+
+

भरतपुरमा झन् कमजोर देखियो एमाले

सुवास पण्डित सुवास पण्डित
२०७९ जेठ १० गते २२:४६

१० जेठ, चितवन । भरतरपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल पुनः निर्वाचित भएकी छन् ।

सत्ता गठबन्धनको साथ पाएकी दाहाल ५२ हजार २८ मतका साथ निर्वाचित हुँदा एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८२ मत मात्र पाए । चुनावका क्रममा एमाले नेताहरुले जति मतअन्तरले जित्छौं भनेका थिए, त्यति नै मत अन्तरले पराजित भए ।

जबकी २०७४ को चुनावमा रेनुले निकै मुश्किलले मेयरको चुनाव जितेकी थिइन् । मत गणनाका क्रममा माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेर पुनः मतदान गर्ने अवस्था आएकाले एमाले नेताहरु हारेको होइन, हराइएको हो भन्ने गरेका थिए ।

तर यो पटक मतगणनाका क्रममा एकाध पटकबाहेक एमाले उम्मेदवार सुवेदीले अग्रता लिएनन् । गणना आधा नहुँदै एमाले नेताहरुले हार मान्न थालिसकेका थिए ।

प्राथमिकतामा थियो भरतपुर

भरतपुरमा एमाले र माओवादीको सम्बन्ध लभ एण्ड हेटको छ । २०७४ को स्थानीय चुनावमा चर्को प्रतिस्पर्धा गरेका दुबै दलले आम चुनावमा वाम गठबन्धन बनाए ।

पार्टी एकता भएपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल प्रचण्डलाई ‘खुसी’ बनाउन केपी शर्मा ओली नेतृत्वको सरकारले भरतपुरमा बजेट खन्याउने काम समेत गर्‍यो ।

जब संसद विघटनसँगै ओली र प्रचण्ड अलग हुने अवस्था बन्यो, एमालेले भरतपुरलाई प्राथमिकतामा राख्यो ।

प्रचण्डको निर्वाचन क्षेत्र मात्र होइन, उनकी छोरी रेनु मेयर भएको भरतपुर महानगरको नेतृत्व जसरी पनि लिन चाहेको एमाले लुकाएन । बुटवलमा गर्ने तय भएको पार्टीको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा सार्‍यो । अरु पालिकामा उम्मेदवार टुंगो नलाग्दै भरतपुरमा विजय सुुवेदीलाई एकल उम्मेदवारका रुपमा अघि सारेर चुनावी अभियान थाल्यो ।

चुनावी अभियानका क्रममा सत्ता गठबन्धनले सभा गरेको भोलिपल्ट एमाले अध्यक्ष केपी शर्मा ओली आफैं पुगे । २४ वैशाखको सभामा ओलीले पार्टीका उम्मेदवार सुवेदीको आफूसँग हटलाइन सम्बन्ध रहेको मात्रै बताएनन्, सुवेदीलाई जिताए भरतपुरको विकासको जिम्मा आफूले लिने बताए ।

तर भरतपुरमा राम्रै प्रभाव भएको राप्रपासँग चुनावी गर्दा पनि एमालेले भरतपुर महानगरको नेतृत्व लिन सकेन । मेयर माओवादी केन्द्रलाई छाडेको विरोधमा कांग्रेसकै पूर्व सांसद जगन्नाथ पौडेलले बागी उम्मेदवार दिँदा पनि एमाले भारी मत अन्तरले पराजित भयो । अघिल्लो पटक पाएको मत पनि जोगाउन सकेन ।

अघिल्लो चुनावमा एक्लै लडेको एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । यो पटक ३५ हजार मतदाता थपिएका थिए भने एमालेले राप्रपासँग तालमेल गरेको थियो । तर एमाले उम्मेदवार सुवेदीले ३९ हजार ५८२ मत मात्र पाए । उनले पाएको मत ज्ञवालीले प्राप्त गरेभन्दा तीन हजार ३४२ कम छ ।

अघिल्लो चुनावमा भरतपुर महानगरका २९ मध्ये १३ वडा जितेको एमाले यसपटक ६ वडामा खुम्चिएको छ ।

कहाँ मिलेन एमालेको हिसाब ?

मेयर माओवादी केन्द्रलाई छाड्दा कांग्रेसमा असन्तुष्टि थियो । बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले कांग्रेसको मत काट्दा एमालेलाई फाइदा हुने विश्लेषण गरिएको थियो । एमालेको पनि मत एकीकृत समाजवादीले काट्ने थियो । तर त्यो मत आएका रामबहादुर थापा बादलको समूहबाट भरणपोषण हुने र राप्रपाको मत जितका लागि निर्णायक हुने एमालेको बुझाइ थियो ।

जगन्नाथले १४ हजार ७२४ मत पाएका पनि हुन् । तर सुवेदीले रेनुलाई टक्कर दिनै सकेनन् । एमालेकै मत रेनुले पाएको देखियो । मतगणना क्रममा अधिकांश वडामा केही न केही यस्ता मत भेटिन्थे, जहाँ मेयरमा गोलाकार भित्रको हसियाँ हथौडालाई र वडाध्यक्ष र सदस्यहरुमा सूर्यलाई मत दिएको देखिन्थ्यो ।

एमालेबाट समेत मत तान्न सफल भएकाले जगन्नाथले काटेको मतले रेनुलाई धेरै असर गरेन । अघिल्लो निर्वाचनमा १४ वटा वडामा मात्रै अग्रता लिएकी दाहालले यसपटक भरतपुरका २६ वटा वडामा अग्रता लिइन् । रेनुले निरन्तर अग्रता लिनुका पछाडि एमालेबाट गएको मतको पनि भूमिका देखिन्थ्यो ।

एमाले पोलिट्ब्यूरो सदस्य देवी ज्ञवाली एमालेका कार्यकर्तामा मनोवैज्ञानिक त्रास र केही लोभका कारण यस्तो भएको हुनसक्ने बताउँछन् । ‘नेकपा कालमा हुँदा केही मानिसहरु उहाँसँग नजिक भएर काम गरे, केहीले अवसर पनि पाए होलान्, तिनीहरुले मत दिन सक्छन्’ ज्ञवाली भन्छन् ।

तर एमाले कमजोर भएको मान्न तयार छैनन्, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने । ‘वडामा हाम्रो मत पहिलाको भन्दा धेरै बढेको छ, वडाध्यक्षका उम्मेदवारले ल्याएको मतको प्याट्रन कमजोर छैन,’ नेता न्यौपानेले भने, ‘भरतपुरमा एक्लाएक्लै निर्वाचन लड्दा एमालेले नै चुनाव जित्ने अवस्था हो ।’

तर गठबन्धनले राज्यशक्तिको दुरूपयोग, लोभ प्रलोभनमा पारेर पैसा बाँडेर पनि मत प्रभावित गरेको भन्दै उनले भने, ‘क्रिस्चियन धर्मका संघसंगठन, जातिय संगठन, आमा समूहदेखि क्लबहरूलाई पैसा दिएर संगठित रूपमा मत खरिद गर्ने, निर्वाचन आचारसंहिता मिचेर निस्सा बाँड्ने जाने, कांग्रेसको जिल्ला सभापति रकम बोकेर हिँड्दा जनताबाट समातिएको पनि देखियो ।’

चुनावी तालमेल गरेको राप्रपाले पनि आफ्नो मत जोगाउन नसकेको एमालेको दाबी छ । एमाले पोलिट्ब्यूरो सदस्य देवी ज्ञवाली राप्रपासँग गरेको तालमेलले थप नोक्सानी मात्रै गरेको बताउँछन् । ‘नेतासँग एलान्यस भयो, उहाँहरुका कार्यकर्ताले तल गठवन्धनसँग तालमेल गरे,’ नेता ज्ञवालीले अनलाइनखबरसँग भनेका छन्, ‘वडामा राप्रपाको मत छिरलिएको अवस्थामा थियो ।’

एमाले उम्मेदवार सुवेदी अघिल्लो निर्वाचनमा एमालेप्रति देशभर आएको वेभ अहिले कम भएको पनि बताउँछन् । गठबन्धनले मतदातालाई प्रभावित पार्न सबथोक गरेको उनको तर्क छ । सुवेदीसँग गरिएको कुराकानीको सम्पादित अंश :

निर्वाचनको परिणामलाई कसरी लिनुभएको छ ?

भरतपुर महानगरपालिकाले ५ बर्षका लागि नयाँ नेतृत्व पाएको छ । म यसलाई स्वीकार गर्दछु र उहाँहरु (निर्वाचित भएकाहरु)लाई हार्दिक बधाई भन्न चाहन्छु । लोकतान्त्रिक मूल्य मान्यताका हिसाबले यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ ।

तर भरतपुरमा निर्वाचन कसरी भयो ? के के भए ? सबै भरतपुरबासीलाई थाहा छ । पाँच दलीय गठवनधनले भरतपुरको चुनावलाई प्रतिष्ठाको विषय बनायो र जसरी पनि जित्ने भनेर लिएको देखियो । यो कुरा प्रजातान्त्रिक कुरा होइन । भरतपुरको निर्वाचन समीक्षा गर्दा नेपालमा लोकतन्त्र आइसकेको छैन जस्तो लाग्यो ।

त्यस्ता के के घटना भए ?

निर्वाचन कस्तो भयो ? के के भयो ? अध्ययन गर्न स्वतन्त्र विश्लेषक, पत्रकार र नगारिक समाजलाई अनुरोध गर्दछु । एउटा प्रतिस्पर्धी उम्मेदवारको हिसाबले यस्ता कुराहरुमा म धेरै जान चाहान्न । पुरानो घाउ कोट्याउनुभन्दा पनि आगामी दिनमा शिक्षाका रुपमा लिएर अगाडि बढ्नुपर्छ ।

भरतपुर महानगरको प्रमुखमा उम्मेदवारको रुपमा म थिएँ । व्यक्तिगत रूपमा मेयर हुनु/नहुनु मेरा लागि ठूलो कुरा होइन ।

भरतपुर महानगरलाई यस्तो बनाउँछु भन्ने जुन सपना देखेको थिएँ, त्यो कसरी पुरा हुन्छ ? जनमुखी र सेवामुखी प्रशासन हुँदैन कि हुन्न ? समाज उद्यममुखी हुँदैन कि भन्ने मात्र चिन्ता हो ।

तर अघिल्लो पटकको निर्वाचनमा भन्दा यो पटक कम मत आयो, किन यस्तो भयो ?

२०७४ मा नेकपा एमालेको राष्ट्रिय रुपमा वेभ थियो । अहिले देशभरको निर्वाचन हेर्दा एमालेको पक्षमा त्यो रुपको वेभ आएको देखिएन वा कम देखियो । त्यसबेला देशभरी तालमेल भएको थिएन । भरतपुरमा कांग्रेस र माओवादीको मात्रै तालमेल थियो ।

अहिले एमालेबाट फुटेको एकीकृत समाजवादी पनि सामेल भएको थियो । पहिलाभन्दा गठबन्धन बलियो बन्यो ।

कांग्रेसले मेयर उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी जबर्जस्ती खोसिँदा एउटा तप्का त्यसको विपक्षमा गएर देवीजीलाई मत दियो । माओवादीप्रति वितृष्णा पैदा भएको थियो । तर कहिले एमालेसँग कहिले कांग्रेससँग तालमेल गर्दा जोसुकै जे पनि चुनाव चिह्नमा भोट हाल्न अभ्यस्त भएको देखियो ।

तपाईंहरुले पनि त राप्रपासँग तालमेल गर्नुभएको थियो । तर यसले किन भोट बढाउन सकेन ?

कसैलाई दोष दिन चाहन्न, सबै जिम्मेवारी म आफंै लिन्छु । एउटा समयमा राप्रपासँग गरेको तालमेलको समीक्षा होला । त्यो सम्पूर्ण समीक्षा नभई बोलिहाल्न राम्रो होइन ।

एमालेले कहाँ कहाँ कमजोरी गर्‍यो भन्ने लाग्छ ?

एमालेको जे स्ट्रेन्थ हो, सोही आधारमा मत आएको छ । एमालेका नेता कार्यकर्ता अहोरात्र खटेको देख्थेँ । मेहनत गर्दागदै पनि परिणाममा पुर्‍याउन सकिएन, त्यो एउटा पक्ष हो ।

अरु कुरा पार्टीमा समीक्षा होला । कार्यकर्तालाई परिचालन गर्न, जनमतलाई आर्कषित गर्न, जनतालाई हाम्रो विचार बुझाउन सकियो सकिएन छलफल होला ।

तर रेनु दाहालले एमालको मत पाएको पनि देखियो नि ?

सुन्नमा त धेरै कुरा आएका छन् । मूलतः गठवन्धनले मतदातालाई आर्थिकदेखि भोजभतेर गरेर प्रभावमा पारेको देखियो । एजेन्टहरुलाई नै प्रभावित बनाइयो । गणनामा बस्ने प्रतिनिधि र कर्मचारीलाई प्रभावित बनाइयो ।

प्रमुख जिल्ला अधिकारीको भूमिका के थियो भन्ने मतगणनामा देखियो नि ! मतगणनामा बसेका सबैका अगाडि यस्तो गतिविधि गर्ने सीडीओले भित्रभित्र केकेसम्म गर्नुभयो होला ?

कतिपय व्यक्तिको कमजोरीको फाइदा पनि उठाए होलान् । जनमतको सुरक्षा गर्न नसक्नु, बेलैमा थाहा पाउन नसक्नु, थाहा पाएर सुधार गर्न नसक्नु एउटा कुरा होला, तर एमाले पंक्ति एकताबद्ध भएर लागिरहेको पाएको छु ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?