+
+

३ पालिकाका प्रमुख-उपप्रमुख दुवै पदमा महिला

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १०:४२
माथिल्लो लहरमा वायाँबाट– लम्कीचुहाकी शुसिला शाही, भैरवीकी रिता कुमारी शाही र गौरीगञ्जकी फुलवती राजवंशी । तल्लो लहरमा वायाँबाट– लम्कीचुहाकी जुना चौधरी, भैरवीकी देवी भण्डारी र गौरीगञ्जकी पुजन न्यौपाने ।

९ जेठ, काठमाडौं । देशका १ सय ५० भन्दा पालिकाका प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष पुगेका छन् । तर दुवै पदमा महिला पुगेको पालिका जम्मा ३ वटा मात्रै रहेको छ । ७ सय १० स्थानीय तहको नतिजा आइसक्दा कैलाली, दैलख र झापाको एक–एक पालिकामा दुवै पदमा महिला पुगेका हुन् ।

कैलालीको लम्किचुहा नगरपालिकामा मेयर पदमा नेपाली कांग्रेसकी शुसिला शाही निर्वाचित भएकी छिन् । १२ हजार ७ सय १३ मत सहित शाही निर्वाचित भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महादेव बजगाईँले १० हजार ४३५ मत मात्रै ल्याए । उनीसँगै नेकपा एमालेबाट उपप्रमुखमा जुना चौधरी पनि ११ हजार ७०८ मत ल्याएर विजयी भइन् । उनले गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी जानुका कुमारी सिंहलाई ३ हजार भन्दा धेरै मतान्तरले हराइन् ।

यस्तै दैलखको भैरवी गाउँपालिकामा पनि प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन् । भैरवी गाउँपालिका अध्यक्ष रिता कुमारी शाहीले नेकपा एमालेका सर्वराज महतलाई १६ मतले हराएकी हुन् ।

महतले ३ हजार ९६० मत प्राप्त गर्दा शाहीले १६ मत बढी प्राप्त गरेकी हुन् । यस्तै भैरवीको उपप्रमुखमा पनि नेपाली कांग्रेसकी देवी भण्डारी विजयी भएकी छिन् । उनले नेकपा एमालेकी पदम कुमारी विष्टलाई एकसय भन्दा धेरै मतान्तरले हराएकी हुन् । भैरवी गाउँपालिकामा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख दुवै पदमा महिला नै उठाएको थियो । दुवै पदमा कांग्रेस विजयी भएको हो ।

झापाको गौरीगञ्जमा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित भएका छन् । गौरीगञ्जको अध्यक्षमा नेपाली कांग्रेसकी फुलवती राजवंशी र उपाध्यक्षमा नेकपा एमालेकी पुजन न्यौपाने(कुँवर) विजयी भएका छन् ।

अध्यक्षमा विजयी राजवंशीले एमालेका विजय कुमार अग्रवाललाई २ हजार ३५९ मत अन्तरले हराइन् । राजवंशीले ५६८९ मत पाउँदा अग्रवालले ३३३० मत पाए । यसैगरी उपाध्यक्षमा एमालेकी पुजन न्यौपाने ४७५५ मतसहित विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी मखना महतोले ३७९५ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?