+
+

तिलोत्तमाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित

टोपराज शर्मा टोपराज शर्मा
२०७९ जेठ १३ गते ६:५१
नवनिर्वाचित मेयर रामकृष्ण खाँण र उपमेयर जगेश्वरी देवी चौधरी ।

१३ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन् ।

एमालेका मोहन चापागाईलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण मेयरमा निर्वाचित भएका हुन् । खाँणले २४ हजार ३९६ मत पाएर निर्वाचित हुंँदा चापागाईले २३ हजार ६३१ मत पाए ।

मेयरमा निर्वाचित खाँण २०७४ को चुनावमा एमालेका बासुदेव घिमिरेसँग पराजित भएका थिए । अघिल्लो चुनावमा राष्ट्रिय जनमुक्ति पार्टींसँग गठबन्धन गरेको कांग्रेसले यसपटक माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो ।

उपमेयरमा भने एमालेकी जगेश्वरी चौधरी निर्वाचित भएकी छन् । चौधरीले माओवादी केन्द्रका हेमन्त पाण्डेलाई दोब्बर मतान्तरले पराजित गरेकी हुन् । चौधरीले २३ हजार ८६ मत पाएर निर्वाचित हुँदा पाण्डेले ११ हजार ५४६ मत पाए ।

१७ वटा  वडा रहेको तिलोत्तमामा  नेपाली कांग्रेसले ९ र नेकपा एमालेले ८ वटा वडा जितेको छ । ८५ हजार ७४७ मतदाता रहेको तिलोत्तमामा ६४ हजार ७३६ मत खसेको थियो ।

वडा नं १ मा एमालेका फर्सुराम गिरी, २ मा कांग्रेसका  डिलबहादुर भट्टराई,  ३  मा कांग्रेसकै  कल्याण पौडेल,  ४ मा एमालेका  हरिबहादुर क्षेत्री र ५ मा कांग्रेसका  रमेश डुम्रे बिजयी भएका छन् ।

यस्तै तिलोत्तमा वडा नं ६ मा कांग्रेसका  गणेश पाठक, ७ मा एमालेका देवी पंगेनी, ८ मा एमालेका कृष्ण पौडेल, ९ मा कांग्रेसका ध्रुव न्यौपाने, १०  मा एमालेका गेपालप्रसाद घिमिरे, ११ मा एमालेका विष्णु बराल, १२ मा एमालेकै  सहदेव थारु निर्वाचित भएका छन् ।

वडा नं.  १३ मा कांग्रेसका  नारायण ढकाल, १४ मा कांग्रेसका  अश्विन पौडेल, १५ मा  एमालेका  खेमराज गुरुङ, १६ मा कांग्रेसका  झविलाल भुषाल  र १७ मा पनि कांग्रेसकै  दानबहादुर चौधरी विजयी भएका छन् ।

को हुन् रामकृष्ण ?

रामकृष्ण गृहमन्त्री बालकृष्ण खाँणका सहोदार भाइ पनि हुन् । तर उनी आफूलाई बालकृष्णको भाइ मात्रै भन्दा अन्याय हुने गुनासो गर्छन् । उनको आफ्नै राजनीतिक इतिहास छ । बुबा नोइन्द्रबहादुर खाँण बीपी कोइरालाका साथी भएकाले बाल्यकालदेखि नै राजनीतिमा जोडिएका हुन्, रामकृष्ण ।

स्याङजाको रिसिङकोटबाट उनको परिवार २०१७ सालमा रुपन्देही  झरेको थियो । २०२२ सालमा रुपन्देहीको मणिग्राम चार नम्बरमा जन्मिएका रामकृष्ण पञ्चायत विरोधी आन्दोलनमा सक्रिय बुबा नोइन्द्रकै पदचाप पछ्याउँदै २०३५ सालदेखि पञ्चायत विरोधी आन्दोलनमा लागे । २०३८ मा मेलमिलाप दिवस मनाउने क्रममा बुटवलमा प्रहरीको धरपकडमा मात्र परे ।

२०४० सालमा रुपन्देही सुरजपुरा घटनामा स्वर्गीय गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूको सुरक्षार्थ खटिएर नेताहरूलाई भगाएर बचाउन सफल भएका थिए । २०४२ को सत्याग्रहका बेला अग्रमोर्चामै खटिएका थिए ।

२०४६ को जनआन्दोलनमा भैरहवा उत्तरका सबै गाविसका युवाहरूको नेतृत्व गर्दै आन्दोलनमा सक्रिय थिए । २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसमा स्ववियु इकाइको कोषाध्यक्ष, २०५४ सालमा पार्टीको जिल्ला कार्यसमिति सदस्य भएका उनी त्यसयता निरन्तर जिल्ला समितिमा काम गर्दै आएका छन् ।

२०६६ मा पार्टीको जिल्ला सचिव भएका उनी दुई कार्यकाल सचिव भएर काम गर्दै हाल रुपन्देही जिल्ला सभापति हुन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?