+
+
सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार :

साक्षीका रुपमा माल्भिका सुब्बासँग प्रहरीले लियो बयान

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते २०:३९

१० जेठ, काठमाडौं । मिस ग्लोबल इन्टरनेशनल नामक सौन्दर्य प्रतियोगिताका प्रतिष्पर्धीलाई आयोजक संस्थाका सञ्चालकले बलात्कार गरेको प्रकरणमा प्रहरीले पूर्वमिस नेपाल माल्भिका सुब्बासँग बयान लिएको छ । सुब्बा प्रतियोगिताकी कोरियोग्राफर समेत हुन् ।

घटनाको साक्षीकारुपमा काठमाडौं प्रहरी परिसर, टेकुको मुद्दाका शाखाले सुब्बासँग मंगलबार बयान लिएको हो । प्रकरणका मुख्य आरोपी मनोज पाण्डेलाई प्रहरीले शनिबार स्वयम्भुबाट पक्राउ गरेको थियो ।

काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार अनुसन्धानका सिलसिलामा घटनासँग जोडिएका विभिन्न व्यक्तिहरुसँग बयान लिने क्रम जारी छ । त्यहीक्रममा सुब्बालाई पनि बयानका लागि बोलाइएको थियो ।

बयानमा सुब्बाले पीडित किशोरीले त्यसवेला ‘ह्यारेसमेन्ट’ गरेको बताएको खुलाएकी छन् । तर आफूले त्यतिवेला टेलिफोन कुराकानीमा विस्तृत बुझ्न नपाएको र पछि पीडितसँग कुराकानी नभएको उनले भनेकी छन् ।

सुब्बाको बयानले घटनालाई पुष्ट्याइँका लागि मद्दत पुग्ने प्रहरीले जनाएको छ । घटनामा पीडितले उल्लेख गरेका अन्य केही व्यक्तिहरुलाई पनि साक्षीका रुपमा बयानका लागि बोलाउने प्रहरी तयारी छ ।

प्रतियोगिताकी उपाधि विजेता र तेस्रो हुने प्रतिष्पर्धीलाई पनि बयानका लागि प्रहरीले बोलाउँदैछ । गत बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो सार्वजनिक गरेर बलात्कारबारे खुलासा गरेकी थिइन् ।

पीडितको भिडियो बयान सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पनि घटनाबारे चासो देखाएको थियो । गृह मन्त्रालयले एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा छानविन समिति बनाएको थियो । तर जबरजस्ती करणी सम्बन्धी कसूरमा भएको हदम्यादका कारण कानूनी प्रक्रियामा जान जटिलता भएको प्रहरीले बतायो । त्यसपछि सडक र सदन दुवैतिर बलात्कारको मुद्दामा हदम्याद हटाउन माग उठ्यो ।

कानून व्यवसायीहरुसँग छलफलपछि प्रहरीले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पीडितको जाहेरी लियो । योबीचमा अर्को एकजना पीडित पनि प्रहरी सम्पर्कमा पुगेकी छन् र बाल यौन दुराचार सम्बन्धी कसूरमा जाहेरी दिएकी छन् ।

दुवै कसूरमा अनुसन्धानका लागि पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?