+
+

‘टिकट ल्याएपछि आधा जितियो भन्ने भ्रम अब नराखे भयो’

दलहरू आफ्ना परम्परागत चुनाव चिहृनलाई निर्विकल्प ठानिरहेका छन् । तर पार्टी केन्द्रलाई खुसी बनाएर ल्याएको टिकटलाई जनताले अनुमोदन नगर्न पनि सक्छन् भन्ने सन्देश यो चुनावले दिइसक्यो । टिकट ल्याएपछि आधा जितियो भन्ने भ्रम अब नराखे भयो ।

बम देवान, पूर्वमेयर धरान बम देवान, पूर्वमेयर धरान
२०७९ जेठ १३ गते १९:१४

नेताहरूको मनोगत र स्वेच्छाचारी कार्यव्यवहारले राजनीतिक दल र तिनको सिद्धान्तप्रति जनतामा अनास्था जन्मिएको छ । पञ्चायतकालमा निरंकुश राजाविरुद्ध विद्रोह हुन्थ्यो, विस्तारै त्यो विद्रोह राजनीतिक दलप्रति देखिन थाल्यो । दल र नेताहरूले आफ्नो सिद्धान्त, नीति र कार्यक्रम लिएर जनतामाझ संगठन बनाउन छोडे । गल्ती गर्दै गए ।

अन्याय, अत्याचार र विकृतिपूर्ण प्रवृत्तिविरुद्ध जनताको पक्षमा नेताहरू बोल्न छाडे । यसपछि निरंकुश राजा र राणाविरुद्ध हुने जस्तै विद्रोह यसपटकको चुनावमा दलहरूप्रति देखियो । नेताहरूको अकर्मन्यताप्रति विद्रोह देखियो । गल्ती गर्‍यो नेता र कार्यकर्ताले, परिणाम भोगे सिद्धान्त र पार्टीहरूले । गल्ती त नेताले गर्छन्, तर सिद्धान्त र पार्टीले सजाय पाउनुपर्ने परिस्थिति बन्यो । नेताहरूको दुव्र्यवहारले पार्टीहरूले सजाय पाए ।

गैरदलीय उम्मेदवारले जनमत पाउनु भनेको प्रमुख राजनीतिक दलका सिद्धान्त र संगठनप्रतिको अनास्था बाहेक अरू होइन । धरानमा मात्रै नभएर देशव्यापी स्वतन्त्र उम्मेदवारको जितको प्रवृत्ति त्यही हो । काठमाडौंमा बालेन साह, भरतपुरको स्वतन्त्र उम्मेदवार सबै तिनै प्रवृत्तिका उपज हुन् ।

जताततै पार्टी बाहिर बसेर एक्लैले पनि जितिंदो रहेछ भन्ने मनोविज्ञान निर्माण भएको छ । स्वतन्त्रले जित्नुको कारण उनीहरूको आफ्नै बहादुरी र श्रेष्ठता मात्रै होइन । निश्चय नै उनीहरूले मिहिनेत गरेका छन् । तर, जनताभित्रै पार्टी र सिद्धान्तप्रति अनास्था जन्मिएका कारणले स्वतन्त्र उम्मेदवारहरूको मिहिनेतले सार्थकता पाएको छ ।

यदि नेताहरू आफ्नो पार्टीको सिद्धान्तमा र जनताका बीचमा बसेका हुन्थे भने यस्तो स्थिति नै आउँदैनथ्यो । जनतासँग सँगै बसेर आफ्नो इतिहासको बारेमा, नीति र सिद्धान्त बारेमा नेताहरूले कुरै गरेनन् । अनि कसरी दल, तिनको सिद्धान्त र कार्यक्रमबारे जनताले बुझ्छन् त ? तर, दलहरू संगठनविहीन जस्तो बन्न पुगे । मैनको साँचो बतास जस्तै । बतास भइन्जेल न बल्छ ।

दलहरूका लागि त अझ डरलाग्दो सम्भावनाहरू देखिंदैछ । एउटा व्यक्ति, एउटा हिरोको पछाडि लाग्ने प्रवृत्ति बढ्दैछ । राजनीति नयाँ परिस्थिति र अवस्थामा जाने सम्भावना छ । मतदाता यसपटक आफूलाई राम्रो लागेको मान्छे, विचार र सिद्धान्ततिर लागेका छन् । उनीहरूले आवश्यक पर्दा परम्परागत मान्छे, विचार र सिद्धान्तलाई क्रस गर्न सकिन्छ भन्ने प्रवृत्तिको संकेत दिएका छन् ।

यो चुनावको माहोलले जनताले नारा र सिद्धान्तको कुरामा विश्वास नराखेर, नअडिएर आफ्नो स्वतन्त्रताको पक्षमा अभिमत दिएको छ । तिमीहरूको सिद्धान्त, नीति, कार्यक्रम आफ्नो ठाउँमा राख, हामी हाम्रो हिसाबले अगाडि जान्छौं, आफ्नो निर्णय दिन्छौं भन्ने अभिमत प्रकट भएको छ । मतदाताले आफ्नो मत आफ्नो खुशीले परिचालन र प्रयोग गरेको सन्देश दिएका छन् ।

दलहरूको अधीनस्थ मतदाता हुन्नन्, स्वतन्त्र हुन्छन् भन्ने सन्देश दिएका छन् । पहिले नेताहरू पार्टीको सिद्धान्त र कार्यक्रम बमोजिम जनताको माझ जाने र शिक्षा दिने गर्थे । अन्याय, अत्याचार, शोषण, दमन र गरीबी विरुद्ध बोल्न साथ दिने गर्थे । पार्टीकै माध्यमबाट जनताका समस्या हल गर्न साथ दिन्छौं भन्थे । त्यसरी नै जनता संगठित गरिएका थिए ।

तर, त्यसरी बनेका संगठनले जनताको काम गरेनन् र जनतामा वितृष्णा जन्मियो । जनता अब आस्थाको बन्दी नहुने भए, यस पटक त्यही अभिमत प्रकट गरे । जसले गर्दा राजनीतिले नै नयाँ मोड लिने देखिन्छ । न्याय र स्वतन्त्रताको नारा दिने नेताहरू नातावाद र कृपावाद भन्दा बाहिर निस्कन नसकेपछि जनताले राजनीतिक कोर्स नै बदल्ने गरी अभिमत दिए ।

फेरि पनि मुलुकलाई सही ट्रयाकमा लैजान दलहरूको विकल्प दलहरू नै हो । तर, त्यसका लागि जनताको माझमा गएर पहिलेकै जस्तो इमानदारीपूर्वक सेवा गर्नुपर्‍यो । जनतालाई संगठित, जागरुक र आन्दोलित बनाउनुपर्‍यो । फेरि पनि निणर्ायक शक्ति भनेको नीति, सिद्धान्त, कार्यक्रम र विचार हो भन्ने बुझाउन सक्नुपर्छ । त्यो गर्न सकेनन् भने त यिनीहरूले सजाय पाइरहन्छन् ।

अहिले पनि दलहरू आफ्नो परम्परागत चिहृनलाई निर्विकल्प ठानिरहेका छन् । तर पार्टी केन्द्रलाई खुसी बनाएर ल्याएको चिहृनको टिकटलाई जनताले अनुमोदन नगर्न पनि सक्छन् भन्ने सन्देश यो चुनावले दिइसक्यो । नेताहरूलाई खुसी बनाएर टिकट ल्याएपछि आधा जितियो भन्ने भ्रम अब नराखे भयो ।

अझ कम्युनिस्ट सिद्धान्त त जनवादी केन्द्रीयता भन्ने हुन्छ । जनवादी केन्द्रीयता भन्नाले सम्पूर्ण कुरा जनताको माझमा गर्ने हो । त्यसलाई केन्द्रमा पठाउने र केन्द्रको पनि बहुमतबाट निर्णय गर्ने हो । त्यसरी टिकट बाँडिनुपर्ने हो । पार्टीको चुनाव चिहृन दिने हो । तर, अहिले दलहरूमा जनवादी मान्यता देखिएन । जनताको चाहना विपरीतका निर्णय भए । तलबाट भएको सिफारिस बेवास्ता गरियो । नेताहरूलाई रिझाएर टिकट लिएर आउने प्रवृत्ति देखियो । जुन प्रवृत्ति जनताले रुचाएनन् ।

धरानकै कुरा गर्दा नेपाली कांग्रेसमा उम्मेदवारको चाहना गरेका नेता अर्कै थिए । एमालेमा पनि टिकटको आशा गर्नेहरू अरू नै थिए । जनताले अपेक्षा गरेको भन्दा विपरीत भयो । जनताले आफ्नो निर्णय दिए ।

नेताहरूले बदलिएको परिस्थिति बुझ्न सकेको देखिन्न । अहिले स्वतन्त्रताको दायरा फराकिलो भएको छ । पहिले आज जस्तो स्वतन्त्रता र निर्भय हुने अवस्था थिएन । मैले चुनाव लड्दाकै परिस्थिति पनि पञ्चायती व्यवस्थाको दायराभित्रै बसेर अगाडि बढ्नुपथ्र्यो । जनता (मतदाता) आफ्नो पार्टी, नेता र सिद्धान्तका बन्दी थिए । इमानदारीपूर्वक पार्टीको योजना, भावना र विचारअनुसार संगठित मतदान गर्थे ।

अब यतिबेला त पार्टीप्रति नै आस्था रहेन । नेताप्रति आस्था रहेन । नीति के हो भन्ने थाहै भएन, त्यसमा आस्था रहेन । मतदाताको मनमा ‘काग कराउँदै गर्छ, पिना सुक्दै जान्छ’ भन्ने भावना विकास भयो । ‘तिमीहरू कराउँदै गर, हामी हाम्रो बाटो हिंड्छौं’ भन्ने बुझाइ विकसित हुन पुग्यो ।

अब पार्टी, नेताहरूले फेदबाटै खनजोत गरेर आफ्नो पुरानो अवस्थामा र्फकनुपर्छ । काठमाडौंमा बसेर कल्पनाको महल सुनाउँदैमा दलहरूप्रति आस्था बढ्दैन । जनताले आफ्नो नेता आफैं चुन्छन् । धरानमा हर्क साम्पाङले जितिसक्नुभयो । भोलि कसरी चलाउनुहोला, त्यो उहाँको परीक्षाको कुरा हो । अन्यत्र पनि स्वतन्त्रले चुनाव जितेका छन् । चुनावै जितेर आएका अरू जनप्रतिनिधिलाई रिझाएर आफ्नो नीति र कार्यक्रम ल्याउन सक्नु उनीहरूको चुनौती हो । ६ महिना वा वर्ष दिनभित्रै फेरि चुनाव गराउनुपर्ने अवस्था आउन नदिनु कम चुनौतीपूर्ण छैन ।

तर यसपटक देखिएको प्रवृत्तिबाट जोगिन दलहरूमा सानोतिनो सच्याइले पुग्दैन । जनसंख्या बढेको छ, बदलिंदो राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिका कारण बेग्लै सोच राख्ने जनमत निर्माण भएको छ । उत्पादन प्रणाली फेरिएको छ । यी सबै कुरा ध्यानमा राखेर दलहरूले जनतामाझ जाने कार्यक्रम बनाउन सक्नुपर्छ । समस्या के हो ? प्रधान अन्तरविरोध कोसँग हो ? त्यही अनुसारको कार्यक्रम बनाएर जनताको बीचमा गएमा फेरि दलहरू बलियो हुनसक्छन् । नत्र मुलुक अराजकतातिर जाने खतरा पनि उत्तिकै छ, यसो भएमा देशले फेरि दुःख पाउन सक्छ ।

(धरानका पूर्व मेयर देवानसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीमा आधारित ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?