+
+
आर्थिक सर्वेक्षण-२०७८/७९ :

कृषिप्रधानबाट सेवाप्रधान बन्दै नेपाली अर्थतन्त्र

अर्थ ब्यूरो अर्थ ब्यूरो
२०७९ जेठ १४ गते २२:४०

१४ जेठ, काठमाडौं । नेपाली अर्थतन्त्रको परम्परागत पहिचान हो, ‘कृषिप्रधान मुलुक’ । तर नेपालको अर्थतन्त्रलाई अब सेवा क्षेत्रले नेतृत्व गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा नेपाली अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब पुग्दा यसमा सेवा क्षेत्रको हिस्सा ६१.८ प्रतिशत छ । दोस्रो स्थानमा कृषि क्षेत्र छ ।

अर्थ मन्त्री जनार्दन शर्माले शनिबार संसदमा पेश गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार चालु आर्थिक वर्षमा अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २३.९ प्रतिशत र उद्योग क्षेत्रको योगदान १४.३ प्रतिशत रहने अनुमान छ ।

दुई दशक अगाडि कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३७.४, १७.५ र ४५.१ प्रतिशत थियो । यस तथ्यांकलाई विश्लेषण गर्दै अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षणमा लेखेका छन्, ‘अर्थतन्त्रको संरचनामा परिवर्तन भई नेपालको अर्थतन्त्र ‘कृषिप्रधान’बाट ‘सेवाप्रधान’मा रुपान्तरण हुँदै गएको छ ।’

चालु आर्थिक वर्षमा खाद्यान्न बाली लगाएको क्षेत्रफलमा केही वृद्धि भएपनि खाद्यान्न उत्पादन र उत्पादकत्व भने घट्ने अनुमान गरिएको छ । यस आर्थिक वर्षमा ३.१ प्रतिशतले खाद्यान्न बालीको उत्पादन घट्ने अनुमान गरिएको छ । ती वस्तुको उत्पादकत्व समेत ३.७ प्रतिशतले घट्ने अनुमान छ । धानबाली उत्पानमा आएको ८.७ प्रतिशतको संकुचनले समग्र उत्पादनमा असर देखिएको हो । यस वर्ष नगदे बाली मह, मसला, फलफूल, तरकारी र दलहनको उत्पादन भने वृद्धि हुने अनुमान गरिएको छ ।

पछिल्लो समय कृषिमा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी भने क्रमशः विस्तार भइरहेको देखिएको छ । फागुन मसान्तसम्म कृषिमा २ खर्ब ९० अर्ब ७५ करोड लगानी भएको छ, जसमध्ये सबैभन्दा धेरै लगानी कषि तथा कृषिजन्य सेवामा छ ।

यो क्षेत्रमा कुल लगानीको ४३.९ प्रतिशत कर्जा प्रभाव हुँदा पशुपालन क्षेत्रमा ३६.७ प्रतिशत, खेतीपाती सम्बन्धी सेवामा १७.१ प्रतिशत लगानी भएको छ । यस्तै चिया, वन, मत्स्यपालन, र बधशालामा १.४ र १ प्रतिशतका दरले बैंक तथा वित्तिय संस्थाले लगानी गरेका छन् ।

अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब

नेपाली अर्थतन्त्रको आकार (कुल गार्हस्थ्य उत्पादन) ४८ खर्ब ५१ अर्ब पुगेको छ । चालु आवमा २०७८/७९ अनुसार ४.५८ प्रतिशतले बिस्तार भएको अर्थतन्त्रको आकार साढे ४८ खर्ब पुगेको हो । अर्थतन्त्रमा सबैभन्दा धठूलो हिस्सा बागमती प्रदेशको रहेको छ ।

जीडीपीमा बागमती प्रदेशको हिस्सा ३६.९ प्रतिशत छ । कर्णाली प्रदेशको हिस्सा भने ४.१ प्रतिशत रहेको छ । वृद्धिदर अनुसार अर्थतन्त्र बिस्तारमा समेत ठूलो हिस्सा बागमती प्रदेशले ओगट्छ । बागमती प्रदेशको आर्थिक वृद्धिदर ६.७४ प्रतिशत रहेको छ ।

यस आवमा सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर कायम हुने अनुमान गरेको थियो । तर, सो लक्ष्य भने पुरा नहुने भएका ेछ । कोभिडको महामारी कम भएको र उर्जा क्षेत्रको बिस्तार उत्साहप्रद रहेका कारण आर्थिक वृद्धिदर ५.८४ प्रतिशतसम्म रहने आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा यस्तो बिस्तार ४.२५ प्रतिशत रहेको थियो । यो तथ्यांक केन्द्रिय तथ्यांक विभागले यसअघि सार्वजनिक गरेको प्रक्षेपणमा आधारित छ ।

प्रतिव्यक्ति आय र सार्वजनिक ऋणको हिस्सा

नेपालीको प्रतिव्यक्ति आय १ हजार ३८१ डलर पुगेको छ । आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको हो ।

यसअघि आर्थिक वर्ष ०७७/७८ मा एक हजार २४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा एक हजार ३८१ डलर पुग्ने अनुमान गरिएको हो ।

नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको टाउकोमा ६३ हजार ३१० रुपैयाँ सार्वजनिक ऋण पर्न जान्छ । आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको हो ।

यसलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा भाग गर्दा प्रतिव्यक्ति ऋणको भार ६३ हजार ३१० रुपैयाँ पर्न जान्छ । अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्म आन्तरिक ऋण ८ खर्ब ६३ अर्ब १९ करोड र बाह्या ऋण ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ छ ।

यसै वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो ।

सरकारले यस वर्ष फागुन मसान्तसम्म ८९ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । फागुन सम्म अनुदान र ऋण गरी बाह्य सहायता ४७ अर्ब ९४ करोड रुपैयाँ उपयोग गर्न सकेको छ । यस अवधिमा वैदेशिक सहायता प्रतिवद्धता भने अनुदानमा ९ अर्ब ४६ करोड र ऋणमा १ खर्ब १६ अर्ब ६१ करोड गरी कुल १ खर्ब २६ अर्ब ७ करोड बराबरको प्राप्त भएको छ ।

आयात बढ्दा भन्सार राजस्व वृद्धि

मुलुकको कुल व्यापार घाटा ३४.५ प्रतिशतले बढेको छ । आर्थिक सर्वेक्षण अनुसार चालु आवको ८ महिनामै व्यापार घाटा ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको छ । आव २०७७/०७८ मा व्यापार घाटा १.६ प्रतिशतले मात्रै बढेको थियो । सो वर्ष समिक्षा अवधिमा कुल व्यापार घाटा ८ खर्ब ६३ अर्ब २१ करोड थियो ।

वस्तु आयात ३८.६ प्रतिशतले बढेर १३ खर्ब ८ अर्ब ७३ करोड पुग्दा निर्यात १ खर्ब ४७ अर्ब ७५ करोड रहेको छ ।

चालु आर्थिक वर्षमा समष्टिगत मागमा भएको वृद्धिले आयात बढ्दा समग्र राजस्वमा आयातमा आधारित करको हिस्सा पनि बढेको छ । आर्थिक सर्वोक्षण २०७८/७९ का अनुसार आयातको वृद्धिको प्रभाव राजस्व संकलनमा समेत देखिएको हो ।

आयातमा आधारित कर राजस्वको वृद्धिदर आन्तरिक कर राजस्वको वृद्धिदरभन्दा उच्च रहेको कारण समग्रमा आयातमा आधारित कर राजस्वको हिस्सा बढेको सर्वोक्षणमा उल्लेख छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कर राजस्वमा आयातमा आधारित कर राजस्व ५४.३ प्रतिशत र आन्तरिकतर्फको कर राजस्वको अंश क्रमशः र ४५.७ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा आयातमा आधारित कर राजस्वको अंश क्रमशः ४९.३ प्रतिशत र आन्तरिकतर्फको ५०.७ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७/७८ मा कुल कर राजस्व परिचालनमा आयातमा आधारित करको अंश ४८.१ प्रतिशत र आन्तरिकतर्फको करको अंश ५१.९ प्रतिशत रहेको थियो ।

करदाता बढ्दै

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा गत फागुनसम्म २३ हजार ३६२ मूल्य अभिवृद्धि कर (भ्याट) को करदाता थप भएका छन् । यो सँगै नेपालमा मूल्य अभिवृद्धि कर तिर्ने करदाताको संख्या ३ लाख १४ हजार ७६ पुगेको छ । फागुनसम्म अन्तशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख १६ हजार ५६० पुगेको छ ।

आर्थिक सर्वेक्षण २०७८/७९का अनुसार करको दायरा र आधारमा क्रमशः विस्तार हुँदै गएको छ । व्यवसायिक, व्यक्तिग र करकट्टी गर्ने निकायले लेखा नम्बर समेत गरी २०७८ असारसम्म ४० लाख ६६ हजार १२१ करदाताले स्थायी लेखा नम्बर लिएकोमा फागुनसम्म त्यस्तो संख्या ४६ लाख २४ हजार ६६१ पुगेको छ ।

प्रत्यक्ष वैदेशिक लगानी 
चालु आवको फागुनसम्म प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष १०७८/०७९ को फागुनसम्म खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड पुगेको छ । गत वर्ष यस अवधिमा यस्तो लगानी १० अर्ब १८ करोड मात्रै थियो ।

गत आवको असार मसान्तसम्म प्रत्यक्ष वैदेशिक लगानी दायित्व १ खर्ब ९८ अर्ब ५२ करोड रहेका ०७८ असारसम्म यस्तो दायित्व २ खर्ब १८ अर्ब ३ करोड कायम भएको छ । यस्तै आव २०७८/०७९ को फागुनसम्म ८ अर्ब ६८ करोड वैदेशिक लगानीको लाभांश भुक्तानीको स्वीकृति प्रदान गरिएको छ ।

घाटामा चल्छन आधा सार्वजनिक संस्थान
आर्थिक वर्ष २०७७/७८ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमध्ये १९ नोक्सानीमा गएका छन् । २२ वटा संस्थानले मात्रै नाफा कमाएको आर्थिक सर्वेक्षण २०७८/७९ले देखाएको छ । सर्वेक्षणअनुसार नाफामा सञ्चालन भएका संस्थानहरूबाट आर्थिक वर्ष २०७७/७६ मा सरकारले ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश पाएको छ । आर्थिक वर्ष २०७६/७७ को लाभांश १४ अर्ब ९ करोड ९५ लाख रुपैयाँको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा लाभांश ५२.३३ प्रतिशतले घट्न गएको सर्वेक्षणमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आय १.५१ प्रतिशतले बढेर ४ खर्ब ३५ अर्ब १७ करोड ३९ लाख पुगेको छ । आर्थिक वर्ष २०७७/७८ को कुल गार्हस्थ्य उत्पादन र कुल सञ्चालन आयको अनुपात १०.१७ प्रतिशत छ । आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक संस्थानबाट १४ अर्ब ८२ करोड ९ लाख रुपैयाँ आयकर संकलन भएको छ ।

आर्थिक वर्ष २०७७/७८ सम्म सार्वजनिक संस्थानमा २८ हजार २ जना कर्मचारी कार्यरत रहेका थिए । आर्थिक वर्ष २०७६/७७ मा यस्तो संख्या २८ हजार ३ सय ६४ थियो । आर्थिक वर्ष २०७७/७८ मा एकीकृत खुद नाफा २६ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ छ । आर्थिक वर्ष २०७६/७७ मा यस्तो खुद नाफा ४८ अर्ब २९ करोड ८२ लाख रुपैयाँ थियो ।

२०७८ फागुनसम्म नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका सार्वजनिक संस्थानको संख्या ४४ छ । २०७८ असारसम्म सार्वजनिक संस्थानहरूमा नेपाल सरकारको सेयर लगानी ३ खर्ब १४ अर्ब ६५ करोड ७ लाख रुपैयाँ देखिन्छ । सरकारले संस्थानमा २ खर्व ५२ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ क्रण लगानी पनि गरेको छ ।

तथ्यांकमा अर्थतन्त्र

  • आर्थिक वृद्धिदर : ५.८४ प्रतिशत
  • अर्थतन्त्रको आकार : ४८ खर्ब ५१ अर्ब ६२ करोड
  • प्रतिव्यक्ति आय : १३८१ अमेरिकी डलर
  • मुद्रास्फीति : ७.१ प्रतिशत
  • कुल सार्वजनिक ऋण : १८ खर्ब ४८ अर्ब १९ करोड
  • बीमाको दायरामा आएको जनसंख्या :२९ प्रतिशत
  • व्यापार घाटा : ११ खर्ब ६० अर्ब (८ महिना)
  • सोधनान्तर स्थिति : २ खर्ब ५८ अर्ब घाटा
  • चालु खाता : ४ खर्ब ६२ अर्ब घाटा
  • विप्रेषण आय : ६ खर्ब ३१ अर्ब (फाुगनसम्म)
  • विद्युतको पहुँच पुगेको जनसंख्या : ९४ प्रतिशत
  • सामाजिक सुरक्षा भत्ता वितरण : ४६ अर्ब ४२ करोड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?