+
+

वीरगञ्जमा राजेशमान र इम्तियाजको जित सुनिश्चित

सुरेश बिडारी सुरेश बिडारी
२०७९ जेठ ९ गते ८:५६

९ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमको जित सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा बढी अन्तरले अगाडि रहेपछि राजेशमान र इम्तियाजको जित सुनिश्चित भएको हो ।

वीरगञ्जमा १ लाख २४ हजार ६ सय ४७ मतदाता रहेकोमा ९३ हजार ७ सय ८२ मत खसेको थियो । ७७ हजार ५७७ मत गणना भइसकेको भने अब १६ हजार २०५ मत गणना हुन बाँकी छ ।

तर जसपाका मेयर उम्मेदवार राजेशमान सिंह नेकपा एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा १८ हजार ७५८ मत अन्तरले अगाडि छन् ।

यो गणना हुन बाँकी १६ हजार २०५ मतभन्दा २ हजार ५५३ मत बढी हो । त्यसैले राजेशमानको जित सुनिश्चित भएको हो । राजेशमानले ३८ हजार ४३७ र सरावगीले १९ हजार ६७९ मत ल्याएका छन् ।

राजेशमान, ०७४ सालमा निवर्तमान नगर प्रमुख एवं हाल एमालेका तर्फबाट मेयर उम्मेदवार सरावगीसँग पराजित भएका थिए । तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका सरावगीले १९ हजार ३९३ मत ल्याएर विजयी हुँदा राजेशमान १२ हजार १६५ मत ल्याएर तेस्रो स्थानमा थिए । यसपटक सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजेशमानले शुरुदेखि नै अग्रता कायम राखे ।

मेयर पदका अर्का प्रत्यासी राप्रपाका गिरीश गिरीले ३ हजार ४५८ मत पाएका छन् ।

इम्तियाजको पनि जित सुनिश्चित

त्यस्तै उपमेयरमा पनि गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलमले शुरुदेखि नै अग्रता लिइरहेका छन् । उनले निकटतम अर्का प्रत्यासी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले भन्दा झण्डै ४ गुणा बढी मत ल्याएका छन् ।

इम्तियाजले २४ हजार ९१५ मत पाउँदा झाले हालसम्म ६ हजार ५६८ मत मात्रै पाएका छन् । उनीहरुबीच १८ हजार ३४७ को मतान्तर देखिएको छ । उपमेयरमा पनि इम्तियाजको जीत निश्चित भएको छ ।

हालसम्म मेयर पदमा १६ हजार २८५ र उपमेयरमा ३५ हजार ३६८ मत बदर भएको छ ।

साँझसम्म परिणाम आउन सक्ने

पर्सा जिल्लामै सबैभन्दा बढी मतदाता वीरगञ्ज महानगरपालिकामा छन् । त्यसैले मतगणनामा पनि समय लागेको छ । मतगणना स्थल नृसिंह माविका ७ वटा कोठामा मतगणना चलिरहेको छ ।

मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले अब कुनैपनि वडाको मतपेटिका खोल्न बाँकी नरहेकाले साँझसम्म अन्तिम मत परिणाम आउन सक्ने बताए । ‘मतगणना निरन्तर जारी छ । अहिलेसम्म कुनैपनि अवरोध आएको छैन,’ उनले भने, ‘साँझसम्म अन्तिम परिणाम आउन सक्छ ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?