+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘हेयर रिप्लेसमेन्ट’ : कति स्तरीय, कति भरपर्दो ?

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०७९ जेठ १२ गते १७:१३

काठमाडौं । कपाल झर्नबाट कसरी रोक्ने ? यसको एक मात्र विकल्प छैन । खानपानदेखि तेलको प्रयोगसम्मका विधिहरु छन्, जसले कपाल झर्नबाट रोक्न सक्छ । तर सबैको हकमा यी विधिहरु फलदायी हुँदैन । जे–जसो गरे पनि कपाल झरिरहन्छ ।

कपाल झरेपछि के गर्ने ? यसको पनि अनेक विकल्प छन् । कपाल प्रत्यारोपण गर्न सकियो वा नक्कली कपाल लगाउन सकियो । आफ्नो सुविधा अनुसार उपयुक्त विधि अपनाउन सकिन्छ । जस्तो कि, हेयर विग ।

कपाल झरिसकेको ठाउँमा सुहाउँदो ढंगले नक्कली कपाल लगाउने विधि हो यो । अहिले निकै प्रचलित छ । यस्तो विग कसरी लगाइन्छ ? कहाँ लगाइन्छ ? कति खर्च लाग्छ ? त्यसको साइड इफेक्ट हुन्छ वा हुँदैन ?

कस्तो अवस्थामा विगको प्रयोग गर्ने ?

केही व्यक्तिहरूले विगको प्रयोग सबटाइटलको लागि पनि गर्छन् । तर धेरै व्यक्तिहरूले भने कपाल झरेको कारणले नै विगको प्रयोग गरेका हुन्छन् । कपाल धेरै झरेर पुनः कपाल नउम्रिने अवस्थामा विगको प्रयोग गर्न सकिने हेयर फिक्सिङ नेपालका प्रबन्धक निर्देशक रमेश केसी बताउँछन् ।

कपाल पूरै झरेर पुनः नपलाउने समस्या भएको अवस्थामा यो विगको प्रयोग गर्नु बढी उपयोगी हुने केसी सुझाउँछन् । ‘कपाल नभएका व्यक्तिहरूको आत्मविश्वास कम हुने भएकाले विगको प्रयोगले मानिसको आत्मविश्वास बढाउन एकदमै सहयोग गर्छ ।’

एलोपेथिया, क्यान्सरको बिरामीहरूले पनि यसको प्रयोग गर्ने गरेको भ्यान रोयज हेयर लाउन्जका म्यानेजर प्रकाशकुमार दत्त बताउँछन् ।

कसरी गर्ने कपालको हेरचाह ?

विगको प्रयोग गर्न गाह्रो होला, यसको प्रयोग गरेपछि कसरी नुहाउने होला भनेर धेरैले प्रश्न गर्ने गरेको लिड विग रिप्लेसमेन्टका प्रबन्धक राजेशविक्रम शाह बताउँछन् । ‘हाम्रोमा हुने प्रायः सबै विगहरु प्राकृतिक कपालबाट नै बनेका हुन्छन् । त्यसैले यसको हेरचाह गर्न पनि सजिलो नै हुन्छ ।’

कपालमा गम तथा टेपको प्रयोग गरेर टाँसिएको विगलाई १५ देखि २५ दिनभित्रमा निकालेर सफा गर्नुपर्छ । यसरी टाँसिएको कपाललाई घरमा आफैं सफा गर्न सकिन्छ । विग लगाएपछि स्विमिङ गर्न, कलर गर्न, कोर्न र सेरमको प्रयोग सबै गर्न मिल्ने शाह बताउँछन् ।

तर हेयर फिक्सिङ नेपालमा राखिएको विगलाई भने आफैं निकालेर सफा गर्न मिल्दैन । यहाँ लगाइने विगलाई कपालसँग डोरीले बाँधेर राखिन्छ । विगलाई कपालमा बाँध्ने भएकाले यहाँ गमको प्रयोग हुँदैन, जसले गर्दा साइड इफेक्ट हुने सम्भावना एकदमै कम हुने केसीको तर्क छ । ‘यसरी कपालमा बाँधेर राखिएको विगलाई पानीमा भिजाउन, कलर गर्न सबै गर्न मिल्छ,’ उनी भन्छन् ।

कपालमा गम टेपको प्रयोग गरेर विग टाँस्दा पनि त्यसले छालामा र कपालमा कुनै असर नगर्ने शाहको भनाइ छ । उनी भन्छन्, ‘गम टेप प्रयोग गरेर राखिएको विगलाई आफैं निकालेर बेलाबेलामा सफा गर्न मिल्ने भएकाले यस्तो विग प्रयोग गर्न सहज हुन्छ ।’

भ्यान रोयज हेयर लाउन्जमा राखिएको कपाललाई पनि घरमा आफैं सफा गर्न मिल्दैन । दुई महिनामा त्यसको ‘मेनटेन’का लागि कम्पनीमा जानुपर्ने दत्त बताउँछन् ।

कति पर्छ विगको मूल्य ?

सामान्यतया एउटा विगको मूल्य १५ हजारदेखि ३५ हजार रुपैयाँसम्म पर्ने शाह बताउँछन् । ‘१५ हजार पर्ने विगको क्वालिटी ठिकै हुन्छ र झर्ने समस्या पनि हुन सक्छ । २५ हजार भन्दा माथिको विगको क्वालिटी भने राम्रो हुन्छ र लगाएको थाहा पनि हुँदैन ।’

त्यस्तै, हेयर फिक्सिङ नेपालमा भने कति कपाल झरेको छ त्यही अनुसार नै विग तयार गरिन्छ र विगको आकार हेरेर त्यसको मूल्य निर्धारण हुने केसी बताउँछन् । ‘सामान्यतया सबैभन्दा सानो आकारको हेयर विगको मूल्य ५ हजारदेखि सुरु हुन्छ,’ उनी भन्छन् ।

भ्यान रोयज हेयर लाउन्जमा भने विग हेयर रिप्लेसमेन्टमा मूल्य ६५ हजार रुपैयाँबाट सुरु हुन्छ । यदि महिलाहरूले लामो कपाल लिए भने त्यसमा भने बढी मूल्य पर्न जान्छ ।

प्राकृतिक कपालबाट नै बन्छ विग

नेपालमा नै पाइने विगहरु प्रायः प्राकृतिक कपालबाट नै बन्ने दुवै हेयर रिप्लेसमेन्ट कम्पनी बताउँछन् । यसरी प्राकृतिक बनेको कपालको कच्चा पदार्थ विदेशबाट आयात हुने भए पनि कपाल भने नेपालमा सिलाएर राखिन्छ । ग्राहकको आवश्यकता र रुचि अनुसारको कपाल राख्दा विगको प्रयोग थापा पाउन सक्दैनन् । महिलाहरूले भन्दा पनि पुरुषहरूले विगको प्रयोग बढी गर्ने गरेको अनुभव सुनाउँछन् केसी ।

रोयजमा भने सबै कच्चा पदार्थहरू नेदरल्याण्डबाट आयात हुन्छ । ग्राहकको आवश्यकता अनुसार कपाल डिजाइन गर्ने काम भने कम्पनीमा हुन्छ ।

कति समय टिक्छ ?

सामान्यतया यसरी राखिएको कपालको आयु ३ देखि ४ वर्ष हुने भ्यान रोयजका दत्त बताउँछन् । हेयर फिक्सिङ नेपालमा राखिएको कपालको आयु पनि ३ देखि ४ वर्ष नै हुन्छ भने लिड विगमा ३ महिनादेखि ३ वर्षसम्म टिक्ने विग पाइन्छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?