कांग्रेस पृष्ठभूमिको परिवार छोडेर रामराजा प्रसाद सिंहको पार्टीमा आबद्ध भएका थिए । रामराजा प्रसाद सिंह उनै हुन् जसले पहिलोपटक मुलुकमा गणतन्त्रको माग गरेका थिए ।
चे ग्वेभाराले नेपालमा गुरिल्ला आन्दोलन जरूरी छ भनेपछि त्यही बाटोमा लागेका सिंहले २०४२ सालमा सिंहदरबारमा वम विष्फोट गराएका थिए । त्यतिबेला कार्की यिनै रामराजाप्रसाद सिंहको पार्टीमा आवद्ध थिए । अरू कम्युनिष्टहरूले भन्दा पहिले नै गणतान्त्रिक धार पकडेकाले होला कार्की माओवादीका अरू नेताहरूको तुलनामा धेरै जेल बस्नुपर्यो ।
पटक-पटक गरेर जिन्दगीको १५ वर्ष त कार्कीले जेलमै बिताएका छन् । सायद यही पृष्ठभूमि र विरासतका कारण हो, कार्की गलत प्रवृत्तिका विरुद्ध खरो प्रश्न गर्छन् ।
तर, पछिल्लो समय नेपाली राजनीतिमा प्रश्नहरू बर्जित जस्तै छन् । यो महारोगबाट उनको पार्टी माओवादी केन्द्र पनि ग्रसित छ । जनतासँग भेटेर फर्कियौं भनेका माओवादीका नेताहरू केही बदलिएका पो छन कि भनेर बैठकमा पुगेका कार्कीलाई बैठक अबधिभर बस्न पनि कठिन भयो । उनले आत्मप्रशंसामा मुग्ध नेताहरू देखेर फेरि निष्कर्ष निकाले- यो माओवादी कहिल्यै सुध्रिँदैन ।

‘बैठकको चित्र देख्यो भने प्रत्येकले अध्यक्ष के गर्दा खुसी हुन्छन् भनेर बोल्छन् । आलोचना गर्नैपर्यो भने पनि तपाईं त आरामै गर्नुहुन्न पो भन्छन् । त्यो आलोचना हैन प्रशंसा नै हो नि’, उनले भने, ‘’आफै आफैं खुसी भएका छन् । आफूले आफैंलाई धाप मारेका छन् । म हेरेको हेर्यै भएँ ।’
माओवादी केन्द्रले गत फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रीत जनतासँग माओवादी विशेष अभियान झापाको कचनकवलबाट सुरू गरेको थियो । अभियान सुरू हुँदा माओवादी सचिव कार्की धुलाबारीस्थितस्थित आफ्नै घरमा थिए । तर, उनी कचनाकवल पुगेनन् ।
जनताका नाममा पहुँचवाला नेता र कार्यकर्ताले गरेको तामझाममा सहभागी हुन उनको मनैले मानेन । त्यही अभियान १७ गते कञ्चनपुरमा पुगेर समापन भयो । अभियानबाट उत्साहित भएको माओवादीले जेठदेखि फेरि मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान सुरू गर्दैछ । त्यही अभियानको समीक्षा गर्न आइतबार माओवादीले पदाधिकारी बैठक बोलाएको थियो । लगभग सबैजसो पदाधिकारीले पालैपालो अध्यक्ष प्रचण्डको प्रशंसा गरेको सुनेर कार्की छक्क परे ।
‘हाम्रो पार्टी तलको पंक्तिसम्म यति तीव्रतामा बिग्रेको छ भन्ने यही अभियान हेरे पनि पुग्छ । पूर्वदेखि पश्चिमसम्म उनै पहुँचवालाको लस्कर छ । जनतासँग भेट्न हिँडेका मान्छे सीमित कार्यकर्ताको घेराभन्दा बाहिर ननिस्कि फर्केका छन्, तै पनि सफल भयौं भन्छन्’, कार्कीले वर्षदिन पछि आफू उपस्थित भएको बैठकको अवलोकन सुनाए ।
उनलाई माओवादी नेतृत्वको पछिल्लो शैलीले पनि बिझाएको रहेछ ।
‘हजारौं पर्ने विदेशी जुत्ता लगाएर बाहिर धोती लगाउनु त धोती लगाउनेहरूको उपहास हो । केराकै पातमा खाए ठिकै छ । के त्यहाँका जनताले केराको पातमा २० औं परिकार खान्छन् ? त्यो त जनतामाथिको उपहास हो,’ उनले जनतासँग माओवादी अभियानमा देखिएको दृष्यमाथि टिप्पणी गरे ।
कार्कीलाई जनतासँग भेट्दा हामी अलिअलि बिग्रेका थियौं सुध्रिन्छौं भनेरमात्रै पुग्छ जस्तो लाग्दैन । के कुरामा बिग्रेको हो र कसरी सुध्रिने भनेर जनतालाई स्पष्ट पार्नुपर्ने कार्कीको धारणा छ ।
‘अहिलेको जो प्रणाली छ यो प्रणालीलाई प्रतिस्थापन गर्न प्रयास गरेपछिमात्रै त्यो पार्टी सुन्दर देखिन्छ’, उनले भने, ‘यहाँको शिक्षा प्रणालीलाई फेर्ने प्रयत्न गरियो भने कमिटमेन्टमा बाँच्न सकिन्छ । पचास ठाउँमा म इमान्दार छु भनेपछि आफ्नो भनाइले पनि बाँच्छ ।’
उनलाई संसदीय प्रक्रियामा प्रवेश गरेपछि माओवादी पनि कांग्रेस र एमालेजस्तै भयो भन्ने चिन्ताले खुब पिरोल्छ ।
‘हाम्रो पार्टीले संसदीय प्रकियामा पसेपछि ट्रान्सफर्म गर्ने यत्न गर्नुपर्थ्यो त्यो गरेन । नीति र कार्यक्रम तीस वर्षदेखि एउटै छ,’ उनले भने,‘माओवादी आएपछि फरक हुनुपर्ने हो नि त शिक्षाको बजेट बढेर १५ प्रतिशत पुग्नुपर्ने हो । गिटी बालुवा खन्याउने कार्यक्रम घट्नुपर्ने हो । यस्तो परिवर्तन गर्न त्यो वर्गसँग नजोडिएसम्म हुन्न । तर माओवादीले वर्ग बिर्सियो ।’
यतिधेरै गुनासो भएपछि उनले फेरि माओवादीमा सक्रिय हुन नसकिने निष्कर्ष सुनाए । अब ६ महिनाभित्रमा आफू एउटा निष्कर्षमा पुग्ने नेता कार्कीको भनाइ छ ।
‘कसरी गर्ने के भूमिकाबाट गर्ने भन्ने कुरामा त्यही अन्योलमा छु म । अहिले हामीसँग पैसा पनि छैन । आमाबाट आएको अलिकति जग्गा छ म अहिले त्यो बेच्ने ध्याउन्नमा छु’, कार्कीले भने, ‘जग्गा बेचेँ भने केही सुरु गर्नलाई पनि सजिलो हुन्थ्यो । राजनीति सुधार्न चाहनेहरूका लागि स्पेस बन्न सक्थ्यो ।’
प्रतिक्रिया 4